१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भैरहवामा बस्तीभित्रै बाढी पसेको छ
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ भदौ १२ शनिबार ०६:१४:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीले १५ सय घर डुबानमा : पाँचको मृत्यु, चार बेपत्ता

Read Time : > 6 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ भदौ १२ शनिबार ०६:१४:००

लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ । नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ । 

लगातारको वर्षाले पश्चिम नवलपरासीको जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ । दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छिन् । बाढीले रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घर जाने क्रममा उनीहरूलाई भेलले बगाएको हो । दुवैजनाको शव घरनजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छिन् । 

बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित देखिएको छ । आठ–दशबाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । परासीमा बिहीबार मध्यरातमै घरघरमा पानी पसेका थियो । स्थानीय हारगुहार गर्दै घरका छत र अग्लो स्थानमा भागेका थिए । शुक्रबार दिउँसो १ बजेसम्म पनि पानीको सतह नघट्दा भोकाएका बालबालिका चिच्याइरहेका थिए । सिंगै बस्ती एउटै पीडामा रहेकाले कसैले कसैलाई सहयोग गर्न सकेका थिएनन् । 

बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डुबान क्षेत्रमा पुगे पनि पानीको सतह र वेगका कारण उद्धारमा कठिनाइ भएको थियो । विगतमा सामान्य डुबान हुने भए पनि सदरमुकाम परासीमा अहिलेसम्मकै ठूलो बाढी पसेको ज्येष्ठ नागरिकहरूले बताए । दिउँसो २ बजेदेखि पानीको सतह घटेपछि उनीहरूले राहत महसुस गरेका छन् । तर, पानी परिरहेकाले पुनः त्यस्तै बाढी आउने हो कि भन्ने त्रास उनीहरूमा देखिएको छ । 

सदरमुकामसँगै पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले बताए । ‘अधिकांश घर डुबानमा परेकाले क्षतिको विवरण यकिन हुन सकेको छैन,’ डिएसपी लामाले नयाँ पत्रिकासँग भने, मै रहेको बज्रदल गणमा करिब १५ फिट पानी जमेको थियो ।’ जिल्ला प्रहरी कार्यालयमा ६ फिटसम्म पानी जमेको डिएसपी लामाले जानकारी दिए । 

दाउन्ने र गैँडाकोटमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पूर्वी नवलपरासीको गैँडाकोट र दाउन्नेमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले गैँडाकोट– ९ तेइस स्मृति पुल, थुम्सीस्थित डाइभर्सन, गैँडाकोट–१० मा रहेको सशस्त्र बेस क्याम्पनजिकैको डाइभर्सन र गैँडाकोट–११ भेडाबारीमा रहेको डाइभर्सन बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार गैँडाकोटका चार स्थानमा दुवैतर्फी सडक अवरुद्ध भएको छ । त्यसैगरी, विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा माथिबाट पहिरो आई पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

पहिरोले घर पुर्दा तीन बेपत्ता
पूर्वी नवलपरासीको हुप्सेकोट– ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीनजना बेपत्ता भएका छन् । ५० वर्षीय हस्तबहादुर पुलामीलाई भने सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेका छन् । बेपत्ता हुनेमा हस्तबहादुरकी श्रीमती ४० वर्षीया धनमाया तथा सात र ६ वर्षीया नातिनीहरू भूमिसरा र देउमाया छन् ।

कावासोतीमा झोलुंगे पुल बग्यो
कावासोती नगरपालिका– १७ गगोरसतीमा रहेको झोलुंगे पुल पत्थर खोलामा आएको बाढीले बगाएको छ । संघीय सरकारको ४२ लाख सहयोगमा दुई वर्षअघि निर्माण गरिएको पुल शुक्रबार बिहान बगेको हो । बाढीले कावासोतीका अधिकांश स्थानमा खानेपानीका पाइप बगाएको छ । खानेपानी वितरणमा तत्कालै समस्या देखिएको छ । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीम कँडेलले वडा नम्बर ५ र ६ मा पूर्ण रूपमा र २, ३, ८ र ९ मा आंशिक रूपमा क्षति पुर्‍याएको जानकारी दिए । 

देवचुलीको मुन्डे–कीर्तिपुर–बन्दीपुर सडकखण्ड पनि अवरुद्ध भएको छ । पहिरोले आधा दर्जनभन्दा बढी स्थानमा बाटो भत्काएको देवचुली– ६ का वडाध्यक्ष मीनबहादुर सोतीमगरले बताए । यस क्षेत्रमा बिजुलीका पोलहरूसमेत ढलेकाले विद्युत् सेवा अवरुद्ध भएको छ । 

महोत्तरी : तटबन्ध भत्किँदा नौ सय घर डुबानमा 
बल्वा नगरपालिका– ११ को रौजा र ४ को तिलगढमा तटबन्ध भत्काएर रातु नदीको बाढी बस्तीमा पस्दा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । विस्थापितहरू विभिन्न विद्यालयमा आश्रय लिएर बसेका छन् । 

बस्तीका नौ सयभन्दा बढी घर डुबानमा परेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बाढीले तीन ठाउँमा गरी करिब एक सय पचास मिटर तटबन्ध भत्काएको छ । स्थानीय लक्ष्मण मण्डलले रौजा मजारलगायतका बस्तीमा पनि पानी पसिरहेको बताए ।

पहिल्यैदेखि जीर्ण अवस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन् । रातुमा आएको बाढीले प्रत्येक वर्ष यहाँका बस्ती प्रभावित हुने गरेका छन् । डुबानमा परेको बस्तीमा जोखिममा रहेकालाई उद्धार गरी अन्यत्र सार्न सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत डुबान क्षेत्रमा सुरक्षा सामग्रीका साथमा परिचालन गरिएको भट्टराईले बताए । डुबेको बस्तीबाट पानी पठाउन ठाउँ–ठाउँबाट पानी काट्ने काम भइरहेकाले जोखिम बिस्तारै कम हुने उनको भनाइ छ । अझै वर्षा नरोकिए रातु नदीको बाढीले अन्य पालिका हुँदै जलेश्वरसमेत डुबानमा पर्ने हुँदा सुरक्षित भएर बस्न पनि प्रजिअ भट्टराईले आग्रह गरेका छन् । बाढीले सयौँ हेक्टर खेतमा लगाइएका करोडौँका बाली नष्ट गरेको छ । 

कैलाली : एक सय ६० घर डुबानमा
कैलालीका भजनी र जानकी गाउँपालिका तथा टीकापुर नगरपालिकाका विभिन्न बस्तीका एक सय ६० घर डुबानमा परेका छन् । करिब दुई सय परिवार विस्थापित भएका छन् । 

लम्कीचुहा नगरपालिका– ६ गुलरामा बाढीले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ । गुलरा नदीमा आएको बाढीले बगाएर ९५ वर्षीया फुपिया थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले भजनी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताए । त्यहाँ विस्थापित भएका करिब ७० परिवार हुलाकी सडकमा बसिरहेको जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । भजनी– ५ का अध्यक्ष केशवबहादुर बुढाका अनुसार मोहना र कान्द्रा खोलामा आएको बाढीले लालबोझी, पुलियापुर, लखरैया, लौबस्तालगायत अधिकांश बस्ती जलमग्न छन् । शाहीपुरमा कर्णाली नदीले तटबन्ध भत्काएको छ ।

जानकी गाउँपालिकाका ८० घरमा बाढी पसेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले बाढी घटेपछि बेलुकीसम्म अधिकांश परिवार घर फर्केको जानकारी दिए । कटैनीको बाढीले कैलारी गाउँपालिका– ७ छटकपुर वसन्तामा केही घर डुबानमा परेका छन् ।

कैलालीकै चुरे गाउँपालिका– ५ गोपालेमा हर्कबहादुर राना र लीलबहादुर रानाका घर पहिरोले बगाएको वडाध्यक्ष नरबहादुर तामाङले जानकारी दिए । पहिरोले गोठ बगाउँदा आठवटा बाख्रा मरेका छन् । वडाध्यक्ष तामाङका अनुसार गोपालेमा ११ घर, काफलगैरामा २५ घर, मैतेताणमा १० घर अति जोखिममा परेका छन् । 

बाढीमा फसेका दुईको उद्धार
गौरीगंगा नगरपालिका– ३ कुचैनीस्थित शिवगंगा नदी र झिल खोलाको बीचमा बाढीमा फसेका दुईजनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् । बिहीबार घाँस काट्न गएका राजाराम सापकोटा र उनकी बहिनी आरती बाढीमा फसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले मध्यरात सकुशल उद्धार गरेको हो ।

कञ्चनपुर : दोदा गाउँ पस्दा सयौँ घर डुबानमा
कञ्चनपुरको पूर्वी गाउँ हुँदै बग्ने दोदा नदीमा बाढी आउँदा लालझाडी र बेलौरी गाउँपालिका तथा पुनर्वास नगरपालिकाका दर्जनौँ गाउँका सयौँ घर डुबानमा परेका छन् । जाई, पर्सिया, ढुंगा, नन्दगाउँ, बल्मी, कसुवा, कञ्ज गाउँका सयौँ घरमा क्षति पुगेको लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकले बताए । उनका अनुसार १ देखि ६ नम्बर वडाका प्रायः सबै घर डुबानमा छन् । 

पुनर्वास नगरपालिकाको २ र ५ नम्बर वडाका डेढ सय घर डुबानमा छन् । धनगढी जोड्ने हुलाकी सडकसमेत अवरुद्ध छ । नदी नै गाउँ पसेपछि उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मी जनप्रतिनिधि खटिएका छन् । डुबान क्षेत्रका नागरिकको उद्धार जारी रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए । 

भैरहवा : रुपन्देही जलमग्न, देवदहमा पुल भासियो
दानव खोलामा आएको बाढीले एक युवालाई बगाएको छ । खोलाले ल्याएको दाउरा निकाल्न गएका सम्मरीमाई– ३ पिरहवाका बब्लु लोधलाई बगाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार ती युवा बिहानै दाउरा निकाल्न खोलामा पसेका थिए । 

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत देवदहको घोडाहामा पुल भासिएको छ । रुपन्देहीको देवदह– ७ शीतलनगरस्थित घोडाहा खोला पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुने अवस्था नरहेको प्रहरीले जनाएको छ । 

देवदह, तिलोत्तमाको चिल्हिया, ओमसतियाको वसन्तपुर, मर्चवार, रोहिणीको धकधईलगायत क्षेत्रमा रहेका सयौँ घर डुबानमा परेका छन् । ओमसतिया– ३ बडसारी गाउँमा आवागमन नै बन्द भएको छ । ६५ घर रहेको सो गाउँमा पानीको निकास अवरुद्ध भएपछि आवागमन बन्द भएको हो । 

दानव खोलाको बाढीले सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवा–बुटवल सडकको पूर्वतर्फ बाढी आउँदा किसानले पालेका कालिज, कुखुरा, बाख्रा, माछा बगेका छन् । देवदह– ३ वसन्तपुरमा रहेको एक बाख्रा फर्मका तीन दर्जन खसीबाख्रा बगाएको छ । तिलोत्तमा– १४ भत्केपानीमा तीनवटा कच्ची घर, ओमसतिया– १ कोटागाउँमा एउटा कच्ची घर, कञ्चन गाउँपालिका– ३ मा १० वटा कच्ची घर र बुटवल– १२ मा एकतले पक्की घरमा क्षति पुगेको छ । 

सुर्खेत : कर्णाली राजमार्गको विभिन्न खण्ड अवरुद्ध
विभिन्न ठाउँको पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोरका विभिन्न खण्ड अवरुद्ध भएका छन् । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी–त्रिवेणी गाउँपालिका– १ कोटमा सडकमा ठूलो क्षति भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । दैलेखको चामुण्डा–विन्द्रासैनी नगरपालिका– ७ चिसाखोला, डुंगेश्वर गाउँपालिका– ६ र गुराँस गाउँपालिका– ४ को सालताडामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

यता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ राउटे गल्छिना पहिरो जाँदा रातानाङलाबाट धरमपोखरा–दैलेख जाने सडकखण्ड अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले सबै अवरुद्ध राजमार्ग र सडक खुलाउने प्रयास भइरहेको बताए । दैलेखको दुल्लु नगरपालिका– १३ गौडामा लगातारको वर्षाले जगतबहादुर भण्डारीको दुईतले कच्ची घर भत्किएको छ । 

बाग्लुङ : कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाले कालीगण्डकी करिडोरको बाग्लुङ–बलेवा खण्ड अवरुद्ध भएको छ । बाग्लुङ नगरपालिका– १३ फुर्सेखोलामा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । सानो पानी पर्दा पनि फुर्सेखोलामा पहिरो जाने गरेकाले पछिल्लो दुई महिनादेखि दक्षिण बाग्लुङका जनताले सास्ती खेपिरहेका छन् । दक्षिण जोड्ने वैकल्पिक सडक बाग्लुङ–कुश्मिसेरा सडकखण्ड पनि डेढ महिनादेखि अवरुद्ध छ । गत असारको दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा जैमिनी, बरेङ र बलेवा क्षेत्रका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको बाग्लुङ– १३ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । बाग्लुङ नगरपालिका– १० दब्ल्याङको पहिराले करिडोरसँगै बाग्लुङ–कुश्मिसेरा जोड्ने सडक पनि अवरुद्ध भएको छ । दब्ल्याङको पहिरोले तीन ठाउँमा असर गरेको छ । सडक पूर्ण रूपमा बगाएको छ । करिडोर सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए । 

सिन्धुपाल्चोक : अधिकांश ग्रामीण सडक अवरुद्ध
अरनिको राजमार्गको जुरे र हेलम्बुको फटकशिलास्थित महाभिरको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तीन दिनदेखि अवरुद्ध सडक खोल्नेबित्तिकै पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी दक्षकुमार बस्नेतले लगातार पानी परिरहेकाले मुख्य सडकको यात्रासमेत जोखिमपूर्ण बनेको बताए । उनले सुरक्षाकर्मी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेको बताए । बलेफीबाट जलबिरे जाने सडक पनि अवरुद्ध छ । सदरमुकाम चौताराबाट नवलपुर जाने ग्रामीण सडक पनि पहिरोले अवरुद्ध छ । बाह्रबिसेबाट गाउँगाउँ पुग्ने अधिकांश सडक बन्द भएका छन् । मेलम्चीबाट हेलम्बु, इन्द्रावती र पाँचपोखरीतर्फ जाने सबै ग्रामीण सडक पहिरोको चपेटामा छन् ।

चितवन : हुलाकी राजमार्गमा निर्माणाधीन पुलमा क्षति
बाढीले माडीको मगोई खोलामा निर्माणाधीन पुलमा क्षति पुर्‍याएको छ । बाढीले पुलको सेल्ट्रिङ र प्लाई बगाएको छ । सो पुल माडी–ठोरी हुलाकी राजमार्गअन्तर्गत माडी नगरपालिका ३ र ४ को सिमानामा पर्ने मगोई खोलामा बनिरहेको थियो । 

पुलमा ढलान गर्न तयार गरिएको सेल्ट्रिङ र प्लाई बगाएको माडी नगरपालिकाका विपत् व्यवस्थापन स्रोतव्यक्ति गोविन्द न्यौपानेले बताए । उनका अनुसार मगोईसँगै माडीका अन्य खोलामा बाढी आउँदा यातायात सञ्चालन भएका छैनन् । 

२० मिटर सडक भासियो
निरन्तरको वर्षाले नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम पनि बढेको छ । यस सडकखण्डको १४ किलो भन्ने स्थानमा करिब २० मिटर सडक भासिएको छ । एउटा छेउको भाग मात्र भासिएकाले सवारी सञ्चालनमा भने अवरोध नभएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख भगवानराज थापाले जानकारी दिए ।