१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १२ शनिबार १७:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १२ शनिबार १७:५८:००

नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणासमेत गरे । 

आफ्नो पार्टीनिकट पेसागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहो¥याए । नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनिहाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन यो । विचारको लडाइँ हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्कसमेत गरे । उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस् । उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्रहत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमान्दार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?’

नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभई काम गर्न उहाँले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।