मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ भदौ ११ शुक्रबार ०८:४८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नवनियुक्त दुवै मुख्यमन्त्री संकटमा

Read Time : > 2 मिनेट
२०७८ भदौ ११ शुक्रबार ०८:४८:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो दलमा नआए सहयोग नगर्ने अभिव्यक्ति दिएर मुख्यमन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यको चिन्ता बढाइदिएका छन्

पार्टी विभाजनपछि बागमती र प्रदेश १ सरकार जोगाइराख्न एमालेले मुख्यमन्त्री फेरबदल गरे पनि संकट जस्ताको तस्तै देखिएको छ । नवनियुक्त दुवै मुख्यमन्त्रीले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत आर्जन गर्न नसक्ने देखिएको छ । 

एमालेबाट अलग्गिएर माधवकुमार नेपालले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएकै दिन २ भदौमा एमाले नेतृत्वले बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाई अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

नेपाललाई नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाणपत्र दिएको भोलिपल्ट बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गर्न लगाई एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाएको छ । शाक्य र आचार्य केही दिनअघिसम्म नेपाल समूहका बलिया पिलर थिए ।

दुवै प्रदेशमा एमालेको एकल बहुमत रहेकाले शाक्य र आचार्यलाई मुख्यमन्त्री बनाउँदा नेपाल पक्षमा लाग्दै आएका सांसदहरू एमालेमै रोकिने आकलन थियो, तर स्थिति त्यस्तो देखिएको छैन । 

शपथअघि नै आचार्य अल्पमतमा

संसदीय दलको निर्वाचनमा जोसँग दुई मतले पराजित भएर मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए, ४४ महिनापछि उनै शेरधन राईको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन हुँदै बिहीबार मुख्यमन्त्री बने । तर, दलको नेता फेरबदलका लागि बोलाइएको बैठकको उपस्थिति भने अस्वाभाविक थियो । सभामुख र उपसभामुखसहित ९२ सदस्यीय प्रदेश १ मा एमालेका ५१ सांसद छन्, तर बिहीबारको बैठकमा २६ सांसद मात्र उपस्थित थिए । 

एमालेका ५१ मध्ये विगतमा माधवकुमार नेपाल समूहमा २१ सांसद थिए । तीमध्ये जीवन घिमिरे, लछुमन तिवारी, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी, सावित्री जोशी, लीलाबल्लभ अधिकारी, होमकुमारी साँवा र अर्का एक गरी आठ सांसद सहभागी भए । बाँकी १० मध्ये राजेन्द्र राई, राजन राई, गणेश काङबाङ, उपेन्द्र घिमिरे, सावित्राकुमारी रेग्मी, सुनिता चौधरी, पदमकुमारी गुरुङ, खिनुलङवा लिम्बू गरी आठ सांसद एकीकृत समाजवादीमा खुलिसकेका छन् । विगतमा माधव समूहमै रहेका सरिता चौधरी, पदमकुमार गुरुङ, कृष्णकुमारी राई, सरिता थापा, गुलेफन मियाँ खुल्न सकेका छैनन् । 

संवैधानिक व्यवस्थाअनुसार आचार्यले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । एमाले एकढिक्का रहँदा उनले सहजै विश्वासको मत पाउँछन् । तर, एमालेबाट पाँचजना सांसद मात्र पनि एकीकृत समाजवादीमा लाग्दा उनी अल्पमतमा पर्छन् । त्यस्तोमा एमालेका आठ सांसद एकीकृत समाजवादीमा खुलिसकेकाले आचार्य स्पष्ट अल्पमतमा देखिन्छन् । प्रदेश सभामा हाल एमालेका ५१, कांग्रेसमा २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका एक–एक सांसद छन् । 

आचार्यको नियुक्ति गैरकानुनी : विपक्षी गठबन्धन
विपक्षी दलहरूले आचार्यको नियुक्ति नै गैरकानुनी भएको दाबी गरेका छन् । बिहीबार विराटनगरमा बसेको कांग्रेस, माओवादी, जनता समाजवादी दलका नेताको बैठकले अल्पमतमा परिसकेका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गैरकानुनी रूपमा मुख्यमन्त्री नियुक्त गरेको निष्कर्ष निकालेको छ । बैठकले आचार्यलाई अस्वीकार गर्ने निर्णय गरेको छ । 

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘जम्मा २६ जना सांसदले हस्ताक्षर गरेर दलको नेता चयन गरेका आचार्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु गैरकानुनी हो । हामीले यो सरकार ढाल्नै पर्दैन । आचार्य अल्पमतमा छन्, उनले विश्वासको मत पाउँदैनन् र आफैँ ढल्छन् ।’ बैठकले अब गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गर्ने निर्णय पनि गरेको छ ।

अष्टलक्ष्मी शाक्य पनि असुरक्षित

नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएकै दिन बागमतीमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको संकट झन् गहिरिँदै छ । एमालेका चार सांसद एकीकृत समाजवादीतिर खुलेकाले शाक्यको संकट गहिरिएको हो ।

एक सय नौ सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५६ सांसद हुन । बहुमतका लागि ५६ सांसद चाहिन्छ । राजेन्द्र पाण्डे र मुनु सिग्देल एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनिसकेका छन् ।

शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री रहेका कृष्ण खनाल र वसुन्धरा हुमागाईं पनि एकीकृत समाजवादीतिर लागेका छन् । यी चार सांसदको मात्र समर्थन नहुँदा शाक्यले बहुमत गुमाउँछिन् ।