१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
माधव नेपाल, अध्यक्ष, नेकपा एकीकृत समाजवादी
किरण दहाल काठमाडाैं
दिपेश शाही काठमाडाैं
२०७८ भदौ १० बिहीबार १०:०४:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब पनि माधव नै निर्णायक

Read Time : > 10 मिनेट
किरण दहाल, काठमाडाैं
दिपेश शाही, काठमाडाैं
२०७८ भदौ १० बिहीबार १०:०४:००

निर्वाचन आयोगले वैधानिकता दिएसँगै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभा र राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ 

आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ ।  सरकारलाई स्पष्ट बहुमत पुर्‍याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ । 

नेता नेपालले एमालेमै हुँदा प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने राजनीतिक र कानुनी संघर्षमा निर्णायक भूमिका खेलेका थिए । नेपाल नयाँ दलसहित गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएका छन् । नेपालको भूमिकालाई उच्च मूल्यांकन गर्दै शक्ति बाँडफाँडमा गठबन्धनले उनलाई प्राथमिकतामा राखेको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले ८ जेठमा दोस्रोपटक संसद् विघटन गरेपछि एमालेकै नेपाल समूहसहित पाँच दलको विपक्षी गठबन्धन बनेको थियो । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै प्रधानमन्त्रीमा विपक्षी दलका नेता देउवालाई नियुक्त गर्न परमादेश दिएलगत्तै विपक्षी गठबन्धन सत्तागठबन्धन बनेको थियो ।

माधव नेपाल पक्षमा सनाखत गर्ने २९ संघीय सांसद
माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा, जीवनराम श्रेष्ठ , रामकुमारी झाँक्री, निरादेवी जैरू, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम पार्वतीकुमारी विशुंखे लक्ष्मी चौधरी विना बुढाथोकी बेदुराम भुसाल शेरबहादुर कुँवर ठगेन्द्रप्रकाश पुरी उदया शर्मा (पौड्याल) सिंगबहादुर विश्वकर्मा नन्दा चपाईं शान्तिकुमारी अधिकारी जिसी झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखत गर्ने ५५ केन्द्रीय सदस्य

माधव नेपाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथप्रसाद साह, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रवीन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी शाह (गरिमा), विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुँडाल, सरलाकुमारी यादव, सुधीरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरू, प्रेमबहादुर आले, भागवत नेपाली, चूडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्बाहङ्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, मोहम्मद महफुज अन्सारी, हरिप्रसाद पराजुली, केदार न्यौपाने, झलनाथ खनाल (भारतबाट सनाखत)

सनाखतका लागि आयोगमा उपस्थित भएका सांसदहरू
माया ज्ञवाली, तुलसा थापा, सोमप्रसाद पाण्डे, शारदादेवी भट्ट

लोकतान्त्रिक समाजवादी पार्टी
प्रतिनिधिसभाका सदस्यहरू, महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह

संसद् पुनर्स्थापनामा पनि निर्णायक थिए माधव 

- २७ वैशाखमा संसद्मा विश्वासको मत लिने तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा मतदान गर्न नेपाल पक्षका २८ सांसद अनुपस्थित भए ।

- ७ जेठमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २६ जना सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाइयो ।

- १० जेठमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद् पुनस्र्थापनाका लागि सर्वोच्चमा परेको रिटमा नेपाल समूहका २३ सांसदको हस्ताक्षर थियो, गठबन्धनका तर्फबाट एक सय ४६ सांसदको हस्ताक्षर भएको थियो । 

- ३ साउनमा नेपाल पक्षका २२ सांसदले संसद् जोगाउन भन्दै देउवालाई विश्वासको मत दिए, तीमध्ये नेपाल खेमाका १४ र ओली खेमाका आठ सांसद, तर नेपाल खेमाकै ११ सांसद अनुपस्थित भएका थिए ।

यहाँ हुन्छ माधवको निर्णायक भूमिका

१. गठबन्धन सरकार स्पष्ट बहुमतमा : अहिले प्रतिनिधिसभामा कांग्रेसका ६१, माओवादीका ४८ (सभामुखबाहेक), जसपाका १९ तथा जनमोर्चा र स्वतन्त्र एक–एक गरी सत्तागठबन्धनसँग एक सय ३० सांसद छन् । बहुमतका लागि एक सय ३६ सांसद चाहिन्छन् । माधव नेपालको नेकपा एकीकृत समाजवादी दर्ता भएसँगै उसका २३ सांसद थपिएर सत्तागठबन्धनमा एक सय ५३ सांसद पुगेका छन् । जुन स्पष्ट बहुमत हो । 

२. प्रतिनिधिसभाको कामकारबाही सहज : सरकारले अहिलेसम्म विधेयकलगायतका संसद्मा अंकगणित परीक्षण हुने कुनै प्रस्ताव अगाडि बढाएको थिएन । बरु संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसको आधारमा एमाले विभाजन भएपछि विधेयकलगायत संसद्को काम अगाडि बढाउन गठबन्धनलाई सहज भएको छ । 

३. राष्ट्रिय सभामा पनि गठबन्धनको बहुमत : ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३३ सांसद थिए । त्यसमध्ये सातजना माधवको पार्टीमा लागेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि माधवसँगैै छन् । अब माधवको पार्टीका आठसहित माओवादीका १५, कांग्रेसका सात, जसपाका दुई गरी सत्तागठबन्धनसँग ३२ सांसद पुगेका छन् । एक सांसद महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीमा लागेका छन् । राष्ट्रिय सभामा अर्थ विधेयकबाहेक सबै विधेयक पारित हुनुपर्छ । त्यसैले राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि सरकारलाई चुनौती थियो । माधवको नयाँ दलले यो चुनौती हल भएको छ । 

४.  संसद्को कार्यकाल पूर्ण हुने : एमाले विभाजनको सबैभन्दा ठूलो प्रभाव संसद्को कार्यकालमा देखिनेछ । सरकारसँग बहुमत हुँदा संसद् विघटनको बाटोमा जानुपर्ने छैन, अर्थात् संसद्को कार्यकाल पूर्ण हुनेछ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक विघटन गर्दा त्यसको विरोधमा राजनीतिक र संवैधानिक लडाइँ लडेका दलहरू अहिले सरकारमा छन् । बहुमत रहँदासम्म उनीहरू संसद् विघटनको विकल्पमा जाने छैनन् । 

५. आगामी चुनावसम्म गठबन्धन : पार्टी दर्तापछि सहकार्य र गठबन्धनका लागि नेता नेपाल स्वतन्त्र छन् । यसले आगामी चुनावसम्म सत्तागठबन्धनलाई निरन्तरता दिने गठबन्धनमा रहेका नेताहरूको चासो हल हुनेछ । उनीहरूले वाम–लोकतान्त्रिक सहकार्य टुटेको अवस्थामा फेरि पनि संसद् विघटन भएर प्रतिगमन हुन सक्ने खतरा औँल्याउँदै आएका छन् । 

६. प्रदेश सरकारमा पनि हलचल : माधवको नयाँ पार्टी दर्तासँगै प्रदेशको सत्ता राजनीतिमा पनि असर पर्नेछ । गठबन्धनको सरकार रहेको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ को सरकारलाई बलियो बनाउने तथा बागमती र प्रदेश १ मा आफूअनुकूलको सरकार बनाउने गृहकार्य गठबन्धनको शीर्ष नेताहरूले गरेका छन् । प्रदेश १ मा माधवको पार्टीमा पाँच सांसद उभिँदा मात्रै पनि शेरधन राई नेतृत्वको सरकार अल्पमतमा पर्छ । बागमती प्रदेशमा दुई सांसद माधवको पार्टीमा आए मात्रै नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्छिन् । 

शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार

माधवकुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तागठबन्धनलाई मन्त्रिपरिषद् बिस्तारको बाटो खुलेको छ । माधवको दल दर्ता नभएसम्मका लागि गठबन्धनले मन्त्रिपरिषद्मा बिस्तार रोकेको थियो । गत बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टीको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । 

नेपालको पार्टीले कानुनी मान्यता  पाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । गठबन्धनमा कांग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ । 

महन्थको दल सत्ता कि प्रतिपक्ष ? 
लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भने ।

पार्टी फुटाउन माधवले सांसद अपहरण गरेको ओलीको आरोप

- तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा थुनेर, त्यहाँबाट ढोक्सेमा हालेर, त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर खन्याएको छ । ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैनन् । यो काम लोकतान्त्रिक हुन्छ ? वास्तवमा यो बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण काम हो ।

- दश प्रतिशतमा पनि झथ्र्यो, किन अलमलिनुभो थाहा छैन । उहाँहरूले सोझै कानुनमा माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति जना भए पुग्छ भनेर लेखेको भए सजिलो हुन्थ्यो । माधव नेपालजीले पार्टी विभाजन गरेपछि स्वतः रद्द हुने भन्ने कुरा पनि छुटेको छ । किनभने उहाँहरू आफ्नै पार्टीमा पहिरो नजाओस् भनेर थर्कमान हुनुहुन्छ । 

- पार्टी नफुटोस् भनेर हामीले १४ जनालाई कारबाही गर्‍यौँ, त्यसपछि कुनै प्रतिशत नै पुग्दैनथ्यो, तर त्यसलाई देखेको–नदेख्यै गरेर रोकेर राख्ने ? हिजो पो दाँत टाल्न जानुभो, सातौँ दिनसम्म के गर्नुभो ? आठौँ दिन किन सूचना जारी गर्नुभएन ? विचार गर्ने, फैसला गर्ने संविधान र कानुनले उहाँ (सभामुख)लाई कहाँ अधिकार दियो ?’

अब सबै वाम र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने कोसिस गर्छौँ : माधव नेपाल

अन्तर्वार्ता

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेपालको कम्युनिस्ट आन्दालेनमा चार दशकभन्दा बढी समय बिताइसकेका नेता हुन् । त्यति नै लामो समय उनले नेकपा एमाले र त्यसका वर्तमान अध्यक्ष केपी ओलीको सहयात्रीका रूपमा पनि बिताएका छन् । तर, यतिवेला उनले आफैले मेहेनत गरेको पार्टी नेकपा एमाले र सहयात्री ओलीलाई छोडेर नयाँ पार्टी गठन गरेका छन्, नेकपा (एकीकृत समाजवादी) । उनले एमाले छाडेर नयाँ पार्टी गठन गर्दैगर्दा सबभन्दा बढी जनमत प्राप्त पार्टी मात्रै होइन, त्यो पार्टीका कयौँ कार्यकर्ता, आफूनिकट नेता र पुनः सबभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने अवसरलाई पनि त्यागेका छन् । यो अवस्थामा नेता नेपालका विश्वास पात्र मानिएका करिब एक दर्जन प्रभावशाली नेताहरूको साथ पनि तत्कालका लागि टुटेको छ । नयाँ पार्टी गठनपछि यसका कारण, अबको रणनीति र सम्भावनाका विषयमा नेता नेपालसँग नयाँ पत्रिकाका लागि दिपेश शाहीले गरेको कुराकानीः

संसद् पुनर्स्थापना गर्नुभयो, आफ्नै पार्टीको सरकार स्वेच्छाचारी भयो भनेर वैकल्पिक सरकार बनाउनुभयो । हुँदाहुँदा अहिले आफैँले वर्षौँ मिहिनेत गरेको पार्टी विभाजन गर्नुभयो । यो अवस्थासम्म कसरी पुग्नुभयो ?

– पहिलो कुरा त हामी कम्युनिस्ट पार्टी निर्माणको अभियानमा सुरुदेखि नै लागेका हौँ । त्यसरी लाग्दै गर्दा पुरानो पार्टीबाट विद्रोह गरेर नै नयाँ पार्टी बनाउँदै अगाडि बढिएको हो । नयाँ विचार र सोचका साथ हामी अगाडि बढ्यौँ र पुरातन विचारहरूलाई हामीले अस्वीकार गर्‍यौँ । निराशा, हताशा, शिथिलता र सबै खालका विकृति–विसंगतिविरुद्ध हामीले विद्रोह गर्दै अगाडि बढ्ने जमर्को गरेका हौँ । यो क्रम निरन्तर रूपमा जारी छ । अहिले पनि नेकपा एमालेलाई जुन विचार र रफ्तारका साथ अगाडि बढाउन खोजिएको थियो त्यसमा धमिरो लाग्यो । त्यो धमिरो लगाएर केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा फसाउनुभयो । पार्टीको क्रान्तिकारी धारलाई भुत्ते बनाउनुभयो । पार्टीमा गलत विचार, संस्कार र संस्कृति हुर्काउनुभयो । व्यक्तिवाद हाबी भयो र त्यसका सम्पूर्ण दुर्गुणहरू त्यहाँ देखापर्न थाले । त्यसैकारण एउटा पूर्ण पार्टी व्यक्तिको कम्पनी लिमिटेडजस्तो हुन पुग्यो । उहाँले आफ्ना प्रशंसकहरूको झुन्डलाई मात्रै स्थान दिन थाल्नुभयो । बाँकी सबैलाई पन्छाउन थाल्नुभयो । पार्टीभित्रका वास्तविक समस्याका कारणहरू पत्ता लगाउने कोसिस गर्नुभएन । उठाएका मुद्दालाई व्यक्तिगत विरोधका रूपमा लिन थाल्नुभयो । त्यसैकारण उहाँले हामीलाई पार्टीबाट निष्कासन गर्नुभयो ।

त्यति मात्रै होइन, त्यसभन्दा पहिले पटकपटक प्रतिनिधिसभा भंग गर्नुभयो । कसैको पनि विचारलाई उहाँले सुन्नुभएन । सर्वोच्चको फैसलालाई पनि उहाँले सकारात्मक रूपमा लिनुभएन । त्यत्रो बहुमतको रायलाई पनि उहाँले कहिल्यै सम्मान गर्नुभएन । नेकपाभित्र त्यो अवस्था रह्यो । नेकपा एमाले हुँदा पनि सही विचार बोकेका पुराना अनुभवी साथीहरूको विचारलाई उहाँले पूरै बेवास्ता गर्नुभयो । हुँदाहुँदा उहाँले सुरुमा नेकपा र पछि एमालेलाई विभाजन गर्नुभयो । अलग हिसाबले चल्न थाल्नुभयो । त्यो क्रम अगाडि बढाउँदै जानुभयो । उहाँले गल्तीलाई महसुस गर्ने र सुधार गर्ने पनि कुनै प्रयत्न गर्नुभएन । आलोचनात्मक दृष्टिकोण राख्ने साथीहरूलाई उहाँले शत्रु ठान्न थाल्नुभयो ।

बीचबीचमा वार्ताका केही कुराहरू पनि चले, जुन सबै नाटक मात्रै थिए । उहाँले जालझेल मात्रै जान्नुभयो, सही सदीक्षा कहिल्यै पनि रहेन । जहिले पनि उपयोग गर्ने र गलत कदम चाल्ने तरिका अपनाउनुभयो । यसपछि एउटा दुःखद अवस्था आयो । पार्टीमा विद्रोह गर्नुपर्ने अवस्था बन्यो र क्रान्तिकारी धारलाई उठाउनुपर्ने अवस्था सिर्जना भयो । पार्टी र क्रान्तिलाई जोगाउनुपर्ने एउटा गम्भीर जिम्मेवारीबोधको भावनाबाट जुर्मुराएर हामी उठ्यौँ । त्यसैको परिणाम हामीले एउटा क्रान्तिकारी धारको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को गठन ग¥यौँ । जुन निर्वाचन आयोगमा पनि दर्ता भइसकेको छ । यसका निम्ति म हाम्रा जनसमुदाय र कमरेडहरूबाट प्राप्त साथ, सद्भाव तथा विश्वासका लागि सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

अबको राष्ट्रिय राजनीतिमा तपाईंको दल एकीकृत समाजवादी र राजनीतिक दलको मूल नेतृत्व मात्रै होइन, पूर्वप्रधानमन्त्रीसमेत हुनुको नाताले तपाईं स्वयंको भूमिका के हुनेछ ?

– यो पार्टी नितान्त नयाँ ढंगबाट अगाडि बढ्नेछ । विगतका सबै विकृति र विसंगतिबाट मुक्त गर्ने हाम्रो कोसिस हुनेछ । आफ्नो मूल उद्देश्य समाजवादको दिशामा अगाडि बढ्ने हुनेछ । माक्र्सवाद, लेनिनवादको क्रान्तिकारी दृष्टिकोणलाई आत्मसात् गर्नेछ । जनताको बहुदलीय जनवादको मूल मर्म र भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नेछ । नेपालको विशिष्टता र विशेषताअनुरूप, जनताको चाहनाअनुरूप नीति र विचार लिएर अगाडि बढ्नेछ । सरकारको सञ्चालन पनि त्यही हिसाबले होस् भन्ने हाम्रो चाहना हुनेछ ।

पार्टी निर्माणको काममा पनि सबै कार्यकर्तालाई संगठित गरेर अगाडि बढ्नेछौँ । जनताको माझमा पार्टीलाई स्थापित गर्ने काममा जुट्नेछौँ । जनताको विश्वास प्राप्त गरेर जनताको प्यारो पार्टीका रूपमा यसलाई स्थापित गर्ने हाम्रो प्रयत्न हुनेछ । हामीले नयाँ यात्राको प्रारम्भ गरेका छौँ । कम्युनिस्ट आन्दोलनको एकताका लागि हामी निरन्तर क्रियाशील रहनेछौँ । हामी सबै वाम र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने कोसिस गर्नेछौँ । राष्ट्रियताको झन्डा बुलन्द गर्दै अगाडि बढ्नेछौँ । लोकतन्त्रको रक्षा गर्नेछौँ । सामाजिक न्याय, समानता र समानुपातिक रूपान्तणको बाटोमा अगाडि बढिरहनेछौँ ।

तपाईंले आफ्नो व्यक्तिगत जीवनको महत्वपूर्ण समय अहिलेको एमालेको पार्टी जीवनमा खर्च गर्नुभयो । सबभन्दा लामो समय नेतृत्व पनि गर्नुभयो । त्यही पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा जनताले सबभन्दा धेरै मत पनि दिएका थिए । तर, अहिले आफैँले त्यो पार्टी, ती कार्यकर्ता र ती मतदातालाई पनि छोडेर नयाँ पार्टी बनाउँदा कस्तो महसुस गरिराख्नुभएको छ ?

हाम्रो इतिहास नै यस्तो छ । हामीले पुरातनवादी विचारलाई त्यागेर क्रान्तिकारी विचारलाई अँगाल्दै आएका छौँ । केपी ओलीको भ्रममा अझै पनि जो अलमलिनुभएको छ, म उहाँहरूलाई त्यसबाट मुक्त हुन अनुरोध गर्न चाहन्छु । कसैले भ्रम पालेर बस्नुभएको छ भने उहाँहरूलाई केपी ओलीमा जुन प्रवृत्ति पलाएको छ, हुर्किएको छ र झाँगिएको छ त्यो सुध्रिने लक्षण छैन भनेर सचेत गराउन चाहन्छु ।

केशवजंग रायमाझीमा सुधार होला भनेर ठान्दा त्यो पार्टी नै सडेर सकियो । उनीसँग विद्रोह गरेर पुष्पलालले नयाँ क्रान्तिकारी धारको पार्टी निर्माण गरेर अगाडि बढ्नुभएको थियो । त्यो पार्टीमा पनि विद्रोह गरेर हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मोहनविक्रमजीले पनि विद्रोह गरेर अर्को पार्टी बनाउनुभयो । त्यसपछि त्यहाँबाट पनि विद्रोह गरेर प्रचण्डजीले अर्को पार्टी बनाउनुभयो । त्यतिवेला नै हामीले ०५१ मा सबभन्दा ठूलो लोकप्रिय दल बन्ने मौका पायौँ । लोकप्रिय सरकार पनि बनायौँ र जनताको मत पनि जित्यौँ । पछि गएर नेकपा माओवादीले ०६४ को चुनावमा हामीलाई पनि उछिनेर बेग्लै परिणाम प्राप्त गर्‍यो ।

यसरी हेर्दा स्वाभाविक रूपमा विद्रोही धारहरू नै नेपालको राजनीतिमा हाबी हुँदै गएका छन् । क्रान्तिकारी सोचमा अगाडि बढ्नेहरूले नै जनताको विश्वास जित्दै आएका छन् । व्यक्तिवाद पराजित हुँदै गएको छ । दक्षिणपन्थ समाप्त हुँदै गएको छ । दक्षिणपन्थले अन्तमा कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशामा पुर्‍याउने हो ।

अहिले बाँकी रहेको एमालेमा चरम गुटवादी चिन्तन कायम छ । त्यो गुटको दायराबाट केपी ओली माथि उठ्न सक्ने अवस्था छैन । फराकिलो दृष्टिकोण, निर्णय र कार्यकर्ताको समुचित मूल्यांकन पनि छैन । उहाँले गुण र दोषका आधारमा मूल्यांकन र विश्लेषण गर्नुहुन्न । पार्टी सञ्चालन गर्न सक्नुहुन्न । गुट चलाउन मात्रै उहाँ माहिर हुनुहुन्छ । त्यहाँ बसेका साथीहरूले अनेकौँ हन्डर–ठक्कर खाएपछि उहाँहरूको चेत खुल्नेछ । चेत खुलेपछि मात्रै मान्छे नयाँ निष्कर्षमा पुग्न सक्छ । म उहाँहरूलाई हार्दिक आह्वान गर्न चाहन्छु, यो क्रान्तिकारी धारले नै कम्युनिस्ट आन्दोलनलाई जोगाउनेछ, हुर्काउनेछ र अगाडि बढाउनेछ । बृहत् कम्युनिस्ट एकता गर्नेछ । नयाँ गतिका साथ अघि बढ्नेछ । त्यसैले आउनुहोस्, सँगै अघि बढौँ ।

केपी ओलीसँग लडिरहँदा सँगै उभिनुभएका तपाईंका नजिकका भनिएका केही नेताहरू अहिले फर्केर एमालेमा नै पुग्नुभएको छ । तपाईंले नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्‍यौँ भन्दै गर्दा उहाँहरू एमालेको पुनरोदय गर्नेछौँ भन्दै हुनुहुन्छ । के अब एमालेसँग तपाईंको पार्टी एकीकृत समाजवादीको एकताका सम्भावना बाँकी छन् ?

उहाँहरूले केपी ओलीलाई सुधार्न सक्नुहुन्छ र केपी ओलीका प्रवृत्तिलाई परास्त गर्न सक्नुहुन्छ भने एकता नै नहुने भन्ने हुँदैन । तर, अहिलेको अवस्थामा त्यो सम्भव देखिँदैन । एकताको ढोका जहिले पनि खुला छ । हामी सबै वामपन्थी कम्युनिस्ट पार्टीहरूसँग पनि वार्ता र संवाद गर्नेर्छौँ । यो संवादपछि हामी बृहत् वाम एकताका लागि प्रयत्न गर्नेछौँ र सहकार्य गर्दै अघि बढ्नेछौँ ।

एकीकृत समाजवादी अब सरकारमा पनि सहभागी हुन्छ ? सरकारमा सहभागी भएपछि जनतासामु नयाँ दल, त्यसको विचार र शैली फरक छ भनेर देखाउन कसरी काम गर्नुहुन्छ ?

हामीले अरूभन्दा भिन्न ढंगले काम गर्नेछौँ । जनताको चाहना, राष्ट्रको आवश्यकता र समयको मागअनुसार भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । भ्रष्टाचार र अनियमितताको दलदलबाट जोगिँदै त्यसका विरुद्ध लड्नेछौँ । स्वच्छ छवि कायम गर्दै मुलुकलाई समाजवादको दिशामा लिने चिन्तन र सोचका साथ अघि बढ्नेछौँ ।

तपाईंले नयाँ पार्टी गठनको प्रक्रिया सुरु गरेसँगै बहसमा आएको छ कि समाजवादी केन्द्र स्थापना हुनेछ र त्यसको नेतृत्व तपाईंले गर्नुहुनेछ । यसको सम्भावना के हो ?

कम्युनिस्ट पार्टीहरूको विकल्प छैन । कम्युनिस्ट पार्टीलाई छोड्न सकिँदैन । कम्युनिस्ट पार्टी नेपाली जनताको चाहना हो । कम्युनिस्ट पार्टी नै जनताको चाहना, इच्छा र आकांक्षालाई पूरा गर्ने महत्वपूर्ण शक्ति हो । यसलाई कमजोर बनाउने र समाप्त पार्ने कुनै पनि कुरा मान्य छैन र अब पनि हुनेछैन । त्यो यात्रामा वामपन्थी र समाजवादी शक्तिहरूबीच सहकार्य हुनेछ ।

अहिलेको सरकारमा रहेका दलहरूबीच चुनावी तालमेल वा गठबन्धन नै बन्ने सम्भावना कति छ ?

चुनावी तालमेल सबैसँग हुन्छ भनेर अहिले नै भन्न सकिँदैन, तर तालमेल हुन्छ । को–कोसँग हुनेछ भन्ने कुरा समयक्रममा प्रस्ट हुँदै जानेछ ।