१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
कृष्ण रिजाल काठमाडौं
२o८१ बैशाख ३० आइतबार o९:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी लगानी : साना उद्योग धेरै, ठूला नगण्य

पाँच वर्षमा विदेशी लगानीका १३ सय साना उद्योगको लगानी स्वीकृति हुँदा ठूला उद्योग भने ५२ वटा मात्रै

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२२:oo

नेपालमा ठूलो विदेशी लगानीको आप्रवाह अत्यन्तै कम देखिएको छ । विदेशी लगानीकर्ताले मझौला र ठूला आकारका उद्योग नगण्य मात्रै खोल्ने गरेको देखिएको हो । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानीका साना उद्योगको दर्ता तुलनात्मक रूपमा धेरै देखिए पनि ठूला आकारका उद्योगको दर्ता भने नगण्य देखिएको छ ।

पछिल्ला पाँच वर्षयता विदेशी लगानीका ५२ ठूला उद्योग मात्रै दर्ता भएका छन् । जसमा कुल ७७ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएका छन् । जबकि यस अवधिमा विदेशी लगानीका १३ सय ४२ वटा साना उद्योग दर्ता भएका छन्, जसमा ६० अर्ब ६१ करोड ८८ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ । त्यस्तै, पाँच वर्षयता विदेशी लगानीका १ सय ५२ वटा मझौला उद्योग दर्ता भएका छन्, जसमा कुल २८ अर्ब ७९ लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएका छन् । 

औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका लघु तथा घरेलुबाहेकका उद्योग साना उद्योग हुन् । १५ करोड रुपैयाँभन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योग मझौला उद्योग हुन् । ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएका उद्योग ठूला उद्योग हुन् । हाल नेपालमा विदेशी लगानीका लागि न्यूनतम सीमा ५ करोड तोकिएको छ । अधिकतम लगानीका लागि भने सीमा निर्धारण गरिएको छैन । 

विभागको तथ्यांकले विदेशी लगानीका ठूला र मझौला उद्योग कम र साना उद्योग बढी आएको देखाउँछ । यद्यपि, लगानीका दृष्टिकोणले भने ठूला उद्योगमा आएको लगानी नै बढी देखिन्छ । पाँच वर्षयता दर्ता भएका विदेशी लगानीका ठूला उद्योगको तुलनामा साना उद्योग १२ सय ९० वटाले बढी छन् । तर, ती उद्योगमा आएको लगानी भने ठूला उद्योगमा आएको भन्दा १६ अर्ब ८७ करोडले कमी छ । 

अहिलेसम्मको ट्रेन्ड हेर्दा नेपालमा साना उद्योगहरूमा विदेशी लगानी बढी देखिएको उद्योग विभागका महानिर्देशक जिलाल भुसालले बताए । यद्यपि, ठूला उद्योगहरू पनि आइरहेको उनको भनाइ छ । ‘आउँदै नआएका होइनन्, होङ्शी, ह्वासिनलगायत सिमेन्ट उद्योग, जलविद्युत् र होटेलमा ठूला लगानी आएका उदाहरण छन्,’ उनले भने, ‘तर, संख्यात्मक रूपमा ठूला लगानी कम आएको देखिन्छ, यसको समीक्षा र विश्लेषण गर्न आवश्यक छ ।’

 विदेशी लगानी स्वीकृति घट्यो
कोभिड महामारीले समग्र अर्थतन्त्रसँगै नेपालमा वैदेशिक लगानीको आप्रवाहसमेत प्रभावित भएको छ । आर्थिक वर्ष ०७६/७७ मा विदेशी लगानीका उद्योगको दर्ता र लगानीको स्वीकृतिमा गिरावट आएको हो । आर्थिक वर्ष ०७७/७८ मा १ सय ८३ वटा उद्योगमा ३२ अर्ब २ करोड रुपैयाँबराबरको विदेशी लगानी आएको छ । अघिल्लो आव ०७६/७७ को तुलनामा विदेशी लगानी रहेका उद्योगको संख्या २ सय ५ वटाले कमी हो । लगानीका हिसाबले पनि ५ अर्ब ७८ करोडले कम हो ।

किन आउँदैनन्  ठूला विदेशी लगानी ?
नेपालमा उत्पादन लागत बढी भएको तथा नीतिगत स्थिरता नभएका कारण ठूला बहुराष्ट्रिय कम्पनीहरू नआएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं युनिलिभर नेपालका सञ्चालक रविभक्त श्रेष्ठ बताउँछन् । ‘नेपालमा मात्रै बजार सानो हुन्छ, खासगरी दुई ठूला छिमेकी भारत र चीनमा निर्यात गर्न पनि विभिन्न समस्या छन्, हाम्रो लागत नै बढी छ,’ उनले भने, ‘लागत घटाएर निर्यात बढाउन सक्ने नीति लिने हो भने ठूला लगानीकर्ता आउँछन् ।’

नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण तथा लगानीको प्रतिफल फिर्ता लैजाने विषयमा पनि विभिन्न अप्ठ्यारा रहेका कारण ठूलो लगानी कम आइरहेको उनको विश्लेषण छ । ‘हामीले बहुराष्ट्रिय कम्पनीहरूका तर्फबाट विभिन्न सुझाब दिएका छौँ,’ उनले भने, ‘ती सुझाबको सुनुवाइ भएर नीतिगत सुधार गर्ने हो भने यहीँ भएका बहुराष्ट्रिय कम्पनीले लगानी थप्नेछन् भने ठूला–ठूला अरू विदेशी लगानी पनि आउनेछन् ।’ 

ठूला लगानीकर्ता सेयर खरिद, साझेदार र प्रविधिमार्फत भित्रिने गरेका कारण पनि तुलनात्मक रूपमा कम देखिएको हुन सक्ने विभागका महादिर्नेशक भुसाल बताउँछन् । ‘यद्यपि, हामीले दिएको छुट सुविधा तथा सेवा चित्त नबुझेर कम आएको पनि हुन सक्छ,’ उनले भने, ‘ठूला लगानीकर्ता संख्यात्मक रूपमा कम नै हुन्छन्, तर हामीले समीक्षा र विश्लेषण गरेर ठूला लगानी आकर्षण गर्ने नीति बनाउनुपर्छ ।’

ad
ad