१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०६:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनप्रतिनिधिको पद जोगाउन पार्टी  दर्तामा पाँच महिना ढिला भयो : नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०६:४३:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिहरूको सुरक्षाको विषय प्रमुख सवाल भएकाले पार्टी दर्तामा ढिलाइ भएको बताएका छन् । ४ र ५ चैतको राष्ट्रिय भेलामै नयाँ पार्टी गठनको विषयले प्रवेश पाए पनि देशभरका जनप्रतिनिधिको सुरक्षालाई चासो दिएर अनुकूल समयमा दल दर्ता गरेको नेपालको भनाइ छ । 

‘पहिला नै पार्टी दर्ताका लागि आवाज उठेको थियो । तर, जनप्रतिनिधिको भविष्य सुरक्षित गर्न चाहेका थियौ । हाम्रो र अरू पार्टीका लागि पनि अध्यादेश आयो । अनुकूल अवस्था बनेपछि नयाँ दल बनायौँ र जनप्रतिनिधिलाई पनि जोगायौ,’ पार्टीले कानुनी मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा नेपालले भने । 

अध्यक्ष नेपालले दक्षिणपन्थी भासमा रुमल्लिएका केपी ओलीको गुट छाडेर पुनर्गठित नयाँ पार्टीमा समाहित हुन एमालेका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । ‘तपाईंहरू तत्काल ओली गुटबाट छुटकारा पाउनुस्, दक्षिणपन्थी भासमा भासिएको, सत्ता सञ्चालनमा असफल साबित भइसकेको, एकीकृत पार्टीलाई विभाजित गर्ने र एउटै प्रधानमन्त्रीका रूपमा दुई–दुईपटक प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम चालेर कीर्तिमान कायम गर्ने व्यक्तिको भ्रमबाट मुक्त हुनुस् । म सबैलाई क्रान्तिकारी धारमा समाहित हुन आह्वान गर्दछु,’ नेपालले भने ।

 ‘ओलीले पार्टीलाई निजी कम्पनी ठाने’
नेपालले ओलीले पार्टीलाई निजी कम्पनी ठानेपछि नयाँ पार्टी गठनका लागि विद्रोहको विकल्प नभएको पनि प्रस्ट्याए । ‘ओलीले एमालेलाई दक्षिणपन्थी भासमा भसाएपछि, माक्र्सवादी मूल्य–मान्यतालाई तिलाञ्जली दिएपछि, व्यक्तिवादी अहंकारी घोडामा सवार भएपछि, पार्टीलाई निजी कम्पनी ठानेपछि र क्रान्तिकारी योद्धाहरूलाई पार्टीबाट निष्कासन गरेपछि हाम्रासामु विद्रोह गर्नुबाहेकको अर्को विकल्प भएन,’ नेपालले भने । 

दोस्रो महाधिवेशनमा केशरजंग रायमाझीले पार्टीलाई दक्षिणपन्थी भासमा लगेकै कारण पुष्पलालले बाध्य भएर पार्टी पुनर्गठन गर्दै अघि बढेको स्मरण गर्दै अहिले पनि त्यस्तै अवस्था आएको नेपालले दाबी गरे । ओलीको अन्यायबाट पिल्सिएका नेता–कार्यकर्ताले धमाधम प्रदेश, जिल्ला र तल्लो तहसम्म विद्रोह गरिरहेको उनको भनाइ थियो ।