१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तीन महिनाअघि मर्मत गरिएको मेची राजमार्गको बिब्ल्याँटे र चुरेघाँटी क्षेत्रको सडकको अवस्था । तस्बिर : नयाँ पत्रिका
२०७८ श्रावण १० आइतबार ११:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेची राजमार्गको मर्मत तीन महिना पनि टिकेन

Read Time : > 1 मिनेट
२०७८ श्रावण १० आइतबार ११:४१:००

मेची राजमार्गको बिब्ल्याँटेमा परेको खाल्डा स्थानीयले नै पुरे । सडकको खाल्डोले जोखिम निम्त्याएपछि स्थानीयले खाल्डो पुरेका हुन् । सडक डिभिजन कार्यालयले तीन महिनाअघि मात्रै सो सडकको आवधिक मर्मत गरेको थियो । तर, सडक मर्मत तीन महिना पनि टिकेन । 

इलाम नगरपालिकाको तिल्केनी मोडमा समेत सडकको हबिगत उस्तै छ । सडकमाथि गरिएको कालोपत्रे उप्किएर चिप्स, गिटीको थुप्रो लागेको छ । सडकमा गिटी थुप्रिएका कारण मोटरसाइकल गुडाउनै समस्या छ । गिटीमा मोटरसाइकल चिप्लिएर दुर्घटनाको खोखिम बढाएको छ । भञ्ज्याङदेखि इलाम बजारसम्म गरिएको सडकको मर्मत तीन महिना पनि टिकेन । कतिपय ठाउँमा मर्मतका क्रममा लगाइएको मात्रै होइन, पुरानो कालोपत्रेसमेत उप्किएको स्थानीय बताउँछन् । ‘अहिले हालेको कालोपत्रे मात्रै होइन, पहिलेको पनि उप्किएर गएको छ,’ इलाम नगरपालिकाका रोशन भट्टराई भन्छन्, ‘वर्षाभरिमा त सडकमा खाल्डै मात्र होला जस्तो छ ।’ 

सडक डिभिजन कार्यालयले नै गरेको इलाम नगरपालिका क्षेत्रको कालोपत्रे पनि उक्किन थालेको छ । सकड मर्मत गरिएको कन्याम, चुरेघाँटीलगायतको क्षेत्रमा मर्मतका क्रममा हालिएको कालोपत्रे उक्किएको हो ।

सडकको मर्मतका लागि खर्चिलो प्रविधि अपनाइए पनि सुधार हुन सकेको छैन । यसअघि मेची राजमार्ग कालोपत्रे गर्दा रिसिलिङ प्रविधि अपनाइएको थियो । त्यसमा कालोपत्रेमाथि काँचो गिटी पोखेर पेलिन्थ्यो । अलकत्राले नसमाएको गिटी उठाइन्थ्यो । अहिले ‘क्रिमिक्स कार्पेट’ प्रविधिबाट कालोपत्रे सडकको मर्मत थालिएको छ । त्यसमा अलकत्रा र गिटी पकाएर मर्मत गर्नुपर्ने ठाउँमा हालिन्छ र पेलिन्छ । पहिलेको भन्दा यो प्रविधि खर्चिलो हुन्छ । तर, नयाँ प्रविधि अपनाएर सडक मर्मत गरे पनि टिकेको छैन । कालोपत्रेमा भएको धुलोसमेत सफा नगरी नयाँ कालोपत्रे हाल्ने, गुणस्तरहीन सामानको प्रयोग र वर्षा सुरु भएपछि मर्मतको काम गर्नाले सडक उप्किएको स्थानीय बताउँछन् । 

मेची राजमार्गको मर्मतमा सरकारले बर्सेनि करोडौँ खर्चिने गरेको छ । राजमार्गको माईखोलादेखि बिब्ल्याँटेसम्म सडक मर्मत ठेक्काको एउटा प्याकेज हो । तीन करोड ६ लाख ४३ हजार तीन सय सात रुपैयाँमा ठेक्का सम्झौता भएको हो । सडकको ६० प्रतिशत काम सकिएको र आधाजति रकम भुक्तानी भइसकेको छ । सडक मर्मतको क्रममा पानी परेकाले सडक उप्किएको कार्यालयका सबइन्जिनियर दिपिन ढुंगानाको दाबी छ । ‘दिउँसो काम गर्‍यो, राति पानी पर्ने भएपछि सडक उप्किन थाल्यो, त्यसपछि हामीले काम रोकेका छौँ,’ उनले भने, ‘भुक्तानी पनि रोकिएको छ ।’ सडक मर्मतको ठेक्का लिएका निर्माण व्यवसायी विपीन तामाङले पानीकै कारण सडकमा गरिएको मर्मत उप्किएको बताए । ‘हामीले वैशाखमा सम्झौता गरेर असारमा काम थालेका हौँ, पानीले काम गर्न नदिएपछि अहिले काम रोकिएको छ,’ तामाङले भने, ‘पानी रोकिएपछि काम थाल्छौँ, अहिले भत्किएको ठाउँमा फेरि मर्मत हुन्छ ।’