मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २ शनिबार
  • Saturday, 18 September, 2021
नरेन्द्रजंग पिटर
२०७८ श्रावण १५ शुक्रबार १०:३६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महत्वपूर्ण गडबडी नीतिमा भयो कि नेतृत्वमा ?

Read Time : > 4 मिनेट
नरेन्द्रजंग पिटर
२०७८ श्रावण १५ शुक्रबार १०:३६:००

संसारका कुनै पनि निवर्तमान शासकले नगरेको पाखण्ड बालुवाटारदेखि बालकोटसम्म प्रदर्शन भयो । त्यो प्रहसनले सबैभन्दा बढी आहत नेपाली जनता भएका छन् ।

सडक र सामाजिक सञ्जालमा पोखिएका निवर्तमान प्रधानमन्त्रीका वारिसका भाव, भंगिमा र प्रवृत्तिले गाँज्दै जाँदा पार्टी र स्वयं अध्यक्ष ओलीकै राजनीतिक क्षमता र चातुर्यमाथि तमाम प्रश्न उठेका छन् । सत्य हमेसा तितो तर जीवन्त हुन्छ । क्रमशः गल्दै गएर उनको चट्टानी अडान नौनीझैँ पग्लँदै दोस्रो अध्यक्ष र माफीको स्तरमा पुगेको छ । २४ घन्टे अल्टिमेटम ‘नत्र चिसै पानीले नुहाउने’मा फेरिएको छ । पदार्थजसरी नै चेतनाको पनि ओरालो लाग्ने नियम हुन्छ । दम्भ र अहंकार बढेपछि चिप्लिइन्छ । औकात प्रस्टिँदै चाल, चरित्र र चेहरा उदांगिएको छ । ओलीको आत्मघाती भूमिकामा अहंकार नै प्रधान रह्यो । अहंकारका कारण आफैँले चलाएका शासनशस्त्र उनी आफैँमाथि बज्रिए । 

समस्या नीति कि नेतृत्वको ? : झन्डै दुईतिहाइको ‘कम्युनिस्ट’ सरकारको अंकगणित खुम्चिएर ८३ मा झर्‍यो । आखिर बाटो राम्रो र गाडी नयाँ भएर मात्रै हुँदैन, ड्राइभर पनि कुशलै आवश्यक हुन्छ । लगाम समाउनेबित्तिकै घोडाले घोडचढीलाई चिनेजस्तै स्थायी सत्ताले अहंकारी शासकलाई चिनिहाल्छ । शिखरमा पुगेको एमाले पार्टी हैसियत गुमाउँदै गएर औकात रक्षा गर्न नसकेपछि निर्मम समीक्षा गर्नुपर्थ्यो । 

नीति वा नेतृत्व गडबडी कहाँ भयो ? गडबड सिद्धान्त, विचारमा रह्यो कि अभ्यासमा रह्यो ? समस्या मूल नेतृत्वको कार्यशैली र व्यवस्थापनमै त छैन ? समस्या नीति र विधिमा भए त्यो फेर्नुपर्‍यो । होइन, नेतृत्वमा समस्या हो भने नेतृत्व फेर्नुपथ्र्यो । तर, अहंकार, आग्रह, आवेग र कुण्ठाले ऐना हेर्न दिँदैन । नक्कली शत्रु उभ्याएर मूल विषयलाई आवेग, उत्तेजना उराल्दै समर्थन लिन खोज्नु कमजोर नेतृत्वको प्रवृत्ति नै हो । 

जनताको बहुदलीय जनवाद (जबज)को कम्युनिस्ट आन्दोलनसँग कुनै साइनो थिएन । त्यहाँ उत्पीडित जनता मात्रै होइन, राजा, जमिनदार, दलाल पुँजीवाद, वर्गविरोधी सबै अटाउन सक्थे । वर्ग समन्वयको नाममा सबैलाई खुसी पार्ने विचारको अभ्यासमा लालसलाम कमरेड भन्दै पशुपतिमा जलारी र माडीमा सीताराम बनाएर चुच्चे नक्साको आवेग निकाल्नैपथ्र्याे । सिद्धान्तले दिशानिर्देशन नगरिएको राजनीतिको एउटै लक्ष्य हुन्छ, सत्ता । ‘राजनीति जोगी बन्न गरिएको हुँदैन’ भन्ने मूलमन्त्र भएपछि युवालाई उत्पादन, विचार, सिद्धान्त र आदर्शभन्दा आवेगी पाखुरे शक्ति वा भक्तमण्डलीमा फेरिँदै गयो । बुर्जुवा प्रजातान्त्रिक राजनीतिक संस्कृति पनि धान्न आवश्यक ठानिएन । जसकारण पछिल्लो समय बाँदरे प्रदर्शनको प्रहसन बनेर जबज सडकमा पटाक्षेप भयो । यो विरोधको नौलो अभ्यास नभई फेरिँदो राजनीतिक चरित्रको प्रतीक थियो ।

राजनीति नै व्यवसाय बनाएको दोस्रो तहको नेतृत्व अंशमा सकिने कि समग्रमा भन्ने चिन्तामा छ । पहिलो पुस्ताको आभामण्डलबाट उम्कन नसक्नु उसको मुख्य समस्या हो । राजनीतिक व्यवसायी बनेकाले अन्य पेसामा ऊ फर्कन पनि सक्दैन । आन्दोलनको आदर्शमा नहुर्केकाले सार्वजनिक अपिल गर्न सक्ने इच्छाशक्ति र नैतिकता पनि रहँदैन ।

उपलब्धिको रक्षा हुन नसकेपछि : सामन्तवाद आर्थिक अहंकारमा मात्रै हुँदैन, यो सांस्कृतिक श्रेष्ठतामा पनि देखिन सक्छ । आफूलाई चित्त नबुझ्ने कुनै पनि कुरालाई ध्वस्त गर्न कालान्तरमा त्यो भौतिक आक्रमणमै उत्रिन्छ । यद्यपि, सामन्तहरू महासामन्तसँग भने झुक्ने, लत्रिने, घुस्रिने, ताबेदारी गर्ने गर्छन् । लम्पटहरूको वर्गउत्थानबाट ‘ठुले’ बनेकाहरू त संसार मेरै हुकुममा चल्छ भन्ने सोच्छन् । हितअनुसारको सत्यको चाहना हुने गर्छ । समयको दबाब र परिस्थितिको मागले पार्टी र नेतृत्वलाई सोच, भूमिका, मित्र र विरोधी फेर्न बाध्य गराउँछ । नयाँ बन्न पुराना शक्तिलाई पनि नयाँ मुद्दा नै चाहिन्छ । इतिहासबाट एमालेले पाठ सिक्न सकेन । एमालेमा विश्वासको संकट झाँगिनुमा शक्ति केन्द्रीकरण र पार्टीभित्रै दुस्मनको खोजी मूल कारण थियो । अहिले एमालेमा लेमिङ सिन्ड्रोम (उत्तर अमेरिकी मुसा प्रजातिको लेमिङ बथान बढेपछि वा शक्ति बढेपछि सामूहिक आत्महत्या गर्न महासागरतिर हुल बाँधेर लाग्ने प्रवृत्ति) बढेको छ । सत्ता बहिर्गमनको पीडामा रहेका निवर्तमान प्रधानमन्त्रीको आदेशमा मञ्चित रमिता र तमासाले जो नांगो नुहाउँछ, त्यसले के निचोर्छ, के सुकाउँछ भन्ने भयो ।

संकटपूर्ण दोस्रो तह : राजनीति नै व्यवसाय बनाएको दोस्रो तहको नेतृत्व अंशमा सकिने कि समग्रमा भन्ने चिन्तामा छ । पहिलो पुस्ताको आभामण्डलबाट उम्कन नसक्नु उसको मुख्य समस्या हो । राजनीतिक व्यवसायी बनेकाले अन्य पेसामा ऊ फर्कन पनि सक्दैन । आन्दोलनको आदर्शमा नहुर्केकाले सार्वजनिक अपिल गर्न सक्ने इच्छाशक्ति र नैतिकता पनि रहँदैन । समाज र जनताले चाल, चरित्र र चेहराको अध्ययन गरिसकेको हुँदा पत्याउने आधार पनि बाँकी छैन । व्यक्तित्वको स्खलनसँगै राजनीतिक पुँजीको क्षयीकरण पनि साथसाथै भइरहेको हुन्छ ।

इतिहास जस्तो भए पनि वर्तमानको गञ्जागोलले हुने यस्तै नै हो । गुटको पछ्यौरीमा न्यानो खोज्नुले पछिल्लो कालखण्डमा विभाजित मूल नेतृत्वको समस्या समाधान गर्न दोस्रो र तेस्रो तहले समेत सक्रियता देखाए तापनि सुखद परिणाम भने निस्किएको छैन । एकले अर्कालाई पचाउने खेल भइरहँदा दोस्रो तह मौलिक भूमिकामा देखिनुको साटो आगोमा पेट्रोल छर्कंदै बस्यो । समय घर्किसकेको वेला गरिएका प्रयास चुत्थो विकल्प त हुन्छ, परिणाम भने दिन सक्दैन । जब बाढी आउँछ, त्यस्तो वेला बनाइने बाँधको कुनै अर्थ रहँदैन । प्रवृत्ति झाँगिँदै गर्दा मूल नेतृत्वको सेपमा हलक्क बढेको एमालेको दोस्रो तहले विधिको लगाम कस्न सक्दैनथ्यो । 

बिरुवाले जरो हाल्दा माली त खुसी हुन्छ, तर सहयोद्धा वा कार्यकर्ताले पार्टीमा जरो हाले शक्तिले या त आस र त्रासमा फसाउँछ, नत्र जरै काटिदिन्छ । एमालेमा भएको यही हो । नेतृत्वले कुन वेला हुत्याउने हो दोस्रो तहले पत्तै पाउँदैन । ज्ञान र शिक्षाका गुरुहरू आफ्ना विद्यार्थीले आफूलाई उछिनोस् भन्ने चाहन्छन्, तर राजनीतिमा मूल नेतृत्वले जोडीदार वा सक्षम कार्यकर्तालाई आसेपासे वा तल्लो दर्जामा मात्र राख्न खोज्छ । जब ओरालो यात्रा सुरु हुन्छ, आफ्नो असफलता कसको टाउकोमा फोर्ने भनेर लठैतलाई सडकमा र तर्कवाजलाई तर्क उत्पादनमा उतारिन्छ । 

प्रतिक्रियाको राजनीति : जब सिद्धान्तको राजनीति सकिन्छ, तब सुविधाको राजनीति सुरु भएर प्रतिक्रियामा देखा पर्छ । यसैकारण, कम्युनिस्टमा जति गाली–पण्डितहरू बुर्जुवा पार्टीमा सायदै हुने गर्छन् । बुर्जुवाहरूले कम्युनिस्टबाट जति सिके बुर्जुवाबाट संसारका कम्युनिस्टले उत्तिको सिक्न सकेनन् । उनीहरू या त सिद्धान्तरक्षाका नाममा जडतामा फसे, या व्यावहारिक बन्दै जाने क्रममा आफैँ बुर्जुवामा फेरिए । मृत्युपर्यन्त नेतृत्वमा रहने चाहनाले पनि वैकल्पिक नेतृत्वलाई अगाडि आउनै दिएको छैन । पट्यारलाग्दो निरन्तरताको नेतृत्वले उत्साह भर्न सक्ने पनि भएन । जसले गर्दा कार्यकर्ता भक्त या आग्रही लठैतमा रूपान्तरित भए ।

तर, समाज र व्यक्ति त नित्य नयाँ चाहन्छ । बासी नेतृत्वको निरन्तरताको स्वीकार उत्साहले होइन, भय वा प्रलोभनले मात्रै हुन्छ । शक्तिले असुरक्षा वा अहंकारका कारण सहयात्री नभई भक्त वा पछुवा मात्रै खोज्छ । अधिनायकवादी चरित्रको मूल नेतृत्वले तर्क नभई निरन्तर विश्वासको मात्रै माग गर्छ । र, आलोचनात्मक चेतका सल्लाहकार नभई चाप्लुस केन्द्रले घेरिँदा शक्ति गुमेको पत्तै पाउँदैन । ओलीका भक्तहरूमा महाभक्त को हुने होड चलेको थियो, चाहे त्यो संसद्मा बोलेर होस् वा सडकमा बोलेर । 

अन्तमा, सफलतामा सबै हकवाला बन्न खोज्छन्, तर विफलतामा कोही अंशियार हुँदैनन्, हेक्का राख्नुपर्छ । विजयमा अंश खोज्नेहरूले नै पराजयमा सबैभन्दा पहिला साथ छोड्छन् । सक्छौ जित्नेको पछि लाग, सक्दैनौ हार्नेको पछि नलाग, बरु तटस्थताको सुविधा लेऊ भन्ने हुन्छ । हिजो ओलीका ठट्टा र चुट्किलाहरू आदेश र निर्देश हुन्थे । उनका अबका आदेश र निर्देशहरू पनि कट्टर समर्थकका लागि समेत उखान र ठट्टा लाग्नेछन् । एकाएक शक्तिहीन हुँदा व्यक्तिमा सुन्ने धैर्य गुमेर आवेगी र चिडचिडापन देखिन थाल्नु अस्वाभाविक पनि होइन ।