१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा खाद्यान्न संकट, पूर्वमन्त्री र सांसदले पुर्‍याए राहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:o६:oo

हिमाली जिल्ला मनाङमा खाद्यान्न संकट हुने संकेत देखिएको छ । यातायात अवरुद्ध भएर मनाङमा खाद्यान्नलगायत ढुवानी नभएपछि मनाङको जनजीवन प्रभावित भएको छ । 

गत १ असारको बाढीपहिरोले मनाङ जाने एक मात्र बेसीसहर—चामे सडक अवरुद्ध भएसँगै खाद्यसंकट हुने संकेत देखिएको हो । डेढ महिनादेखि मनाङमा खाद्यान्न हेलिकोप्टरमार्फत पु¥याइएको छ । यातायात बन्द भएपछि मनाङमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री लैजान पनि हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङवासीको बाध्यता छ । 

मनाङमा बाढीले क्षतविक्षत बनाएको सडक निर्माण हुन समय लाग्ने भएसँगै खाद्यान्न संकट हुने स्थानीयको अनुमान छ । १ असारको बाढीपहिरोका कारण मनाङ जिल्लामा विद्युत्, सञ्चार र यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको मनाङ चामेकी स्थानीय सुशीला लामाले बताइन् । उनले भनिन्, ‘सडक अवरुद्ध हुँदा निकट भविष्यमै जिल्लामा खाद्यान्न संकट हुन्छ भन्ने चिन्ता छ । बाढीका कारण चामेबाट खाङसारसम्मको सडकका विभिन्न खण्ड भासिएको छ भने केही ठाउँमा सडक नै बगाएको छ ।’

हिमालपारिको जिल्ला भनेर चिनिने देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य मनाङमा बाढीपहिरो रोकथामका लागि दीर्घकालीन समाधानको उपाय गर्न स्थानीयले सरकारसँग मागसमेत गरेका छन् । सरकारले मनाङ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुने गरी विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । 

मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले आफू निरन्तर बाढी प्रभावित क्षेत्रमा नागरिकलाई राहत वितरण र उद्धारमा खटिएको बताए । उनले भने, ‘बाढीले नासों गाउँपालिकामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पु¥याएको छ । बाढीपहिरोले गाउँपालिकाको कार्यालय बगाएको छ भने सडक क्षतविक्षत हुँदा स्थानीय एक गाउँबाट अर्को गाउँ जान पाएका छैनन् ।’ 

मनसुन अझै सक्रिय हुने भएकाले गाउँपालिकाको ताल र धारापानी क्षेत्र बाढीपहिरोको जोखिममा छ । मनाङमा खाद्यसंकट टार्नका लागि पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङसहित संघीय सांसद कर्म घले र गण्डकी प्रदेश सांसद चिन्ताबहादुर घलेले मनाङका चार स्थानीय तहमा आइतबार राहत पु¥याएका छन् । 

पूर्वराज्यमन्त्री गुरुङ, सांसदद्वय घलेले निजी ३० लाखभन्दा बढी लगानीमा मनाङका चारवटै स्थानीय तहका नागरिकलाई पुग्ने गरी ४१ हजार केजी खाद्यान्न सामग्री वितरण गरेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । आइतबार माथिल्लो मनाङको मनाङ ङिस्याङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत दुई ट्रिप राहत पु¥याइएको छ । 

आइतबार नासों गाउँपालिका– १ तालका लागि उडान भरेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण बीचबाटोबाटै लमजुङको बेंसीसहर फर्किएको थियो । आइतबार पु¥याउन नसकिएको राहत सोमबार प्रभावित क्षेत्रमा पु¥याइने पूर्वराज्यमन्त्री गुरुङका स्वकीय सचिव सोनाम लामाले बताए । पूर्वराज्यमन्त्री गुरुङले यसअघि बाढी प्रभावित क्षेत्र ताल, धारापानी र ओडार गाउँमा खाद्यान्न र सोलारबत्ती वितरण गरेका थिए । 
 

ad
ad