मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. विकेश आचार्य
गणेश लम्साल विराटनगर
२०७८ श्रावण १८ सोमबार १२:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वाञ्चल विश्वविद्यालयको बेथिति : मापदण्ड नपुगेका व्यक्तिलाई अस्पताल निर्देशकमा गुपचुप पदस्थापन गराइँदै

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण १८ सोमबार १२:४०:००

पूर्वाञ्चल विश्वविद्यालयमा मापदण्ड नपुगेका शिक्षण अस्पतालका निर्देशकलाई नियुक्ति गरेर पदस्थापना गराउन लागिएको छ। मोरङको  गोठगाउँस्थित  पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको एक सय शय्याको शिक्षण अस्पतालका लागि  उपकुलपति प्राडा यादव कोइरालाको दबाबमा   मापदण्ड नपुगेका  डा. विकेश आचार्यलाई निर्देशक पदमा नियुक्ति गरेर सुटुक्क पदस्थापना गराउन लागिएको हो। 

उपकुलपति कोइरालाको दबाबमा छनाेट समितिको सिफारिसमा विश्वविद्यालय कार्यकारिणी समितिले १५ साउनमा मापदण्ड नपुगेका आचार्यलाई अस्पताल निर्देशकमा नियुक्त गरेको हो। 

उनलाई नियुक्त गरेको सूचना सार्वजनिक नगरीकनै उपकुलपति कोइरालाको निर्देशनमा आजै  सोमबार निर्देशक आचार्यलाई पदस्थापना गराउन तयारी भरहेको विश्वविद्यालय स्रोतले जनाएको छ।   

मेडिकल कलेज सञ्चालन गर्ने तयारीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल निर्देशकका लागि उपप्राध्यापकसरहको योग्यता आवश्यक  पर्दछ। तर, कार्यकारिणी समितिले उक्त योग्यता नपुगेका आचार्यलाई सुटुक्क   उपकुलपति कोइरालाको निर्देशनमा नियुक्त गरेको कर्मचारीहरूको आरोप छ। उपकुलपति कोइरालाले मापदण्ड मिचेर आचार्यलाई नियुक्ति गराउन  कार्यकारिणी समितिलाई पनि गुमराहमा राखेकाे बताइएको छ। 

स्रोतका अनुसार उपकुलपति कोइरालाले अन्तिममा कार्यकारिणी समितिका कसैलाई थाहा नदिई एकलौटी ढंगले छनाेटका मापदण्ड बनाउन लगाएर अस्पताल निर्देशकमा आचार्यलाई नियुक्ति गराएका थिए। स्रोतले भन्यो,  ‘छनाेट समितिका सदस्यहरूलाई उपकुलपति  कोइरालाले आवेदकहरूको कुनै कागजात छानबिन गर्न नदिई केही घन्टामै सिफारिस गर्न बाध्य पारेका हुन्। यसबारे कार्यकारिणी समितिका अन्य सदस्यहरूलाई जानकारी नै  भएन।’

कार्यसमितिका केही पदाधिकारीले यस विषयमा चासो राख्दा उपकुलपति  कोइरालाले  नियुक्तिको जिम्मा छनाेट समितिको भएको र मुद्दा परे आफूहरू होइन, छनाेट समितिका सदस्यहरू नै जिम्मेवार हुने  बताउने गरेका छन्। उपकुलपति कोइरालाले सहप्राध्यापकस्तरका अन्य प्रबल दाबेदार प्रतिस्पर्धीहरू र विश्वविद्यालयमै कार्यरत प्राज्ञिक पद भएका प्रतिस्पर्धीहरूलाई समेत पन्छाएर एकलौटी रूपले आचार्यलाई नियुक्त गराएका हुन्।   

विश्वविद्यालयले १२ असोज ०७७ मा दुई वर्ष सेवा करारका लागि एकजना निर्देशक माग गर्दै  विज्ञापन प्रकाशित गरेको थियो। प्रकाशित विज्ञापनमा निर्देशकको योग्यता चिकित्साशास्त्रमा एमडी वा एमएस उत्तीर्ण गरी मेडिकल काउन्सिलमा दर्ता भई उपप्राध्यापकसरहको अनुभव भएको र चिकित्सा महाविद्यालयसम्बन्धी प्रशासनको अनुभव भएको उल्लेख छ। 

तर, नियुक्त गरिएका निर्देशक आचार्यले तोकिएको योग्यता पूरा नगरेको र फर्जी कागजातहरू पेस गरेर नियुक्ति लिएको कर्मचारी स्रोतको छ। यसैले कर्मचारीहरूले योग्यताका कागजातहरू सार्वजनिक गरेर छानबिन गरिनुपर्ने माग गरेका छन्।  

विश्वविद्यालय कर्मचारी स्रोतका अनुसार विज्ञापन गर्दा न्यूनतम उपप्राध्यापक तहको योग्यता माग गरिएकोमा नियुक्त गरिएका निर्देशक आचार्यले कुनै पनि विश्वविद्यालयबाट   उक्त पद प्राप्त गरेका छैनन्। चीनबाट प्याथोलोजीमा एमडी गरेका  आचार्यले सहिद गंगालाल अस्पताल, कोसी अञ्चल अस्पताल अनि निजी प्राक्टिसबाहेक कुनै प्राज्ञिक अनुभव हासिल गरेका छैनन्। 

उनी पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल निर्देशकमा  तीन वर्ष कांग्रेस कोटाबाट ठाडो तोकआदेशमा  नियुक्त भएका थिए। आचार्यले आफ्नो निर्देशनमा एक सय शय्याको अस्पताल प्रभावकारी ढंगले सञ्चालन गराउन नसक्दा सुविधासम्पन्न भएर पनि अझै पूर्वाञ्चल विश्वविलयको गोठगाउँस्थित अस्पताल गुमनाम अवस्थामै रहेको छ।  अस्पतालले  वर्षको पाँच करोडभन्दा बढी खर्च हुँदा मुस्किलले ३४–३५ लाख मात्र आम्दानी  गरेको छ। 

प्रमाणपत्र सार्वजनिक गर्न माग 
मापदण्डविपरीत अयोग्य व्यक्तिलाई उपकुलपति कोइरालाको निर्देशनमा अस्पताल निर्देशकमा नियुक्त गरेको जानकारी पाएपछि उनको प्रमाणपत्रसहित नियुक्ति सार्वजनिक गर्न माग गर्दै कर्मचारीहरूले विश्वविद्यालय प्रशासनमा सूचनाको हक प्रयोग गर्दै कागजात  माग गरेका छन्।  उपकुलपति कोइरालाले चाहिँ छनाेट समितिको सिफारिसअनुसार आफूहरूले आचार्यलाई नियुक्त गरेकाले कुनै अपारदर्शी काम नभएको दाबी गरेका छन्। 

विश्वविद्यालयका केन्द्रीय कार्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले अस्पताल निर्देशकको नियुक्तिको आधिकारिताबारे सूचना माग गर्दै निवेदन दर्ता भएको, तर सम्बन्धित निकायबाट  आधिकारिक कागजात प्राप्त भइनसकेको बताए।  

यता नियुक्ति पाएका निर्देशक विकेश आचार्यले चाहिँ आफूले प्रकाशित सूचनाअनुसार मापदण्ड पुगेका सबै कागजातसहित आवेदन गरेको र सोहीअनुसार कार्यकारिणी समितिले नियुक्त गरेको दाबी गरे। डा. आचार्यले भने,  ‘म पहिले पनि अस्पताल सञ्चालन गरिसकेको सफल अनुभव भएको व्यक्ति  हुँ र सबै प्रक्रिया पुर्‍याएर आवेदन गरेपछि फेरि अवसर पाएको छु, कसैलाई आपत्ति लाग्छ भने उनीहरूले नै प्रमाण पुर्‍याउनु ठीक हुन्छ।’