१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०६:२०:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा २३ सय पाकिस्तानी तालिवान रिहा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार ०६:२०:००

अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएसँगै पाकिस्तानी तालिवानका करिब २ हजार ३ सय लडाकुहरु जेलमुक्त भएका छन् । उनीहरुलाई अफगानिस्तान सरकार र अन्तराष्ट्रिय समुदायले आतंकबादी घोषणा गरेको थियो ।

अफगानिस्तान सरकारविरुद्ध तालिवानले चलाएको गृहयुद्धमा सामेल हुन पुगेका पाकिस्तानी तालिवान (जसलाई तेहरिक ए तालिवान भनिन्छ)को रिहाईसँगै उनीहरुको गतिविधि अब पाकिस्तान हुँदै भारतको जम्मु कश्मिरमा बढ्ने चिन्ता थपिएको छ । अर्कातिर यसको प्रभाव पाकिस्तानमै पर्ने सम्भावना पनि विज्ञहरुले औँल्याएका छन् । 

द डिप्लोम्याटका अनुसार पाकिस्तानी तालिवानका उपप्रमुख फकिर मोहम्मदसहित २३ सय सदस्यलाई अफगानिस्तान तालिवानले रिहा गरिदिएको छ । तालिवानले अफगानिस्तानमा जेल खाली गरेसँगै उनीहरु रिहा भएका हुन् । पाकिस्तानी तालिवानी समूहहरु पनि अफगान तालिवानका प्रमुख हिबातुल्लाह अखुन्दाजाको योजना अनुसार सक्रिय भएको विश्वास गरिन्छ ।

पाकिस्तानका विश्लेषक कुनवर खुल्दुन शहिदले इस्लामाबादले तालिवानलाई आफ्नो हितका लागि प्रयोग गरेको तर यसको मूल्य उसलाई महँगो पर्न सक्ने द डिप्लोम्याटलाई बताएका छन् । विशेष गरि पाकिस्तान तालिवानको भावि गतिविधि कश्मिर क्षेत्रमा देखिने चिन्ता भारतीय पक्षमा उठेको छ ।

तर, तालिवानले भारतलाई स्पष्ट भनेको छ कि उनीहरुको कश्मिरसँग कुनै लेनदेन छैन । तर, दिल्ली विश्वस्त हुन सकिरहेको छैन । यदि तालिवान यो अडानमा रहेको हो भने उसले पाकिस्तानलाई कमजोर पार्ने विश्लेषकहरुको भनाई छ । उनीहरुको नजरमा अफगानिस्तानको तालिवानीकरण पाकिस्तानको हितमा नहुने सम्भावना छ । तर, पाकिस्तानले अहिले जम्मु कश्मिरलाई मुख्य अन्तराष्ट्रिय बिषय बनाइरहेको छ । 

अफगानिस्तानको गृहयुद्धमा करिब ८० हजार पाकिस्तानीको मृत्यु भएको छ । यद्यपि यसबीचमा पाकिस्तान बिबादमा आएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिका तालिवान शान्ति वार्ता शुरुभएसँगै अल कायदाका पूर्व प्रमुख ओसामा बिन लादेनको प्रशंसा गरेको बिषय अहिले पनि चर्चामा आएको छ । द डिप्लोम्याटका अनुसार तालिवानले काबुल कब्जामा लिएपछि खानले भनेका थिए, तालिवानले दासत्वको बन्धन तोडेको छ  ।

‘अफगानिस्तानको तालिवानीकरणलाई पाकिस्तान सरकारले समर्थन गरे पनि पाकिस्तानी तालिवानले अफगानिस्तानको घटनाक्रमबाट फाइदा लिने र त्यसले इस्लामाबादलाई कमजोर पार्ने छ’ भारतीय समाचार एजेन्सी एएनआइले लेखेको छ, ‘पाकिस्तानलाई पनि बास्तविक इस्लामिक राज्य बनाउने प्रयासमा पाकिस्तानी तालिवान हुनेछन् । उनीहरुको त्यो प्रयास जारी राखे सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ ।’