मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
मञ्जु भट्ट
२०७८ श्रावण १९ मंगलबार ११:३८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अभिभावक वास्तविक शिक्षक

Read Time : > 3 मिनेट
मञ्जु भट्ट
२०७८ श्रावण १९ मंगलबार ११:३८:००

बालबालिकाले बोल्ने, हिँड्ने, खाने, खेल्ने जस्ता जीवनोपयोगी ज्ञान एवं सीपहरू सबैभन्दा बढी आमाबुबा र परिवारबाट सिक्छ । अबोध बालक काँचो माटोजस्तै हुन्छ । परिवारले जस्तो बनाउन प्रयास गर्छ, बालबालिका त्यस्तै बन्छन् । राम्रो संस्कार, नैतिक शिक्षा सिकाए बालकले त्यही सिक्छ, नसिकाए अरू नै सिक्छ । आमाबुबाले सिकाएको कुरा क्यामेराले जस्तै उसको दिमागले कैद गर्छ । जुन घरमा अनुशासन हुन्छ, त्यो घरको बालकले सानैदेखि अनुशासनमा रहेर काम गर्न सिक्छ । 

अभिभावक, शिक्षक मिलेर सानैदेखि बालबालिकालाई जेब्राक्रसिङबाट सडक पार गर्न, सडकपेटीबाट मात्रै हिँड्न, अशक्तहरूलाई सक्दो मद्दत गर्न, चकलेटका खोल सडकमा नफ्याँक्न, जताततै नथुक्न, अरूको चित्त नदुखाउन, अरूप्रति संवेदनशील हुन, कुलतमा नफस्न, रूखबिरुवा जोगाउन सिकायौँ भने उनीहरूमा ज्ञान, सीपको यो छाप पछिसम्म बसिरहन्छ । तर, बालबालिकालाई अनुशासित बनाउने वा सिकाउने विषय उनीहरूको स्वाभाविक विकासमा हस्तक्षेपको तहमा भने हुनुहुँदैन । अन्यथा, उनीहरूको सिर्जनशीलता समाप्त भएर जान्छ ।

अभिभावकले बिहान उठ्ने, हातमुख धुने, नास्ता गर्ने, आमाबुबालाई मद्दत गर्ने, कोठाको सरसफाइ, किताब, लुगाफाटाजस्ता बालबालिकाका आफ्ना काम उनीहरूलाई नै गर्न लगाउने हो भने त्यसले उनीहरूलाई स्वालम्बी मात्रै बनाइरहेको हुँदैन, ज्ञान तथा सीप सिक्ने नयाँ शिल्पसमेत सिकाइरहेको हुन्छ । हामीलाई अनुशासन भनेको जोरजबरजस्ती वा बलपूर्वक सिकिने विषय हो भन्ने लाग्छ, तर यो त स्वभावतः सहजतापूर्वक सिक्ने र विकसित हुँदै जाने विषय हो ।

विनाजोरबल सिकाइएको अनुशासनले नै बालबालिकालाई सभ्य, सुसंस्कृत र सिर्जनशील बनाउने हो ।  विद्यालयमा विभिन्न किसिमका विद्यार्थी भेटिन्छन् । इलेक्ट्रिक हुक्का तान्नेदेखि चुरोट पिउनेसम्मका क्रियाकलापमा संलग्न हुनेहरू पनि भेटिन्छन् । कोही ज्यादै रिसालु, कोही कसैले भनैकै नसुन्ने, कक्षाकोठाभित्रै पनि आफूलाई मन लागेको गर्न खोज्ने खालका समेत हुन्छन् ।

अभिभावकलाई बोलाएर बुझ्दा ती बालबालिकामा घरदेखि नै समस्या देखिन्छ । बुबा विदेश भएका र आमा एक्लैले हुर्काएका बालबालिकाले आमालाई नटेर्ने गरेको देखिएको छ । जसको घरमा झैझगडा भइरहन्छ, ती परिवारका बालबालिका पनि अक्सर झगडालु हुने गरेका छन् । आमा नभएका वा आमाबुबाको उचित पालनपोषण, मायाप्रेममा हुर्कन नपाएका धेरैजसो बालबालिकाको स्वभाव रुखो पाइने गरेको छ । घरमा झैझगडा भइरहने विद्यार्थीले पढाइमा ध्यान दिन सक्दैनन् । पढाइ बिग्रँदा उल्टै घरबाट थप नराम्रो व्यवहार झेल्न बाध्य हुन्छन् । त्यसले उनीहरूलाई थप निराश बनाउँछ । 

विद्यार्थी स्कुल गइरहेको छ, कक्षाहरू लिइरहेको छ भन्दैमा उसले राम्ररी पढिरहेको छ भन्न सकिँदैन । घरको वातावरणले स्कुल वा अनलाइन कक्षामै समेत असर गरिरहेको हुन्छ । ऊ एकाग्र भएर बस्न सक्दैन । कतिवेला घरबाट अभिभावक आउँछन् र आफ्नो बारेमा शिक्षकलाई गुनासो गर्छन् भन्ने डर सधैँ उसलाई हुन्छ । यही कारण अलि बुझ्ने भइसकेका कतिपय विद्यार्थी आफ्ना अभिभावक स्कुल गएर वा अनलाइनबाटै पनि शिक्षकलाई भेटेको, आफ्ना बारेमा कुरा गरेको मन पराउँदैनन् । यसर्थ, अभिभावकले आफ्ना नानीबाबुलाई लिएर गुनासो गर्ने भन्दा पनि राम्रा काम गर्न प्रोत्साहित गरेर उनीहरूलाई अनुशासित बनाउन सिक्नु जरुरी छ । हामीमा अनुशासन सिकाउने अभ्यास÷शैली गलत छ, तरिका बदल्न ढिला भइसकेको छ । 

साना बालबालिकालाई कराएर, गाली गरेर, पिटेर, झम्टेर काम लगाउनुभन्दा माया गरेर लगाउँदा झनै राम्ररी गर्छन् । बालबालिकासँग झर्किंदाभन्दा पनि मायाप्रेम जताउँदा अनुशासनको विकास हुन्छ । घरमा शान्ति छाउँछ । तिमीले यो काम गर्न सक्दैनौ वा तिमीले गरेको यो काम राम्रो छैन भन्नुभन्दा पनि कति राम्रोसँग गरेको तर योभन्दा पनि राम्रो बनाउने क्षमता तिमीसँग छ भन्दा उनीहरूमा सकारात्मक असर पर्छ । अर्काेपटक उनीहरूले पहिलेभन्दा राम्रो गरेर देखाउँछन् ।

उनीहरूलाई घरमा भइरहने सबैखाले क्रियाकलापमा संलग्न गराइरहनुपर्छ । उमेरअनुसार सानातिना काममा लगाउने गर्नुपर्छ । सानैदेखि घरका समस्या बुझ्ने विद्यार्थी बढी मिहिनेती देखिएका छन् । नचाहिँदो खर्च गर्दैनन् । आमाबुबाका दुःख–पीडा बुझ्छन् । आफू भविष्यमा ठूलो मान्छे बन्ने सपना मात्रै देख्दैनन्, कतिपयले सपना साकार पार्न कडा मिहिनेतसमेत गर्छन् ।

अहिले गाउँदेखि सहरसम्मका अधिकांश अभिभावक नै मोबाइलको पर्दामा औँला चलाइरहेका भेटिन्छन् । अनलाइन पढ्ने विद्यार्थीका कोठाबाट टेलिभिजन चलिरहेको, अभिभावक बोलेको, कराएको आवाजहरू जोडजोडले सुनिने गर्छ । विद्यार्थीहरू पढिरहेको कोठा शान्त भए मात्रै उनीहरूको ध्यान पढाइमा हुन्छ ।

लकडाउनमा घरभित्रै बस्नुपर्ने बाध्यताका कारण धेरैजसो अभिभावक नै मोबाइलमा भुल्ने गरेका देखिन्छन् । केटाकेटीलाई पढ भनेर आफू एकातिर लागेपछि बालबालिका के गर्दै छन् भन्ने अत्तोपत्तोसमेत कतिपय अभिभावकलाई हुँदैन । अभिभावक नै लामो समयसम्म टिकटक, म्यासेन्जर, फेसबुकमा व्यस्त भएपछि केटाकेटीहरू पनि जे गर्न पनि स्वतन्त्र हुने भए । उनीहरू इन्टरनेटको डरलाग्दो दुनियाँमा जुनकुनै वेला भासिन सक्ने जोखिम डरलाग्दो छ । 

हामीलाई अनुशासन भनेको जोरजबरजस्ती वा बलपूर्वक सिकिने विषय हो भन्ने लाग्छ, तर यो त स्वभावतः सहजतापूर्वक सिक्ने र विकसित हुँदै जाने विषय हो । विनाजोरबल सिकाइएको अनुशासनले नै बालबालिकालाई सभ्य, सुसंस्कृत र सिर्जनशील बनाउने हो ।
 

खेल्ने, दौडिने, घुम्ने, साथीहरूसँग रमाउने उमेरका विद्यार्थी लामो समयदेखि घरभित्र बन्दीसरह जीवन बिताइरहेका छन् । यसले बालबालिकाहरूसमेत डिप्रेसनको सिकार हुन सक्ने अध्ययनहरूले देखाइरहेका छन् । मोबाइलको सानो पर्दामा ५–६ घन्टा एकोहोरो हेरिरहँदा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । 

यो समय आफ्ना केटाकेटीलाई आफूसँगै भान्सामा प्रवेश गराई खानाका परिकार पकाउन सिकाउँदा उनीहरूको स्वास्थ्यमा पनि फाइदा पुग्ने र जीवनपयोगी नयाँ सीप पनि सिक्ने हुन्छ । खाना बनाउन प्रयोग हुने विभिन्न थरीका मसला, अन्न, तरकारी, फलफूललगायतको नाम, रङ, स्वाद तथा पोषक तत्वका बारेमा समेत थाहा पाउँछन् । यस्ता खाद्यसामग्री किन्न लाग्ने खर्चका बारेमा समेत जानकारी पाउँदा खाना फाल्ने बानीमा सुधार हुन सक्छ । वर्षौंदेखि स्कुलबाट विद्यार्थीहरूले कक्षा पास गराउने घोकन्ते शिक्षा मात्रै पाइरहेको सन्दर्भमा अहिलेको समयलाई अभिभावकले जीवनोपयोगी सीप र ज्ञानमा आफ्ना बालबालिकालाई लगाएर यो संकटको घडीको उपयोग गर्न सक्छन् ।

बालबालिकाको पहिलो शिक्षालय उसको घर नै हो । सानोमा म ठूलो भएर आमाबुबाजस्तै बन्छु भन्ने विद्यार्थी स्कुल जान थालेपछि शिक्षकजस्तै बन्छु भन्न थाल्छ । जापानको शिक्षा नीतिअनुसार विद्यार्थीलाई ज्ञानभन्दा पहिले संस्कार सिकाउनुपर्छ । जापानका विद्यालयमा कक्षा ४ सम्मका विद्यार्थीको कुनै परीक्षा नै लिइँदैन ।

विडम्बना ! नेपालमा अनलाइन सिकाइमा पनि ४ कक्षामा पढ्ने विद्यार्थीले वर्षमा आठपटकसम्म परीक्षा दिन लगाइन्छ । कक्षा १ मा भर्ना पाउन इन्ट्रान्स पास गर्नुपर्छ, आठवटा किताब किन्नैपर्छ । १६ वर्षको उमेरमा विद्यालय तहको पढाइ सकिने बखत त्यो पनि एकपटक मात्र परीक्षा लिने फिनल्यान्डको शिक्षालाई विश्वकै राम्रो शिक्षाको रूपमा लिइन्छ । हामीले शिक्षा लिने र दिने पद्धतिमा व्यापक सुधार गर्न ढिला भइसकेको छ । 

म बस्ने घरअगाडि एउटा किराना पसल छ । पसलभित्र चिया पनि बन्ने गर्छ । भर्खरका अल्लारे केटाकेटी चियासँगै, चुरोट पिउँदै घन्टौँसम्म त्यहाँ पब्जी खेल्दै बसिरहेका हुन्छन् । यस्तो परिवेशबाट उनीहरूले के सिकिरहेका हुन्छन् ? यो आमपरिदृश्य हो । अपवादबाहेक बालबालिकाहरूलाई बनाउने तथा बिगार्ने जिम्मेवारी घरमा आमाबुबा र स्कुलमा शिक्षकहरूको हुन्छ । यसलाई समयमै मनन गर्न सके मात्र हाम्रा बालबालिका असल हुनेछन् ।
(भट्ट अरुणिमा सेकेन्डरी  स्कुल, बौद्धकी शिक्षक हुन्)