१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय दूतले भनिन्– अफगानिस्तान द्वन्द्वको प्रकोपतर्फ, हिंसा रोक्न आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:४९:oo

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय दूत डेबोराहा लियोन्सले सहरी क्षेत्रमा आक्रमण रोक्न तालिवानलाई आग्रह गरेकी छिन् । अफगानिस्तान द्वन्द्वको प्रकोपतर्फ अघि बढेको भन्दै उनले चिन्तासमेत व्यक्त गरेकी छिन् । उनी संयुक्त राष्ट्रसंघको अफगानिस्तान सहायता अपरेसनकी प्रमुख हुन् । 

‘सुरक्षा परिषदले तालिवानलाई अफगानिस्तानमा आक्रमण रोक्न स्पष्ट रूपमा वक्तव्य जारी गर्नुपर्छ,’ उनले काबुलबाट काउन्सिललाई मंगलबार भनेकी छिन् । अफगानिस्तानका पाँच प्रान्त तालिवानले कब्जा गरिसकेका छन् जहाँ हजारौँ विस्थापित भएका छन् भने सयौँ बालबालिकासमेत मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

‘सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समुदायले अफगानिस्तानलाई द्वन्द्वको भयावह प्रकोपतर्फ जानबाट रोक्न स्पष्ट रूपमा प्रतिबद्धता प्रदर्शन गर्ने अबसरको सदुपयोग गर्नुपर्छ,’ लियोन्सले भनेकी छिन् । उनले तालिवानले युद्धविराम घोषणा गर्नुपर्नेसमेत बताएकी छिन् ।

अमेरिकी फौज फिर्तापछि अफगानिस्तानका ३४ मध्ये नाैवटा प्रान्तीय राजधानीमा तालिवान पुगिसकेको छ । तालिवानी आक्रमणका कारण कान्दाहारका ३० हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरू फाराह, बदघीज तथा हेल्मन्ड प्रान्तमा विस्थापित भएको सरकारी अधिकारीहरूले जनाएका छन् । विस्थापित परिवारलाई भोकमरीको सम्भावना देखिएको छ । 

अफगानिस्तानको न्याय मन्त्रालयका अनुसार मंगलबार तालिवानी तालिम शिविरतर्फ लैजान लागिएका १३ जना बालबालिकालाई सुरक्षा र गुप्तचर निकायले रोकेका छन् । तालिवानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेका तालिम स्थलमा लैजान खोज्दा अफगानिस्तानको सुरक्षा फौजले रोकेको न्याय मन्त्रालयलाई उद्धृत गर्दै अफगानिस्तानको टोलोन्युजले जनाएको छ । 

यसैबीच, अफगानिस्तानमा तालिवानको प्रभाव विस्तार भइरहेका वेला तालिवानलाई सहयोग नगर्न छिमेकी पाकिस्तानमाथि अन्तर्राष्ट्रिय दबाब बढ्न थालेको छ । अमेरिकी रक्षामन्त्री  ल्योड अस्टिनले पाकिस्तानी सेना प्रमुख जनरल क्वामार जाभेद बाजवालाई मंगलबार टेलिफोन कुराकानीमा अफगानिस्तानको सीमावर्ती पाकिस्तानी भूमिमा रहेका तालिवानको सुरक्षित सेल्टर नष्ट गर्न आग्रह गरेका छन् । 

टेलिफोन वार्तापछि बुधबार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का प्रवक्ता  जोन किरबीले अफगानिस्तानमा बढेको असुरक्षा र जारी तनावको  एउटा कारण पाकिस्तानी सीमा क्षेत्रमा रहेका तालिवानी सुरक्षित सेल्टर रहेको विषयमा छलफल भएको बताएका छन् । स्थानीय खामा समाचारका अनुसार  पाकिस्तानी सेनाप्रमुखले भने पाकिस्तानमा तालिवानका सुरक्षित बसोवासस्थल रहेको भन्ने विवरण स्वीकार गरेका छैनन् । तर, तालिवानलाई पाकिस्तानी सीमावर्ती क्षेत्रमा तालिम, सहयोग, लगानी तथा सुरक्षित बसोवास उपलब्ध भएको भन्दै अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको छ । 

‘पाकिस्तानमा तालिवानले प्राप्त गरेको सुरक्षित आश्रय, सहयोग, सहायताका विषयमा अमेरिका पाकिस्तानी अधिकारीहरूसँग छलफल गर्न कत्ति पनि अनच्छिुक छैन,’ अमेरिकी रक्षा प्रवक्ता जोनले भनेका छन्, ‘हामीले यो विषयमा पाकिस्तानको नेतृत्वसँग निरन्तर छलफल गर्दै आएका छौँ । स्वयं पाकिस्तानका जनता पनि यो क्षेत्रमा आतंकवादको पीडित हो भन्ने हामीलाई राम्रो थाहा छ, त्यसकारण पनि पाकिस्तानले अफगानिस्तानसँग जोडिएका क्षेत्रमा रहेका तालिवानी आश्रयस्थल नष्ट गर्नुपर्छ ।’

ad
ad