मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
तुइन काटेको आरासहित एसएसबीका जवान । एसएसबीले तुइनको डोरी काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामी (इन्सेटमा) । तुइनको फाइल तस्बिर
Invalid date format o८:५o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतले सहमति नदिएपछि नेपालपट्टिको भागमा ड्रोन उडाएर बेपत्ता धामीको खोजी सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

भारतले सहमति नदिएपछि महाकाली नदीको नेपालतर्फको क्षेत्रमा मात्रै ड्रोन क्यामेरा उडाएर जयसिंह धामीको खोजी सुरु गरिएको छ । पहिलो दिन बुधबार प्रहरीले व्याँस गाउँपालिका– २ मालघाटदेखि बर्तिघाटसम्म ड्रोन उडाएर खोजी गरेको छ । 

‘डिएसपी मनोहरप्रसाद भट्ट नेतृत्वमा खटिएको टोलीले बुधबार मालघाटदेखि तुसरपानी र सुनसेराबीच पर्ने बर्तिघाटसम्म ड्रेन क्यामेरा उडाएर खोजी ग¥यो । भोलि बर्तिघाटभन्दा तल्लो क्षेत्रमा खोजी हुनेछ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए ।

जयसिंहको खोजीका लागि भारतीय भूमिमा पनि ड्रोन उडाउने अनुमति दिन २३ साउनमा दार्चुला जिल्ला प्रशासनले भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्राचार गरेको थियो । तर, भारतले बुधबारसम्म ‘रेस्पोन्स’ गरेको छैन् । तुईन तर्दैगर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी फुकाइदिँदा जयसिंह बेपत्ता भएका थिए ।

‘भारतीय प्रशासनले न अनुमति दियो, न कुनै जवाफ नै पठाएको छ,’ दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन्, ‘आफ्नोतिर सबै क्षेत्रमा ड्रोन उडाएर खोजी गर्छौँ ।’ 

नेपाली पक्षले ड्रोन उडाउन थालेपछि भारतले निगरानी बढाएको एक सुरक्षा अधिकारीले बताए । ‘नेपालले कुन–कुन ठाउँमा ड्रोन क्यामेरा उडायो भनेर चासो राखेको छ,’ उनले भने । 

मुख्यमन्त्रीसँग छानबिन समितिको छलफल
दार्चुला तुइन घटनाबारे छानबिन गर्न गठन गरिएको टोलीले धनगढी पुगेर सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसँग छलफल गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीले काठमाडौं पुगेर सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ । बैतडी र डडेल्धुरामा महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेर फर्किएको टोली बुधबारै कञ्चनपुर पनि गएको छ । 

तुइन भत्काइएपछि खाद्यान्नको समस्या

दुई सातासम्म तुइन नजोडिँदा दार्चुलाको व्याँस गाउँपालिका– २ मालगाउँमा खाद्यसंकट देखिएको छ । मालघाटमा पुनः तुइन जोड्न भारतीय पक्षले नै नदिएपछि मालगाउँमा खाद्यसंकट निम्तिएको मानव अधिकारवादी संस्था जनअधिकार अभियान नेपालले जनाएको हो । संस्थाले स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको छ । ‘हामी घटना थाहा पाएको आधा घन्टामा त्यहाँ पुगेका थियौँ । जयसिंह धामीलाई नदीको धेरै परसम्म खोज्ने प्रयास गर्‍यौँ, तर भेट्न सकिएन । तुइन काटिएपछि यहाँ नुन–तेललगायत खाद्यान्न अभाव र संकट थपिएको छ,’ स्थानीय सुकुन्द्रसिंह धामीको बयान उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ । 

मालगाउँका स्थानीयलाई नुन–तेल, चिनी, लत्ता–कपडादेखि दैनिक उपभोग्य खाद्य सामग्रीका लागि महाकाली तरेर भारतीय बजार जानैपर्ने बाध्यता छ । सदरमुकाम खलंगा जान पनि यो मार्गबाट चार घन्टा मात्रै लाग्छ । तर, नेपालतर्फको बाटो प्रयोग गर्दा खलंगा पुग्न नै दुई दिन लाग्छ । स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै अभियानका सदस्य अधिवक्ता सन्तोष कोइरालाले भने, ‘नदीवारि नेपालतर्फ बजार छैन । मालगाउँका नागरिक पारि भारतीय बजारकै भर पर्नुपर्छ । उनीहरू तुइन तरेरै कारोबार गर्दै आएका थिए । तर, जयसिंहको मृत्युपछि तुइन जोडिएको छैन । उता जान बन्द गरिँदा मालगाउँमा खाद्यसंकट उत्पन्न भएको छ ।’

बयानमा जयसिंहका भाइ नरेन्द्र धामीले खाद्यान्नलगायत कारोबारका लागि भारतको धार्चुला वा गस्कुपांला नगई नहुने बताएका छन् । ‘भारतीय दादागिरी बढी नै छ । हामीलाई खाद्यान्न खरिदका लागि पारि धार्चुला वा गस्कुपांला नगई सुखै छैन । विगतमा पनि उनीहरूले हाम्रा सामान जफत गर्थे । कहिले सामान महाकालीमा बगाइदिन्थे, कहिले लिलाम गर्थे । हामीलाई हातपात गर्थे । यस्ता घटना त हाम्रा लागि सामान्यजस्तै थिए,’ प्रतिवेदनमा नरेन्द्रको भनाइ उद्धृत गरिएको छ । 

शिलान्यास भएको झोलुंगेपुल विवादका कारण अलपत्र हुँदा पनि स्थानीयले दुःख पाएको प्रतिवेदनमा उल्लेख छ । पुल निर्माणको ठेक्का स्थानीय धनबहादुर कुँवरले लिएका थिए । तर, पुल अझै निर्माण हुन सकेको छैन । त्यस्तै, दार्चुला–तिंकर सडक पनि अलपत्र छ । १२ वर्षअघि शिलान्यास भएको सडकको अहिलेसम्म ४० किलोमिटर ट्र्याक पनि पूरा हुन सकेको छैन । 

तुइन फुकाउने एसएसबीका जवानको सरुवा
जयसिंह तर्दै गर्दा एसएसबीका दुई जवानले तुइन फुकाएको जनअधिकार अभियान नेपालले जनाएको छ । उनीहरू हाल उक्त ठाउँबाट अन्यत्र सरुवा भइसकेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सुकुन्द्रसिंह धामीको बयान उद्धृत गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘व्याँस– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामी एसएसबी क्याम्प पुगेका थिए । एसएसबीले तुइन भएको ठाउँमा कसैलाई ड्युटी नपठाएको जवाफ दिएको उनले बताए । तुइन खोल्ने एसएसबीका जवानहरूको अन्यन्त्र सरुवा भइसकेको जानकारी पाएको छु ।’

प्रत्यक्षदर्शी कल्याणसिंह धामीले पनि तुइन काटेको नभई फुकाइदिएको बयान दिएका छन् । तुइनको तार लत्रिँदा धामी नदीको धारमा परेको र बगाएर लगेको उनको बयान छ । ‘चारजनाले नदी पार गरिसकेपछि जयसिंह तर्दै हुनुहुन्थ्यो । पारि पुग्न करिब दुई–तीन मिटर बाँकी रहँदा दुई सुरक्षाकर्मी आए । वारिबाट हेर्दा बाँधिएको तार घुमाएजस्तो देखिन्थ्यो । त्यसलगत्तै तुइन झर्‍यो । नदीको ठूलो बहावले हुत्याएर बगायो,’ कल्याणसिंहले भनेका छन् । 

जयसिंहका बुबा भन्छन्– प्रार्थना छ, अब यस्तो घटना नदोहोरियोस् 
अध्ययन टोलीले जयसिंहका बुबा दली धामीसँग पनि भेटेरै बयान लिएको छ । बयानका क्रममा उनले अब यस्तो घटना नदोहोरियोस् भनेका छन् । उनले भनेका छन्, ‘विगतदेखि यो समस्या छ । हामी केही बुझ्दैनौँ । तपाईंहरूले बुझ्नुभएकै छ । मेरो चेलो त गयो । तर, दुई देशलाई हल्लाएर गयो । यसको मतलब अब यो समस्या नदोहोरियोस् । मेरो यही प्रार्थना छ । बुहारी, पाँच वर्षको नाति र १३ महिनाकी नातिनीको रोजीरोटी, शिक्षा र स्वास्थ्यका लागि सरकारसँग पहलकदमी गरिदिनुहोस् ।’