मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
हरि खनाल
२०७८ श्रावण २१ बिहीबार १०:५३:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली भाषामा मौलिकता रक्षाको चुनौती

भाषामा हुने परिमार्जन र विकासले इतिहास बनिसकेका साहित्यकार तथा विद्वान्का सिर्जना नै दुर्बोध्य बनाउनु हुँदैन

Read Time : > 6 मिनेट
हरि खनाल
२०७८ श्रावण २१ बिहीबार १०:५३:००

भूगोल, भाषा, भेष र संस्कृति मुलुकका चिनारी हुन् । भूगोल, भेष र संस्कृतिलाई पनि एकाकार बनाउनेचाहिँ भाषाले हो । त्यसकारण भाषासँग मुलुकको अस्तित्व र अस्मिता जोडिएको हुन्छ । भाषा यस्तो पुल हो, जसले नागरिकलाई तीनै कालसँग जोड्छ । अर्थात् भूतसँग वर्तमान र वर्तमानसँग भविष्यको निकटता र साइनो गाँसिदिने काम भाषाले गर्छ । 

नेपालमा बसोबास गर्ने अधिकांश जातजातिका मौलिक भाषा छन् । ती भाषा मुलुकका सम्पत्ति हुन् । मुलुकबाहिर राष्ट्रको भाषा परिचायक हुन्छ भने मुलुकभित्र पसेपछि कुन जातजाति र कुन भाषा भन्नेले महत्व राख्छ । नेपालको एकता भाषा अर्थात् राष्ट्रभाषा नेपाली रहेको छ, जसको लिपि देवनागरी हो । नेपाली भाषा कुनै जातजाति विशेषको भाषा होइन । यसको विकासमा संस्कृत, खस भाषा र अन्य भारोपेली परिवारको भूमिका महŒवपूर्ण मानिन्छ । हजार वर्षभन्दा पुरानो इतिहास भएको नेपाली भाषाको विकास र यस क्षेत्रमा गरिएका विकृत अभ्यासको विषयलाई लेखको मूल पक्ष बनाइएको छ । 

१. भाषाको श्रीवृद्घि :  राष्ट्रभाषालाई मुलुकको सम्पर्क र सञ्चारको मूल माध्यम बनाउने, कार्यालयीय कामकाजको भाषा बनाउने, चलचित्र, भिडियो, युट्युब, गीतसंंगीत, साहित्यका विभिन्न विधाको साधना, वृत्तचित्र जस्ता आमजनमानसबीच पुग्ने विषयमा राष्ट्रभाषाको प्रयोग गर्ने, विद्यालय तथा विश्वविद्यालय शिक्षामा राष्ट्रभाषाको माध्यमबाट सिकाइ गर्ने, विज्ञान तथा प्रविधिले आविष्कार गरेका नयाँ सामग्रीको राष्ट्रिय भाषामा नामकरण गर्ने, घरपरिवारमा बालबालिकासँग राष्ट्रभाषामा कुराकानी गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रभाषामा प्रस्तुत हुने जस्ता क्रियाकलापले भाषाको विकास र संरक्षण गर्न मद्दत पु¥याउँछ ।विश्वव्यापीकरणको आधुनिक जमानामा गैरअंग्रेजी भाषा प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । यतिवेला राष्ट्रभाषामाथि कुनै खतरा छ भने त्यो नवीन आविष्कारले ल्याउने भाषा र गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृनिकाबाट आउने भाषाका विकृत स्वरूपबाट छ । 

नेपालको सन्दर्भ : सन् १९९० को दशकदेखि स्वदेशी उद्यमको सोचबाट पर पुगेका हामीले गैरसरकारी संस्थालाई नै राज्य र सरकारको छायाका रूपमा देख्न थाल्यौँ । सरकारी निकायभित्रै गैरसरकारी संस्थाको कार्यालय खडा गर्ने, आन्तरिक बजेटका कामलाई दोस्रो प्राथमिकतामा राखेर कताकतै कुनै एक जात वा सानो भूगोलमा गरिने सानो लगानीलाई सर्वस्व ठान्ने परिपाटीसँगै विदेशी भाषाका विकृत राग राष्ट्रभाषामा हाल्न थालियो । योजनाका नाममा होस् वा संयुक्त दस्ताबेजका नाममा हामीले राष्ट्रभाषालाई सानो देख्यौँ । एकाध विदेशी उपस्थितिलाई महत्व दिएर नेपाली जनमानसलाई रनभुल्ल पार्ने गरी अंग्रेजीमा कन्न थाल्यौँ । अंग्रेजी नबोल्ने मानिस निकम्मा नै हो भन्ने गलत मानसिकतालाई हाबी गराइयो । 

२. विकलांग बनाइँदै राष्ट्रभाषा : मुलुकको एकताभावलाई बलियो बनाउने काम भाषाले गर्छ । सबै सिमाना र भूगोललाई राष्ट्रभाषाले जोड्छ । यो काम नेपाली भाषाले गरिरहेको छ । राष्ट्रभाषालाई सबलीकृत बनाउन यसको मौलिकतालाई जोगाउनुपर्छ । व्यवहारतः हामी त्यसो गरिरहेका छैनौँ । हामीले हाम्रो भाषालाई विशेषतः तीन तरिकाले अंगभंग पारिरहेका छौँ । नेपालीलाई अंग्रेजी शब्दले किचेर, आवश्यकतानुसार नेपाली शब्द विकास नगरेर र अनावश्यक चिरफार गरेर । 

पहिलो, नेपालीलाई अंग्रेजीका शब्दले किच्ने प्रवृत्ति : हामी नेपाली शब्द नै पर्याप्त हुँदाहुँदै पनि अंग्रेजी शब्द प्रयोग गरेर आफू विद्वान् भएको नाटक गरिरहेका छौँ । मन्त्रालय तथा कार्यालयका नाम, पदका नाम, योजना र दस्ताबेजका नाम, विद्यालय तहदेखि मन्त्रालय तहसम्मका अंग र निकायलाई संक्षिप्त नामका रूपमा अंग्रेजी नामकरण गर्‍यौँ, सिडिओ, एलडिओ, आरपी, एमपी, डिएसपी, एसएसपी, आइजिपी आदि ।

नेपालीलाई अंग्रेजी शब्दले किचेर, आवश्यकतानुसार नेपाली शब्द विकास नगरेर र अनावश्यक चिरफार गरेर हामी आफ्नै भाषालाई अंगभंग गरिरहेका छौँ

विभिन्न मन्त्रालय त्यसमा पनि गैरसरकारी क्षेत्र जोडिएर बनेको दस्ताबेज वा योजना हेर्दा तिनमा प्रयोग भएको वर्णशंकर भाषाले हामीलाई गिज्याइरहेको हुन्छ । धेरै सरकारी कार्यालयमा राखिएका संकेत पाटी (साइनबोर्ड) र कर्मचारी विवरण हेर्दा नेपाली भाषाको हविगत प्रस्ट हुन्छ । यी एकाध उदाहरण मात्र हुन् । सहरमा बसेको र एकाध अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग काम गरेको युवक गाउँमा गयो भने उसले बोलेको भाषा गाउँलेले बुझ्दैनन् । यस्तो प्रभाव नेपाली मात्र नभई हरेक मातृभाषाले भोग्नुपरेको छ । विकृत नेपाली भाषा बोल्ने जमात विद्यालय, कलेज, कार्यालय, हुँदै सञ्चारमाध्यमसम्म उल्लेख्य बढेको छ । चलचित्र तथा पुस्तकहरूमा समेत यस्तै भाषाको प्रचुर प्रयोग हुन थालेको छ । गीतसंगीत क्षेत्र पनि यसबाट अछुतो छैन । नेपाली बोल्दा नेपाली भाषाको बीचमा प्रयोग हुने यस्ता वर्णशंकर शब्दले हाम्रो भाषालाई न नेपाली न अंग्रेजी बनाइरहेका छन् । 

दोस्रो, आविष्कारसँगै आएका नामलाई जस्ताको तस्तै लिने प्रवृत्ति : भाषामा विकार ल्याउने दोस्रो तरिका भनेको नवीन प्रविधि र आविष्कारको प्रभाव हो । नयाँ आविष्कार दिनहुँ भइरहेको हुन्छ । युरोप अमेरिकातिर भएका त्यस्ता आविष्कारका नाम अंग्रेजीमा हुने गर्छ । आविष्कार जहाँ भए पनि त्यसबाट सबैले लाभ लिनु सामान्य हो । युरोपका कतिपय सम्पन्न भनिएका मुलुकमा पनि अर्को देशमा भएका आविष्कारको नाम आफ्नै भाषामा राख्ने अभ्यास देखिन्छ ।

धेरै टाढा जानुपर्दैन, हाम्रै छिमेकी मित्रराष्ट्र भारतले हामीले भन्दा पहिले टेलिभिजन ल्यायो, तर उसले टेलिभिजन नभनी दूरदर्शन भन्यो । रुसको प्रविधिबाट आफूले विकास गरेका क्षेप्यास्त्रहरूको नाम पृथ्वी, आकाश आदि राख्ने गरेको छ । तर, हामीले भने यस्ता क्षेत्रमा केही गरेका छैनौँ । नयाँ शब्दावली निर्माण गर्ने र नेपाली नाम दिने कार्य भाषा र साहित्यको विकासका लागि खडा गरिएका संस्थाबाट हुनुपर्ने हो तर त्यतातिर कसैले सोचेकोसम्म छैन । नवीन आविष्कारले दिएका साधनका नाम जस्ताको तस्तै शब्दकोशमा प्रवेश गराउनुबाहेक हाम्रो सामथ्र्य देखिएको छैन । जसले गर्दा कुनै दिन हामीले अनौठो वर्णशंकर भाषा मात्र बोल्ने समय आउन सक्छ । 

तेस्रो, अनावश्यक चिरफार : थप काम गर्ने सोच नभएपछि भएकैलाई चलाइरहने, गिजोलिरहने प्रवृत्ति भाषाको श्रीवृद्घि गर्ने जिम्मेवारी पाएकाहरूबाट गरियो । त्यो आवश्यकता हो कि होइन ? त्यसो गर्दा भाषाको श्रीवृद्घि हुन्छ ? जस्ता प्रश्नलाई आधार बनाएर नभई कसैको अभिरुचि र मनसायको सम्मानका रूपमा यस्ता क्रियाकलाप हुने गरेको गुनासो भाषा साधकहरूबाटै आउने गर्छ । दुई–चार अक्षर पढेपछि आफूलाई अर्कै ग्रहको ठान्ने स्वघोषित विद्वान्बाटै नेपाली भाषा असुरक्षित हुँदै आएको छ ।

नेपाली भाषाको पहिलो लेख्य मानक शब्दकोश बगली कोश (१९९८) पछि चलेका झर्रोवादी आन्दोलन, हलन्त बहिष्कार, तद्भवीकरण, नेपालीकरण आदि विभिन्न नामले नेपाली भाषाको मानमर्दन भइरह्यो । वि.सं २०५७ सालमा नेपाली वर्णविन्यास विषयक अधिगोष्ठी गरियो । जुन गोष्ठीबाट अभ्यासमा रहेका संस्कृतबाहेक अन्य भाषाबाट आएका आगन्तुक शब्दमा कैँची चलाउँदै ती शब्दका सुरु र बीचमा सबै ह्रस्व लेख्ने र ‘श’ र ‘ष’ लाई ‘स’ लेख्ने भनियो ।

नेपाली वर्णमालामा व्यञ्जन अक्षरका रूपमा अझै ‘ञ’ छ । बाह्रखरीमा क का कि की कु कू चिनाइँदै छ । परिवर्तित नियमले ‘ञ’ र ‘कू’को आवश्यकता नभएको देखाएको छ । पञ्चम वर्णको रूपमा प्रयोग गर्न बनेको विशिष्ट नियम पहिल्यै तोडियो । ‘ञ’लाई ‘न’ले विस्थापित गरेपछि यो नियम अर्थहीन बनेको छ । कक्षा १ को पाठ्यपुस्तकमा ‘कू’ चिनाउन ‘कूप’ शब्द ल्याइएको छ, जुन त्यस उमेर समूहका बालबालिकाका लागि सहज होइन ।

यसअघि प्रचलित कूचो, कूचीलाई ह्रस्व बनाएपछि यो समस्या देखापरेको हो । लामो समयदेखि लेख्य रूपमा आएका यी भाषाका वर्णविन्यास चलाउनु तर्कसम्मत थिएन । सकिन्छ, त्यस्ता शब्दको नेपाली शब्द निर्माण गर्ने हो, सकिन्न भने त्यसको कान बटारेर, खुट्टा काटेर वा मुण्डन गरेर त तमासा मात्र देखाउन सकिन्छ । वर्षौंअघिदेखि प्रविष्ट भएर नेपाली भाषा साहित्यको हारमा बसी साधना भइसकेको कुरालाई चलाउँदा आफ्नै इतिहास, आफ्नै पुर्खा मात्र दुर्बोध्य हुने हुन् । यस्ता हर्कतले नेपाली भाषी र भाषाका प्रयोक्तालाई निराश बनाउँदै लग्यो । यस्ता काम माथि भनिएझैँ ‘विद्वान्’ हरूबाटै ज्यादा भयो । कसैले नेपाली भाषामा अध्ययन गरेर कुनै तहको प्रमाणपत्र जोड्दैमा ऊ त्यही भाषामाथि कैँची चलाउने अधिकार प्राप्त गरेको विज्ञ हो भनेर मान्न सकिँदैन । किनभने, भाषा आमसमुदायको साझा सम्पत्ति हो । 

२०६९ सालमा पाठ्यक्रम विकास केन्द्रबाट योजनाबद्घ तरिकाले विकास गरिएको सम्पादन प्रकाशन शैली शिक्षा मन्त्रालयले स्वीकृत गरेपछि भाषाको थप भाँडभैलोले विद्यालय शिक्षामा प्रवेश गरेको देखिन्छ । यस कदमबाट कथ्य र लेख्य समान बनाउन खोजेको छनक मिल्छ । विविध भाषाभाषी भएको मुलुकमा यो काम कतिको उपयोगी हो भन्ने विषयमा लामो वादविवाद भयो । श्रुतिसमभिन्नार्थक शब्दहरूमाथि कैँची चलाउनु, संस्कृतबाट आएका केही क्षतिपूरक शब्दहरूका दीर्घ हटाउनु, चार अक्षर भए जोड्ने, पाँच भए नजोड्ने भन्ने तथ्यहीन तर्क अघि सारिनुलाई नेपाली भाषाका प्रयोगकर्ताले किमार्थ सहन सकेनन् । भाषाको चिरफार गर्नेहरूले सरल पारेको भन्नेबाहेक केही तर्क दिन सकेनन् । रोमन भाषामा लगेर लिपि सिध्याउने चालबाजीबाहेक त्यो केही थिएन भनेर गरिएका तर्क प्रभावशाली थिए । प्रारम्भदेखि नै यस्तो कर्मको धेरै नेपाली भाषाप्रेमीले विरोध गरे । 

उच्चारण हुने र लेख्य भाषा एउटै बनाउने भूत कसरी आयो ? यो आफैँमा  गम्भीर प्रश्न हो । भाषा हजारौँ वर्षदेखिको साधना र अभ्यासले खारिँदै आएको विषय हो । श्रुति–परम्पराबाट लेख्य परम्परामा आइसकेपछि यसको अभिलेखीकरण हुँदै गएको छ । अब हुने परिमार्जन र विकासले इतिहास बनिसकेका र हाम्रो सम्पदा बनिसकेका साहित्यकार तथा विद्वान्हरूका कृति नै दुर्बोध्य बनाउनु हुँदैन । कसैलाई मन लाग्दैमा फोड्ने र कसैलाई मन लाग्दैमा जोड्ने अनि ह्रस्व र दीर्घमा पनि अराजक नाच नाच्ने कामले भाषाको शान बढ्दैन । यसले त प्रयोगकर्तालाई निराश मात्र तुल्याउँछ । 

धर्म, संस्कार तथा संस्कृतिमा बलियो देखिएको इन्डोनेसियाको हालको लिपि भनेको अंग्रेजी ए बी सी डी भएजस्तै हाम्रो दिन नआउला भन्न सकिन्न । जसले जस्तो बोल्छ, उस्तै लेख्नेभन्दा त जातीय भाषाको कारण जिब्रोबाट उच्चारण हुने ध्वनिमा विविधता आउने निश्चित छ । त्यही विविधतालाई पनि स्थान दिने हो भने हामीले बोलिआएकै नेपाली भाषा पनि दुर्बोध्य हुनेछ । 

नेपाली भाषा परिमार्जनका नाममा संस्कार तथा संस्कृतिविरोधी गतिविधि पनि देखिए । यस विषयमा केही भाषाप्रेमी सांसदले संसद्मा कुरा उठाए । भाषासेवकहरू सम्मानित अदालतको ढोका पनि ढकढक्याउन पुगे । सम्मानित व्यक्तिको नामसमेत अर्कै हुने तथ्यलाई आन्दोलनकारीले उठाएपछि तोडमोड गरिएको भाषामा आंशिक सुधार गरेर छोडिएको छ । यसको कारण नेपाली वर्णविन्यासमा भाँडभैलो जारी छ ।

लेखकपिच्छे फरक प्रयोग देखिन्छ । भाषाको आन्दोलनकारीका माग सम्बोधन गर्न भनेर बनाइएको शब्दकोश २०७५ मा आन्दोलनकारीले मागेका शब्दलाई प्रविष्टि गराएर ‘हे’ भन्दै परिवर्तित शब्दलाई नै वैधानिक मानिएको छ । यो कुरा नबुझेर वा बुझ पचाएर कतिपय भाषासाधकले जुन शब्द लेखे पनि हुने रहेछ भन्ने निष्कर्ष निकाल्दै मनमाफिकको वर्णविन्यास प्रयोग गरिरहेको देखिन्छ । यसरी लेखिएका पुस्तक तथा लेखरचना हालको विद्यालयीय वर्णविन्यास पढेर आएकाका लागि नै दुर्बोध्य हुनेछ ।

संसारभरि छरिएर रहेका भाषा साधकको परामर्श र भावनाविना आशीर्वादप्राप्त स्थानमा पुगेर भाषिक मर्ममाथि गर्ने प्रहारलाई कसैले सहज मान्न सक्दैन । स्थापित आगन्तुक शब्दलाई नचलाउँदा पाठकले त्यसको उत्पत्ति थाहा पाउँथे । संस्कृतबाट आएका शब्दलाई नचलाउँदा पाठकले नेपाली र संस्कृतको सम्बन्ध सेतु देख्थे । परिवर्तनले यी सबैलाई समाप्त पारिदिएको छ । 

अन्त्यमा, नेपाली भाषा सबै नेपालीको साझा प्राण हो । जातीय, क्षेत्रीय, भौगोलिक तथा साम्प्रदायिक राजनीतिक चाहनाले यदाकदा यसमा दरार पैदा गराउन खोजे पनि मेचीले ऐया गर्दा महाकाली दुख्ने, तराईले आत्था भन्दा पहाड र हिमालले शरीरमा फोका उठेको अनुभूति गराउने माध्यम भनेकै साझा भाषा नेपाली हो । पढेर निकै ठूलो विद्वान् भएँ भनिठान्नेले यसको सबल अंगको छेदनतिर होइन, थप विकास, नयाँ शब्द निर्माण, भाषिक विकासका कार्यक्रमको निर्माण र प्रवर्धनतिर लाग्नु उचित हुन्छ । यसका लागि यसको मौलिकतातर्पm फर्किनु पहिलो रचनात्मक पाइलो हुनेछ । 
(खनाल साहित्यकार हुन्)