
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको भन्दै जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै आफू त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘देशको, जनताको सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यसकारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईंहरू काम लगाउनुहोस् ।’
त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर वाचनसमेत गरेका थिए ।