१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३० आइतबार o९:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गठबन्धनको बैठकमा देउवाले भने– स्वास्थ्य राज्यमन्त्री नियुक्ति पाठ भयो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:१९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लिने महत्वपूर्ण निर्णयमा सत्तारुढ गठबन्धनभित्र छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिमा सरकार चुकेको भन्दै बुधबार सत्तागठबन्धनको बैठकमा आलोचना भएपछि प्रधानमन्त्री देउवाले अबका निर्णयमा ‘छलफल गर्ने’ र ‘सचेत रहने’ प्रतिबद्धता जनाएका हुन् । 

गठबन्धनमा रहेका दलका नेताहरूले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री देउवाले राज्यमन्त्री नियुक्ति गर्नुअघि यो हदमा विरोध हुने कल्पना नगरेको भन्दै स्पष्टीकरण दिएका थिए । ‘काम गर्दा कहिलेकाहीँ तलमाथि हुन सक्छ । तर, यो विषयमा यति धेरै विरोध होला भन्ने सोचेको थिइनँ । पार्टीभित्रकै साथीहरूले पनि चर्को विरोध गरेका छन् । म अप्ठ्यारोमा छु । तर, अब गरिहालियो । ठूलो शिक्षा भयो । आगामी दिनमा सच्याएर जानुपर्छ । अब गठबन्धनमा सल्लाह नगरी यस्ता निर्णय गर्दिनँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिलाई लिएर बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले असन्तुष्टि व्यक्त गरेका थिए । 

राज्यमन्त्री नियुक्तिपछिको पहिलो बैठकमा केसी देउवाविरुद्ध सबैभन्दा खरो रूपमा प्रस्तुत भए । उनले प्रतिगमनको विरुद्धमा बनेको सरकारले नै गलत सन्देश जाने कदम चालेको भन्दै आलोचना गरेको बैठकमा सहभागी जनमोर्चा सांसद दुर्गा पौडेलले बताइन् ।

‘स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा पहिलोे सन्देश नै राम्रो दिनुभएन । हिजो ओलीले जे–जे गलत काम गरे, र हामीले त्यसलाई प्रतिगमन भन्यौँ । आज फेरि तपाईं पनि त्यस्तै गर्ने भए त के फरक भयो र ?’ बैठकमा केसीले भनेको भनाइ उद्धृत गर्दै पौडेलले भनिन्, ‘हामीले प्रतिगमन सच्याउन कार्यगत एकता गरेका थियौँ । अब हामी सरकारमा आउँदैनौँ । प्रतिपक्षमा बस्छौँ । गुण र दोषका आधारमा हाम्रो समर्थन र विरोध रहन्छ ।’

सरकारले एमसिसी पास गर्नेबारे तयारी गरेको भन्दै केसीले विरोध जनाएका थिए । सरकारका आगामी कदमलाई विवादरहित बनाउन उनले सुझाब दिएका थिए । केसीले बोलेलगत्तै गठबन्धनका अन्य नेताहरू प्रचण्ड, पौडेल तथा यादवले पनि विनाछलफल सरकारले विवादास्पद निर्णय गरेको भन्दै आलोचना गरे । 

बैठकमा सहभागी नेताहरूले कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा खोपका विषयमा गरेका प्रतिबद्धता पूरा गर्नमा केन्द्रित रहन पनि सरकारलाई आग्रह गरे । उनीहरूले सरकारले महामारीसँगै सुशासन, भ्रष्टाचार नियन्त्रण, बाढीपहिरोबाट विस्थापितको व्यवस्थापन र दण्डहीनताको अन्त्यजस्ता विषयमा ध्यान दिएर काम गर्नुपर्ने सुझाब दिएका थिए । 

बैठकमा सरकार सञ्चालन र शक्ति बाँडफाँडका विषयमा सैद्धान्तिक छलफल भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘हामीले सैद्धान्तिक छलफल मात्रै गर्‍यौँ । शक्तिसन्तुलन र मन्त्रालय बाँडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ, उहाँहरूको छुट्टै बैठक बस्छ,’ खड्काले भने, ‘बैठकले न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको छ ।’ 

बुधबारको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएनन् । उनका प्रतिनिधि विजय पौडेल भने बैठकमा उपस्थित थिए । कांग्रेसबाट पौडेलबाहेक नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेता अशोककुमार राई, माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी थिए । 

मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिऊँ : प्रधानमन्त्री 
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुने दलहरूमा कुनै विवाद बाँकी नरहेकाले मन्त्रिपरिषद्मा जानेको नाम दिन गठबन्धनसँग आग्रह गरेका छन् । निर्वाचन आयोगले जसपाको विवाद टुंग्याइसकेकाले यथाशक्य छिटो मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका थिए । 

‘सरकार गठनमै धेरै अलमल नगरौँ । अब तपाईंहरूले आफ्नातर्फबाट मन्त्री बन्ने साथीहरूको नाम दिनुहोला । एउटा टुंगोमा पुगौँ र काम गरौँ,’ बैठकमा प्रधानमन्त्री देउवाको भनाइ थियो । 

त्यसैबीच, मन्त्रिपरिषद् विस्तारलाई लिएर बिहीबार बिहान गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । एक नेताका अनुसार बुधबार साँझ नै देउवाले शीर्ष नेताहरूसँगको छलफल राख्न चाहेका थिए । तर, नेपालले समय मागेपछि बिहीबार बिहान ८ बजे मात्रै बैठक बस्ने तयारी रहेको छ ।
 

ad
ad