१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ३ बिहीबार १८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हेभी ल्यान्डिङ गर्दा बजारिएको एयरबस मर्मत गरी काठमाडाैं ल्याइयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:५५:oo

ल्यान्ड गर्ने क्रममा बजारिएर (हेभी ल्यान्डिङ) दुर्घटनामा परेको नेपाल वायुसेवा निगमको एयरबस ३३० (वाइडबडी) जहाज मर्मतपछि बुधबार काठमाडौं ल्याइएको छ।  दुर्घटना हुँदा जहाजको ल्यान्डिङ गियर (चक्कालाई विमानको बडीसँग जोड्ने पार्ट)मा क्षति पुगेको थियो। 

मर्मत सकिएपछि बुधबार दिउँसो ३ बजे जहाजले कार्गो लिएर त्रिभुवन विमानस्थल आइपुगेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेले जानकारी दिए।   उनका अनुसार बिग्रिएको जहाज मर्मतको लागि झन्डै तीन महिनाअघि मलेसिया पठाइएको थियो।  शुक्रबारदेखि जहाजलाई तालिकाअनुसार नियमित उडाइनेछ।  ‘जहाज त्यति ठूलो दुर्घटनामा त परेको थिएन, तर संवेदनशील पार्टमा क्षति पुगेको थियो, मर्मत खर्च इन्स्योरेन्सले नै व्यहोर्छ,’ उनले भने, ‘अब नेपाल एयरलाइन्सको उडान संख्या बढ्छ।’

करिब आठ महिनाअघि (जनवरी ८ तारिख) दोहा–काठमाडौं उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्दै गर्दा जहाज बजारिएको थियो।  दुर्घटना भएपछि पनि करिब एक महिना जहाज उडाइएको थियो।  त्यसवेला जहाज को–पाइलट सुनील श्रेष्ठले उडाएका थिए।  तर, उक्त जहाज ल्यान्ड गर्दा भएको कमजोरीलाई श्रेष्ठले लुकाएका थिए।  

फेब्रुअरी २४ तारिखमा जहाजको ‘फ्लाइट डेटा रेकर्डर एनालाइसिस’ गर्दा जहाजको चक्कामा असर देखिएको थियो।  ‘फ्लाइट डेटा रेकर्डर एनालाइसिस’ले जहाज दुर्घटना भएको र चक्का तथा गियरमा असर परेको देखाएपछि निगमले जुन ७ तारिखमा मर्मत गर्न मलेसियाको एक जहाज रिपेयरिङ कम्पनीमा पठाएको थियो।  जहाज मर्मत गर्न करिब दुई अर्ब खर्च भएको र उक्त खर्च इन्स्योरेन्सले कभर गर्ने निगमले जनाएको छ।   

एयरबस ३३० जहाज दुई वर्षअघि फ्रान्सको टुलुस फ्याक्ट्रीबाट खरिद गरिएको थियो।  पाइलटकै कमजोरीका कारण उक्त नयाँ जहाज विमानस्थलमा बजारिन पुगेको थियो।  पाइलटले लुकाए पनि ‘फ्लाइट डेटा रेकर्डर एनालाइसिस’का क्रममा दुर्घटना भएको पत्ता लागेको थियो। 

ढिलो मर्मत गर्दा निगमलाई नै घाटा
पर्याप्त उडान भर्न नसकेका कारण निगमको आम्दानी पनि खुम्चिएको छ।  तर, दुर्घटनामा परेको जहाजलाई छिटो बनाएर उडान भर्न सकिने अवस्था हुँदाहुँदै पनि जहाज बनाउन निगमले निकै समय लगायो।  जहाज बिग्रिएको चार महिनापछि मात्रै मर्मत गर्न मलेसिया पठाएको थियो।  त्योभन्दा पहिले एक महिना बिग्रिएकै अवस्थामा जहाज उडाइएको थियो भने तीन महिना थन्क्याएर राखिएको थियो।  छिटो मर्मत गर्न सकिने जहाज ढिलो मर्मत गर्दा त्यसको घाटा निगमलाई नै भइरहेको निगमका पूर्वकर्मचारीहरू बताउँछन्। 

निगमका पाइलटहरूका अनुसार उक्त जहाज दुई महिनामै बनाउन सकिन्थ्यो। तर, निगमले नै मर्मत गर्न मलेसिया पठाउनेबारे अलमल गरेको थियो।  जहाज मर्मत गर्न ढिलो गर्दा सो अवधिमा गर्न सकिने आम्दानी निमगलाई घाटा भएको छ।  सरकारी जहाजको उडान कम हुँदा त्यसको फाइदा निजी हवाई कम्पनीलाई पुगेको छ।  उक्त जहाजमा दुई सय ७८ वटा सिट छन्।  दिनमा एकपटक फ्लाइट गरे पनि दिनमा करिब एक करोड आम्दानी गर्न सक्छ।  तर, जहाज उडाएर लिन सकिने फाइदालाई निगम सञ्चालन समितिले बेवास्ता गर्दै जहाज मर्मत ढिलो गरेको  थियो।  निगमका इन्जिनियर तथा कर्मचारी युनियनका उपाध्यक्ष दीपेन पुनले जहाज ढिलो बनाउँदा निगमलाई नै घाटा भइरहेको बताए।  उनले भने, ‘निगमले उडान भरेर नै फाइदा कमाउने हो, तर जहाज छिटो मर्मत गरेर उडान भर्न सकिने समय हुँदाहुँदै ढिलो गरियो, यसले निगमलाई नै घाटामा पुर्‍याएको छ।’ 

निगमका महाप्रबन्धक पौडेलले कोभिडका कारण जहाज मर्मत गर्ने कार्य ढिलो भएको बताए।  उनले भने, ‘जहाज बिग्रिएपछि केही समय यहीँ राख्नुपरेको थियो, केही समय मर्मत गर्न लाग्यो। कोभिडका कारणले गर्दा मर्मत गर्न केही ढिलो भएको हो।’ 

ad
ad