मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १ शुक्रबार
  • Friday, 17 September, 2021
सम्राट आचार्य
२०७८ श्रावण १८ सोमबार ११:३४:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सामाजिक सञ्जालमा बालबालिका

Read Time : > 6 मिनेट
सम्राट आचार्य
२०७८ श्रावण १८ सोमबार ११:३४:००

सामाजिक सञ्जाल पछिल्लो दशकको एउटा मुख्य उपलब्धि हो । व्यक्तिगत सन्देश छिटो आदान–प्रदानका लागि बनाइएका माध्यम हुँदै आज हामी बृहत् सामाजिक सञ्जालसम्म आइपुगेका छौँ । सन् २०२१ को सुरुवातमा प्रकाशित अनुसन्धानअनुसार हाल विश्वभरका ५३.६ प्रतिशत अर्थात् तीन अर्ब ९६ करोड मानिस सामाजिक सञ्जालमा छन् । यो संख्या सन् २०१५ को दाँजोमा झन्डै दोब्बर हो ।

हाल सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल फेसबुक हो । युट्युब, इन्स्टाग्राम, ट्विटर, टिकटक र लिंकडेनका पनि धेरै प्रयोगकर्ता छन् । हरेक सामाजिक सञ्जालका आ–आफ्नै विशेषता भएकाले यिनको प्रयोग विश्वभरि एकैनास छैन । उदाहरणका लागि, सन् २०१९–२०२० सम्मको एक वर्षे अन्तरालमा एसिया र अफ्रिकामा सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता थपिएका छन् भने युरोप र अमेरिकामा सबैभन्दा कम । उक्त तथ्यांक डेटा रिपोर्टल नामक वेबसाइटमा उपलब्ध छ । 

मूलतः हाल बजारमा रहेका सामाजिक सञ्जाललाई व्यावसायिक र व्यक्तिगत प्रयोजनका आधारमा वर्गीकरण गर्न सकिन्छ । जस्तै– टिकटक, फेसबुक र इन्स्टाग्राममा अधिकांश व्यक्तिगत प्रयोगकर्ता छन् भने लिंकडेन र युट्युबमा व्यावसायिक सामग्री बढी छन् । यद्यपि, व्यक्तिगत प्रयोजनका सामाजिक सञ्जालमा पनि व्यावसायिक प्रयोगकर्ताको उपस्थिति बढ्दो छ । यस लेखमा नेपालमा बढी मात्रामा प्रयोग हुने सामाजिक सञ्जाल, तिनका व्यावसायिक आधार तथा तिनले व्यक्तिगत र सामाजिक तहमा पार्ने असर र सुरक्षा विधिका बारेमा चर्चा गरिएको छ । 

नेपालमा कस्ता सामाजिक सञ्जालको प्रयोग बढी हुन्छ ?
स्ट्याट काउन्टर नामक वेबसाइटअनुसार नेपालमा बढी प्रयोग हुने सामाजिक सञ्जालमा क्रमशः फेसबुक (९१.२१ प्रतिशत), युट्युब, ट्विटर, पिनर्टेस्ट, इन्स्टाग्राम र लिंकडेन रहेका छन् । खाता खोल्न र प्रयोग गर्न सजिलो, आफ्ना कुरा असीमित पोस्ट गर्न पाइने, कलको सुविधा भएको र तुलनात्मक रूपमा कम डाटा खपत गर्ने एप भएकाले फेसबुकका अरू सञ्जालभन्दा कैयौँ गुणा बढी प्रयोगकर्ता छन् ।

उच्च गतिका इन्टरनेटमा नेपालीको पहुँच बढेसँगै युट्युबको प्रयोग पनि आकासिँदो छ । जसले गर्दा मूलधारे मिडियाहरूले समेत आफ्ना सामग्री युट्युबमा प्रसारण गर्न थालेका छन् । अझ भन्दा जोकोहीले सहजै भिडियो प्रसारण गर्न मिल्ने भएकाले युट्युबको प्रयोग बढ्दो छ । ट्विटरमा तुलनात्मक रूपमा पठित, बुद्धि विलास गर्न रुचाउने र कुलीन वर्गका मानिसको उपस्थिति ज्यादा छ ।

इन्स्टामा विशेषतः सेलेब्रिटी र तिनका अनुयायीहरू छाएका छन् । अर्थात्, सीधा भन्दा सुन्दर तस्बिरहरूका पारखी इन्स्टाग्राम रुचाउँछन् । यी सबै सञ्जालभन्दा पुरानो तर नेपालमा सबैभन्दा कम प्रयोग हुने सञ्जाल हो, लिंकडेन । लिंकडेनमा विशेषगरी व्यावसायिक मानिसहरू हुन्छन् । यी सञ्जालका अलवा भाइबर, इमो र ह्वाट्सएपको प्रयोग पनि नेपालमा बाक्लै छ । विशेषगरी, खाडी मुलुकहरूमा फेसबुक कल निषेधित गरिएकाले आफन्तसँग कुराकानी गर्न र सामाजिक सञ्जालबाट अलि टाढा रही सीमित व्यक्तिसँग मात्र सन्देश आदान–प्रदान गर्न यी एप प्रयोग भएको पाइन्छ । युवापुस्ता र सेलेब्रिटीहरूमा छोटो मनोरञ्जनात्मक भिडियोका लागि टिकटकको आकर्षण पनि चुलिँदै छ । सहरी क्षेत्रका युवायुवतीले स्न्यापच्याट र टिन्डर पनि प्रयोग गर्ने गरेका छन् ।
 
सामाजिक सञ्जालका व्यावसायिक आधार 
फेसबुकको वार्षिक आम्दानी कति होला ? सन् २०२० मा मात्र फेसबुकको आम्दानी ८६ अर्ब अमेरिकी डलर हाराहारी रह्यो । यो रकम नेपालको आर्थिक वर्ष ०७८/७९ को बजेटभन्दा ६ गुणा बढी हो । यस्तै तथ्यांक अरू सामाजिक सञ्जालका पनि छन् । आखिर हामीले निःशुल्क प्रयोग गर्ने यस्ता सामाजिक सञ्जालले कसरी कमाउँछन् यत्तिको पैसा ? अझै कतिपय सञ्जालले त भिडियो र पोस्टबापत पैसा पनि दिन्छन् ।

पछिल्लो समयमा नेपालमा युट्युबमा भिडियो राखेर पैसा कमाउनेको होडबाजी नै देखिन्छ । भनिन्छ, यदि व्यापारमा तिमी सामान खरिद नगरी प्रयोग गर्छाै भने तिमी नै सामान हौ । अर्थात्, सामाजिक सञ्जालका लागि हामी उसका प्रयोगकर्ता मात्र नभई उसले बेच्ने सामान पनि हाैँ । यहाँ बेच्नुको अर्थ अरू बजारु सामान बेचे जस्तो नभई हाम्रा डाटाको प्रयोग र बेचबिखन हो । 

१८ वर्षमुनिका बालबालिकाहरूको सामाजिक सञ्जालमा उपस्थिति ह्वात्तै बढेको छ । यो अत्यन्तै डरलाग्दो विषय हो । एउटा स्कुले छात्राको फेसबुकमा पाँच हजारभन्दा बढी साथी हुनु के स्वाभाविक हो ?

सामाजिक सञ्जालले मुख्यतः विज्ञापनबाटै आम्दानी गर्छन् । यस्ता विज्ञापनमा अनलाइन पसलदेखि चुनावी प्रचार–प्रसारसम्म रहेका छन् । जस्तै– फेसबुक, इन्स्टाग्राम, लिंकडेन र ट्विटरमा सञ्जालका साथीहरूले गरेका पोस्टका बीचमा आउने प्रायोजित वा प्रवर्तित पोस्टहरू विज्ञापन हुन् । युट्युबमा भिडियोको बीच–बीचमा पनि विज्ञापनहरू आउँछन् । सञ्जालमा प्रायोजित यस्ता विज्ञापनलाई प्रभावकारी बनाउन सामाजिक सञ्जालले लक्षित वर्गको छनोट गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि, काठमाडौंको कुनै प्लस–टु कलेजको विज्ञापन नेपालकै सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र सान्दर्भिक हुन्छ । अझ एसइई दिएर कलेज खोजिरहेका विद्यार्थीहरूको सामाजिक सञ्जालमा विज्ञापन गर्न सके झनै प्रभावकारी हुने भयो । यसरी कुनै पनि विज्ञापनका लागि लक्षित वर्गको पहिचान गर्न सञ्जाल प्रयोगकर्ताको डाटा महत्वपूर्ण हन्छ । यस्ता डाटामा मुख्यगरी सञ्जाल प्रयोगकर्ताको स्थान, उमेर, लिंग, धर्म, पेसा, रहनसहन, रुचि, अरुचि, साथी, साथीहरूसँगको सम्बन्ध र कुराकानी, राजनीतिक विचारलगायत थुप्रै विषय पर्छन् ।

कुनै पनि सामाजिक सञ्जालसँग तपाईंको के कस्ता डाटा छन् भन्नेबारे जानकारीका लागि इच्छुक हुनुहुन्छ भने उनीहरूसँग तपाईं सूचना माग गर्न पनि सक्नुहुन्छ । यो हरेक सञ्जाल प्रयोगकर्ताको अधिकार हो । प्रत्येक सञ्जाल प्रयोगकर्ताका यस्ता करोडौँ डाटा प्रशोधन गर्न मानिसबाट सम्भव नहुनाले कृत्रिम बौद्धिकता (एआई)युक्त कम्प्युटरको प्रयोग गरिन्छ । सञ्जालसँग भएका प्रयोगकर्ताको डाटा गोप्य राख्नुपर्नेमा कतिपय सञ्जालले यस्ता डाटा अनधिकृत रूपमा व्यापारिक कम्पनीहरूलाई मोटो रकममा बेच्ने गरेको पाइएका छन् ।

सन् २०१९ मा फेसबुकले आफ्ना प्रयोगकर्ताको डाटा गोप्य नराखेको कसुरमा अमेरिकी सरकारलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिरेको थियो । हालै टिकटकले पनि अनधिकृत रूपमा प्रयोगकर्ताका गोप्य डाटा लिएको कसुरमा नौ करोड २० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ । आधिकारिक रूपमै किनबेच हुने डाटाको बजार मात्रै हेर्ने हो भने पनि डाटाको बजार भीमकाय हुँदै गएको छ । सन् २०२० मा यो बजार एक खर्ब ३८ अर्ब अमेरिकी डलरको रहेको र सन् २०२५ सम्ममा बढेर दुई खर्ब ३० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण छ । 

सामाजिक सञ्जालको प्रभाव 
सामाजिक सञ्जालका विज्ञापनलाई प्रभावकारी बनाउन र प्रयोगकर्ताको सञ्जालमा संलग्नता बढाउन कृत्रिम बौद्धिकता प्रयोग गरिएको हुन्छ । यस्ता प्रविधिले सर्वप्रथम प्रयोगकर्ताको डाटा प्रयोग गरेर प्रयोगकर्ताका रुचि जान्न कोसिस गर्छन् र प्रयोगकर्ताको रुचिअनुसारका पोस्ट, भिडियो र विज्ञापन देखाउँछन् । त्यसैले हामीले जस्तो पोस्टलाई लाइक, कमेन्ट, सेयर गर्छौं वा भिडियो हेर्छौं, त्यस्तै किसिमका पोस्ट, भिडियो र विज्ञापन धेरै आउँछन् । यसले हाम्रो सोचलाई फराकिलो बनाउनुको सट्टा थप संकुचित गराउने डर हुन्छ ।

सामाजिक सञ्जालमा सधैँ एकैनासका सामग्री देख्दा धेरै मानिसको सोच एकांगी हुँदै गएका प्रशस्तै उदाहरण छन् । सामाजिक सञ्जालका सामग्री हेरेर लहैलहैमा राजनीतिक विचार बनाएका मानिसहरूलाई लिन सकिन्छ । उनीहरूका सामाजिक सञ्जाल एकांगी सामग्रीले भरिएका हुन्छन् । फलस्वरूप उनीहरू अन्जानमा सञ्जालको कृत्रिम बौद्धिकताको नकारात्मक पक्षको सिकार भइराखेका हुन्छन् । यतिसम्म कि यिनीहरू कसैको पोस्ट पढ्न वा भिडियो हेर्नुअघि नै धारणा बनाउँछन् र नकारात्मक विचार र अफवाह फैलाउन उद्यत भइहाल्छन् । विगतमा यस्ता एकांगी सोच भएका मानिसको संख्या बढ्दै जाँदा समाजको शान्ति व्यवस्था नै पनि खतरामा परेका छन् । यस्तो नहोस् भन्नका लागि कृत्रिम बौद्धिकताको सुधारका लागि प्रशस्तै अनुसन्धान पनि भइरहेका छन् । 

सामाजिक सञ्जालहरू बालबालिकाको स्वस्थकर विकासका लागि अत्यन्तै हानिकारक छन् । अभिभावक र विद्यालयले पनि आफ्ना अबोध नानीबाबुहरू सामाजिक सञ्जालमा भुलेर लिएको क्षणिक आनन्दभन्दा उनीहरूको दीर्घकालीन हितमा सोचिदिनुस् ।

कोरोना महामारीका कारण धेरै विद्यालयले अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेका छन् । नेपालमा यसका लागि अधिकांश विद्यार्थीले फेसबुकको कल प्रयोग गरेका छन् । चलाउन सहज र तुलनात्मक रूपमा कलको गुणस्तर राम्रो भएकाले पनि फेसबुक रोजेको पाइन्छ । यही कारण १८ वर्षमुनिका बालबालिकाहरूको सामाजिक सञ्जालमा उपस्थिति ह्वात्तै बढेको छ । यो अत्यन्तै डरलाग्दो विषय हो । एउटा स्कुले छात्राको फेसबुकमा पाँच हजारभन्दा बढी साथी हुनु के स्वाभाविक हो ? यी कलिला मस्तिष्कलाई सामाजिक सञ्जालमा न त कस्ता साथी बनाउने भन्ने ज्ञान हुन्छ, न सञ्जालमा आउने सामग्रीको नियत छुट्याउने परिपक्वता नै । यसरी अन्जानमा सानै उमेरदेखि सामाजिक सञ्जालका अँध्यारा पक्षको सिकार भएका बालबालिकाबाट उज्यालो भविष्यको अपेक्षा कसरी गर्न सकिएला र ?

 यसका अलावा सामाजिक सञ्जालमा गलत मानिस वा ह्याकरलाई साथी बनाउँदाको परिणाम त झनै अकल्पनीय हुन्छ । सामाजिक सञ्जालमा कमजोर युजरनेम र पासवर्ड राख्दा हुने साइबर खतरा भयानक छन् । ह्याकरहरूले पैसाका लागि ब्ल्याकमेल गर्ने, चरित्रहत्या गर्ने, गोप्य सूचना लिने, सामाजिक सञ्जाल खाता नै दुरुपयोग गर्ने जस्ता अपराध बढ्दै गएका छन् । 

सुरक्षाका उपाय
सामाजिक सञ्जालका यी नकारात्मक पक्षलाई चिरेर कसरी सञ्जालबाट लाभ लिन सक्छौँ त ? सबैभन्दा पहिला, हामीले सामाजिक सञ्जालमा बनाएका साथी, फलो गरेका व्यक्ति र पेज, अनि सब्स्क्राइब गरेका च्यानलहरू पुनरावलोकन गर्नुपर्छ । जानाजान व्यावसायिक रूपमा नकारात्मकता र अफवाह फैलाउने साथीलाई अनफ्रेन्ड र अनफलो गर्ने, व्यक्ति र पेजलाई अनफलो र अनलाइक गर्ने, अनि च्यानललाई अनसब्स्क्राइब गर्ने ।

अनावश्यक नकारात्मकता र अफवाह फैलाउने पोस्ट र भिडियोलाई लाइक, कमेन्ट र सेयर नगर्ने । सञ्जालका सामग्रीहरूको वैधानिकताका बारेमा बुझेर मात्र लाइक, कमेन्ट र सेयर गर्ने । सनसनीपूर्ण शीर्षक राखेर झुटा सामग्री प्रचार गर्नेलाई रिपोर्ट गर्ने । जस्तै– ‘कमेन्ट गर्नुहोस्, भाग्य चम्किन्छ’ जस्ता पोस्ट ! सञ्जालका कुनै साथीले नजानेर भ्रामक सामग्रीमा लाइक, कमेन्ट र सेयर गरेको भए उसलाई त्यस्ता सामग्रीबारे सचेत गराउने । यदि सूचित गरिएन भने उक्त व्यक्तिको सञ्जालका साथीको नाताले तपाईंको सञ्जालमा समेत त्यस्ता भ्रामक र गलत सामग्रीहरू आउँछन् । 

सन्देशमा आउने उपहार, अश्लील तस्बिरका लिंक आदि नखोली डिलिट गर्ने । यस्ता लिंक खोल्नेबित्तिकै तपाईंको खाता ह्याक भई मोबाइल, कम्प्युटर बिग्रिनेसमेत हुन्छ । यस किसिमका लिंक साथीकोबाट आएको भए तत्काल साथीलाई खबर गर्ने र अन्जान व्यक्तिबाट आएको भए तत्काल निजलाई सामाजिक सञ्जालमा रिपोर्ट गर्ने ।

कुनै व्यक्तिबाट खाता ह्याक गर्ने वा चरित्रहत्या गर्ने धम्की आएमा नआत्तिई सबभन्दा पहिला निजलाई आफ्नो सामाजिक सञ्जालबाट अनफ्रेन्ड गरेर ब्लक गर्ने, सञ्जालको पासवर्ड परिवर्तन गर्ने वा केही समयका लागि सञ्जालको खाता डिएक्टिभेट गर्ने र प्रहरी प्रशासनमा तत्काल खबर गर्ने । याद राख्नुहोस्, ह्याकर हो भन्ने थाहा पाएपछि निजसँग कुराकानी बिल्कुल नगर्नुस् र कुनै पनि हालतमा ह्याकरलाई पैसा नतिर्नुहोस् । यसो नगर्दा ह्याकरहरूले लामो समयसम्म सताइरहने गरेको पाइएको छ । 

कोरोना महामारीका कारण फेसबुक प्रयोग गरेका विद्यालयले तत्काल सन्देश मात्र आदान–प्रदान गर्न मिल्ने निःशुल्क व्यावसायिक एपहरू जस्तै– जुम, भाइबर र ह्वाट्सएप प्रयोग गर्ने । फेसबुक मेसेन्जर नै बाध्यकारी भए अभिभावक र विद्यालयले बालबालिकाका लागि फेसबुकमा खाता नखोली मेसेन्जर मात्र प्रयोग गर्न दिने । कुनै पनि सामाजिक सञ्जालको प्रयोग गर्न कानुनी उमेरहद नभए तापनि यो सामान्य ज्ञान र दूरदर्शिताको विषय हो ।

विकसित देशका पढेलेखेका तथा सामाजिक सञ्जाल र इन्टरनेट प्रविधिमा काम गर्ने मानिसहरूले आफ्ना १८ वर्षमुनिका बालबालिकालाई इन्टरनेटको अत्यावाश्यक प्रयोग मात्र गर्न दिन्छन् भने सामाजिक सञ्जालको प्रयोग त गर्नै दिँदैनन् भन्दा पनि हुन्छ । ती व्यक्तिले इन्टरनेटको दुनियाँ हामीले भन्दा कम बुझेका पक्कै नहोलान् । सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै हालै अमेरिकामा अभिभावकले प्रत्यक्ष निगरानी गर्न मिल्ने फेसबुक मेसेन्जर एप बजारमा आएको छ । साथै, बालबालिकाले चलाउन मिल्ने सामाजिक सञ्जालका एपहरू पनि विकास भइरहेका छन् । यस्ता एपले आफ्ना सामग्रीले बालबालिकामा पार्ने असरका बारेमा सूक्ष्म विश्लेषण गर्छन् र सुरक्षित लागेमा मात्र प्रसारण गर्छन् । 

हालका सामाजिक सञ्जालहरू बालबालिकाको स्वस्थकर विकासका लागि अत्यन्तै हानिकारक छन् । यस्तो संवेदनशील विषयमा नेपाल सरकारले ठोस कदम चालोस् । अभिभावक र विद्यालयहरूले पनि आफ्ना अबोध नानीबाबुहरू सामाजिक सञ्जालमा भुलेर लिएको क्षणिक आनन्दभन्दा उनीहरूको दीर्घकालीन हितमा सोचिदिनुस् । यस्तो संवेदनशील विषयमा नेपाल सरकारले ठोस कदम चालोस् । सचेत रहौँ, बृहत्तर हितका लागि प्रयोग हुनुपर्ने सामाजिक सञ्जाल ठीक ढंगले प्रयोग नगरेर कतै हामी एक अराजक समाज त निम्त्याइरहेका छैनौँ ? 

(अमेरिकास्थित न्युयोर्क विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका आचार्य आधुनिक विद्युत् ग्रिडको साइबर सुरक्षाबारे अनुसन्धान गर्छन्)