Skip This
सीमाविद् श्रेष्ठको ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ४ शुक्रबार १९:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमाविद् श्रेष्ठको ‘बोर्डर म्यान अफ नेपाल’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार १९:५६:oo

सीमा अध्येता बुद्धिनारायण श्रेष्ठद्वारा लिखित ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारी, वरिष्ठ सञ्चारकर्मी ९२ वर्षीय भैरव रिसाल तथा विकास अभियन्ता ८७ वर्षीय बद्रीप्रसाद खतिवडाले शुक्रबार संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तकमाथि वरिष्ठ पत्रकार धुव्रहरि अधिकारी र त्रिवि पूर्वप्राध्यापनकर्ता रामेश्वरप्रसाद बरालले टिप्पणी गरेका थिए ।

पुस्तकका लेखक श्रेष्ठले भने, ‘यस पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरू नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव र त्यसबाट पाएको सीमा शिक्षा उल्लेख गरिएको छ ।’ नेपालको सीमा मामिला विदेशीले पनि बुझुन् भन्ने उद्देश्यले नक्साको द्वन्द्व, चुच्चे नक्सा आदि अंग्रेजीमा लेखिएको श्रेष्ठको भनाइ छ । 

‘नेपालको प्रसंगमा नेपालका हालसम्मका प्रधानमन्त्रीहरूमध्ये जंगबहादुर नै यस्ता प्रधानमन्त्री थिए, जसले ब्रिटिसकालीन भारत सरकारलाई नेपालको सरहद मिचियो, फिर्ता गर भनी चिठी लेखेका थिए,’ श्रेष्ठले भने । उनले संकलन गरेको चिठीअनुसार जंगबहादुरले ब्रिटिस रेजिडेन्ट जी र्‍यामसेमार्फत भारत सरकार विदेश विभागका फोर्ट विलियमलाई ७ अप्रिल १८६२ मा रोष प्रकट गर्दै लेखेको चिठीमा भनेका थिए, ‘गोरखपुरउत्तरको दुई देशको सहमतिमा गाडिई निकै वर्षसम्म रहेका जमुना गाउँबाट गुज्रेको सीमारेखाका लठ्ठाहरू अंग्रेज सर्भेयरहरूले अचानक हटाएकाले करिब एक सय ६० बिघा नेपाली सरहदको जमिन मिचिएको छ । यसबाट हामीलाई ब्रिटिस राजप्रति नराम्रो धारणा (इल फिलिङ) परेको छ ।’ 

ब्रिटिस रेजिडेन्टमार्फत आएको उनको चिठीको जवाफमा ‘गभर्नर जनरलले यो निश्चित गरेका छन् कि राप्ती र मोहना नदीको गहिरो भागको सिमाना अंकन हुने गरी पक्की लठ्ठा नं. १३ देखि २२ र ९८ देखि १७१ खडा गरी जमिन पहिलझैँ राखिनेछन् ।  ‘यसरी जंगबहादुरले अंग्रेजलाई लठ्ठा पुनः खडा गर्न बाध्य पारेजस्तै हामीले पनि प्रतिवाद गर्दै गयौँ भने हराएका, नासिएका जंगे सीमाखम्बा ठाउँका ठाउँ फेरि स्थापना हुन सक्छन्,’ श्रेष्ठले भने ।  

श्रेष्ठका अनुसार भारत–पाकिस्तान अशान्त सीमा, भारत–बंगलादेश जमिन साटासाटले दिएको सन्देश, नेपाल–भारत–चीन त्रिदेशीय बिन्दु, क्यानडा–अमेरिकाको खुला सीमा व्यवस्था, अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारतअन्तर्गतको भन्दा उनका सल्लाहकारले नेपाल स्वतन्त्र देश हो भनी सच्याउन लगाएको प्रसंग पनि पुस्तकमा उल्लेख गरिएको छ ।  

पुस्तकमा इलामको हिले भञ्ज्याङका पेम्बा भोटियासमेतका ६ घरधुरीका नेपाली जनता ०५९ असार २४ गते ‘राति सुत्दा नेपाली, भोलिपल्ट बिहान उठ्दा त भारतीय’ भइरहेको प्रसंग पनि उल्लेख छ । ‘राति भारतीयले ७१/२२ नम्बरको नयाँ पुड्को खम्बा गाड्नाले यस्तो भएको फिल्डगत अध्ययन विवरण उल्लेख गरिएको छ,’ श्रेष्ठले भने, ‘त्यसै क्षेत्रको सीमास्तम्भ नम्बर ७१/१७ रहेको भारतीय एसएसबीले मिचेको जमिनको फोटो खिच्नलाग्दा नजिकैको क्याम्पमा रहेको एसएसबीको सेन्ट्री जवानले बन्दुक तेर्स्याउँदा आफू  फालतोडेर नेपालतिरको चिया पसलभित्र पुगेका थिए ।’ 

सीमा अध्येता श्रेष्ठको यो १३औँ पुस्तक हो । नेपालको सिमाना नामक उनको ग्रन्थले मदन पुरस्कार जितेको थियो । कार्यक्रमको आयोजना वरिष्ठ अधिवक्ता भण्डारी अध्यक्ष रहेको संस्था मानव अधिकार संरक्षण मञ्च (मासम)ले गरेको थियो । मञ्चले पुस्तकका लेखक श्रेष्ठलाई चाँदीले बनाएको चुच्चे नक्सासहितको कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो ।