१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको क्रियाशील छानबिन सकियो, पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o९:oo

क्रियाशील सदस्यता र महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा बिहान ९ बजेका लागि बैठक बोलाएका छन्। 

आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदै छ। बैठकमा नेताहरूले छानबिन समितिले गरेका निर्णयहरूको आधारमा विवाद कायम रहेका ठाउँहरूको विवाद समाधान र क्रियाशील सदस्यताको टुंगो लगाउनेबारे छलफल हुनेछ। 

त्यस्तै, प्रभावित भएको महाधिवेशनको कार्यतालिकाबारे समेत छलफल गर्ने र सहमति भए नयाँ कार्यतालिकासमेत तय गर्न सक्ने एक नेताले बताए। 

केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता छानबिन गरी सर्वसम्मत रूपमा निर्णय गरेका निर्णयहरू, विवाद भएका विषय र सुझारूहरूसहितको प्रतिवेदन तयारी गरेको छ। सो प्रतिवेदन अहिलेको बैठकमा बुझाउने तयारी रहेको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। 

समितिले एक सय ६५ वटै निर्वाचन क्षेत्रको पुरानो क्रियाशील सदस्यता नवीकरण गरेको छ। ‘नवीकरणमा धेरै समस्या थिएनन्। त्यसैले सकेसम्म उदार भएर काम गर्‍याैँ, एक सय ६५ वटै निर्वाचन क्षेत्रको नवीकरणको विवाद सर्वसम्मत रूपमा समाधान गरेका छौँ,’ समितिका एक सदस्यले भने। उनका अनुसार नयाँ सदस्यता वितरण र अन्य पार्टीबाट आएकाहरूको समायोजनमा भएका विवादका विषयहरूमा भने केही ठाउँमा विवाद कायमै छ। मापदण्डबमोजिम ती विवादहरूसहितको प्रतिवेदन समितिले पार्टीलाई बुझाउन लागेको हो।

 
सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवामा त्यस्तो विवाद भएका कारण ती जिल्लामा नयाँ सदस्यता रोकिएको छ। यस्तै, धनुषा– ४ र सर्लाही– २ को नयाँ क्रियाशील सदस्यताका विषयमा पनि छानबिन समितिले सहमति जुटाउन सकेको छैन। त्यो पनि आगामी महाधिवेशनका लागि स्थगित हुन सक्ने ती सदस्यले बताए। 

‘यी चार जिल्ला र दुई निर्वाचन क्षेत्रमा सबै वडाको नयाँ सदस्यता रोकियो। समायोजनमार्फत थप भएका सदस्यता पनि छन्, यीबाहेक अरू जिल्लाका छिटफुट वडाको मात्रै रोकिएको हो,’ उनले भने। देशभरि गरेर करिब सवा सय वडाको विवाद सुल्झाउन नसकिएको ती नेताले बताए।

यसअघि निर्धारित कार्यतालिकाअनुसार १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन हुनेछ। तर, कोरोना संक्रमणको बढ्दो दर, वर्षा, बाढीपहिरोको कारण देशभर सडक सञ्जालमा भएको अवरोध, गाउँ गाउँमा खेतीपातीको सिजन, सभापति देउवाको सरकार सञ्चालनका कारण हुने व्यवस्ततालगायत कारणले केन्द्रीय महाधिवेशन नै सर्न सक्ने सम्भावना रहेको नेताहरूले बताउँदै आएका छन्। यद्यपि, सभापति देउवाले महाधिवेशन सार्नेबारे छलफल गर्न मानेका छैनन्। अहिलेसम्म केन्द्रीय महाधिवेशन जसरी पनि तोकिएकै मितिमा हुनुपर्ने देउवाको अडान छ। 

ad
ad