१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७८ श्रावण १९ मंगलबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दार्चुला घटनाको चार दिन : घटनास्थल पुगेर पनि प्रहरीले उठाएन मुचुल्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार १२:२२:oo

तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी फुकालेपछि व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी बेपत्ता भएको चार दिन बित्दासमेत प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छैन । जब कि अनुसन्धान गर्न सदरमुकाम खलंगाबाट घटनास्थल पुगेको सुरक्षाकर्मीको टोली बयानका लागि प्रत्यक्षदर्शी तीनजनालाई लिएर सोमबार सदरमुकाम फर्किएको छ ।

गत शुक्रबार सदरमुकाम आउने क्रममा तुइन तर्दै गर्दा एसएसबीले डोरी खोलिदिएपछि जयसिंह बेपत्ता भएका थिए । सदरमुकामबाट काठमाडौं जाने उनको योजना थियो । परिवारका सदस्यले मृत्यु भएको आशंकामा शनिबार साँझ कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । 

प्रहरी घटनास्थल पुगेर पनि मुचुल्का नउठाएपछि पीडित परिवार र स्थानीयले गम्भीर घटनामा राज्य संवेदनशील नभएको गुनासो गरेका छन् । ‘प्रहरी त्यहीँ पुगेर पनि घटनास्थलको मुचुल्का उठाएको छैन,’ बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘यस्तो घटना भएको हो भनेरसमेत प्रहरीले अहिलेसम्म मुचुल्का बनाएको छैन ।’ 

स्थानीयदेखि प्रत्यक्षदर्शीसम्मलाई गाउँमै पुगेर भेटे पनि प्रहरीले फेरि प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् । ‘छानबिन टोली फिल्डमा गएर अनुसन्धान गर्नुको साटो पीडित परिवार र प्रत्यक्षदर्शीलाई सदरमुकाम बोलाएर मानसिक दबाबमा राख्ने राज्यको नियति देखियो,’ नरेन्द्रले भने । 

स्थानीय हरकसिंह कार्कीले प्रहरीले साक्षी सर्जिमिन र हस्ताक्षर केही नगराएको बताएका छन् । ‘हामीसँगै प्रहरी पनि महाकाली किनार पुगेका हुन्, तर मुचुल्का उठाइएको छैन । घटनास्थलमा साक्षी सर्जिमिन र हामीहरूको हस्ताक्षर केही गराएन,’ सोमबार सदरमुकाम पुगेका उनले भने । 

प्रहरीले भने शव नभेटिएसम्म मुचुल्का आवश्यक नपर्ने बताएको छ । ‘शव नभेटिएसम्म घटनास्थलको मुचुल्का आवश्यक पर्दैन । हामीलाई घटनास्थल थाहा छँदै छ । भारतपट्टि टुडीको रूख र वारि खाँबो खाडेर तुइनको तार लगाइएको देखिन्छ,’ घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्द भने, ‘घटनास्थलको मुचुल्का जहिले बनाए पनि फरक पर्दैन ।’