मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार ०८:१५:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओलीलाई माधवका तीन सन्देश, नौ प्रश्न

Read Time : > 4 मिनेट
२०७८ श्रावण ८ शुक्रबार ०८:१५:००

१. ओलीसँग सम्झौता असम्भव
हामी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढाउँछौँ, क्रान्तिकारी स्वरूपसहित एमाले अगाडि बढोस् भन्ने चाहन्छौँ । पार्टी त्यसरी अगाडि बढ्छ कि बढ्दैन पर्खेर हेरिरहेका छौँ । त्यस रूपमा अगाडि बढ्छ, सुध्रिन्छ, रूपान्तरण हुन्छ, ठीक छ । कसैले पनि बनेको घरबाट त्यत्तिकै बाहिर निस्किन चाहँदैन । तर, अपमान सहेर कोही पनि बस्दैन । गलत सबैखाले कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्नुहुँदैन ।

२. आवश्यक परे विभाजनका लागि तयार
पार्टीभित्रका घाउ–खटिराले पीडा दिन्छ । घाउ–खटिरालाई हामीले औषधिले निको पार्नुपर्छ, सँगसँगै आत्मबलले । औषधिले मात्र गर्दो रहेनछ, अप्रेसन पनि एउटा तरिका हो । ती सबै चिजका निम्ति तयार हुनुपर्छ । 

३. एमाले नाम र सूर्य चिह्नमा मोह छैन
संगठनले मात्र केही हुँदैन । हेर्दा फल राम्रो देखिन्छ, तर कुहिसकेपछि केही पनि काम हुँदैन । कम्युनिस्ट पार्टी भित्र कुहिन थालेपछि त्यो अरूभन्दा अझ बढ्ता गन्हाउन थाल्दोरहेछ । हामीले कतिपय देशमा देखेका छौँ– पार्टी छ र त्यसलाई जनताले स्वीकार गरिरहेका छन् भने मात्रै अर्थ हुन्छ । पार्टी छ, चिह्न छ, तर कसैले स्वीकार गर्दैनन् भने चिह्न र नामले पनि केही गर्दैन । सुधार गरे आकर्षित गर्छ, कुधार गरे विकर्षित गर्छ । दुर्नाम भएपछि सबैले छिछी र दूरदूर गर्छन् ।

नेता–कार्यकर्तालाई प्रश्नैप्रश्न 
पार्टी एकढिक्का मात्र रहेर केही हुँदो रहेनछ । सही वैचारिक जगमा त्यसको धरातल ठीक छ कि छैन ? विचार दृष्टिकोण ठीक छ कि छैन ? क्रान्तिकारी बाटो अँगालेको छ कि छैन ? देशभक्तिको भावनाले ओतप्रोत, जनताप्रति समर्पित छ कि छैन ? नेता–कार्यकर्ता इमानदार छन् कि छैनन् ? बलिदानको भावनाबाट ओतप्रोत छन् कि छैनन् ? व्यक्तिवादी, अहंकारी स्वार्थी भए कि ? पार्टीको नाम, संगठन र झन्डाको दुरुपयोग गरिरहेका छन् कि ? गलत प्रवृत्तिविरुद्ध विद्रोह गर्ने आँट गर्छन् कि गर्दैनन् ? यी प्रश्नको जवाफ खोज्ने वेला आएको छ ।

...                                  ...

पार्टी अध्यक्ष केपी ओलीसँग वारपारको संघर्ष गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजनको प्रस्ट संकेत गरेका छन् । पुष्पलाल स्मृति दिवसमा बिहीबार आयोजित कार्यक्रममा नेपालले ओली रूपान्तरण नभए अपमान सहेर उनीसँग सहकार्य सम्भव नहुने स्पष्ट पारेका छन् ।

२२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेमा टकराव बढ्दै गएका वेला नेता नेपालले सम्भावित कदमबारे संकेत गरेका हुन् । उनले पार्टीमा झाँगिएको विकृति र कमजोरीको समूल अन्त्यका लागि सबै तयार हुनुपर्ने त्यसो नभए अन्य विकल्पमा लाग्नुपर्ने पनि बताए । उनले पार्टीको वैचारिक धरातल, कार्यशैली र आचरणमा विचलन आए संगठन र चुनाव चिह्नले मात्रै पार्टी र आन्दोलन नबच्ने बताए । 

नेता नेपालले वैचारिक एकताको जगमा हुने पार्टी–एकताले मात्र पार्टीलाई बलियो बनाउने पनि प्रस्ट्याए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले भ्रष्टाचारबाट मुक्त भएर काम गर्न सुझाब दिएको पनि बताए ।

तर, ओली भन्छन्– पार्टी एकतामा आए आममाफी हुन्छ

अहिले को कहाँ छौँ भन्ने छाडौँ । देश र जनताका कुरा गरौँ । बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेस्टी इज ग्रान्टेड । जेसुकै भएको होस्, एम्नेस्टी । आउनुस् मिलेर काम गरौँ । आन्दोलनलाई मजबुत पारौँ । आन्दोलनले क्षति व्यहोरेको छ । एकजुट भएर अगाडि बढौँ ।

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित असन्तुष्ट समूहका नेता–कार्यकर्तालाई आममाफी दिइने बताएका छन् । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराध भएको निष्कर्ष निकालेका ओलीले ती नेतालाई आममाफी दिने बताएका हुन् । जब कि नेपालसहितका नेताले विश्वासको मत दिएर संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन् । 

‘अहिले को कहाँ छौँ भन्ने छाडौँ । देश र जनताका कुरा गरौँ । बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेस्टी इज ग्रान्टेड,’ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भने, ‘जेसुकै भएको होस्, एम्नेस्टी । आउनुस् मिलेर काम गरौँ । आन्दोलनलाई मजबुत पारौँ । आन्दोलनले क्षति व्यहोरेको छ । एकजुट भएर अगाडि बढौँ ।’

ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टासमेत हल्लाउन नसकेपछि परमादेशबाट हराइएको बताए । एमाले लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार रहेको ओलीको दाबी छ । ‘दुनियाँ लागेर पनि खुट्टा हल्लाउन नसकेपछि परमादेशबाट ढालियो । एमाले स्थानीय तह, प्रदेश र संघीय संसद्मा प्रमुख शक्ति छ । एमाले देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो,’ ओलीले भने । 

त्यसैबीच, एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबारको बैठकले एकताको प्रयास थाल्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ‘पार्टीको एकता कायम राख्ने प्रयासलाई निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकतालाई सुदृढ र पार्टीमा योगदान गर्ने गरी आउन चाहने साथीहरूलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ ।’

त्यसैबीच, एमाले बैठक ११बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । ‘बैठकले अदालतको परमादेशका कारण पार्टी सरकारबाट बाहिरिनुपरेको वर्तमान स्थिति, पार्टीकै कतिपय नेता तथा सांसदहरू आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेर विपक्षीलाई सरकार बनाउन प्रयोग भएको अवस्था र यसले पार्टीको एकतामा पारेको प्रतिकूल प्रभावलाई अस्थायी परिघटनाका रूपमा विश्लेषण गरेको छ,’ पारित प्रस्तावमा छ, ‘हाम्रो पार्टी जन्मकालदेखि नै यस्ता षड्यन्त्र, धक्का र अन्तर्घातहरूको सामना गर्दै अगाडि बढेको पार्टी भएको र हरेक प्रतिकूलतालाई चिर्दै नयाँ–नयाँ सफलता र उचाइ हासिल गर्दै आएको ऐतिहासिक यथार्थलाई स्मरण गर्दै बैठकले सिंगो पार्टीपंक्तिलाई अविचलित रूपमा र उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गरेको छ ।’

त्यस्तै, बैठकले प्रतिपक्षका रूपमा पार्टीले खेल्ने आगामी दिनको भूमिकाबारे निर्णय गरेको छ । ‘देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदारका रूपमा, लोकतन्त्र र संविधानको रक्षकका रूपमा एवं जनताका सच्चा प्रतिनिधिका रूपमा संसद्भित्र र बाहिर सशक्त भूमिका खेल्ने, मुलुकलाई अस्थिरतातिर लैजाने, उपलब्धिहरूलाई उल्ट्याउने, बाह्य चलखेललाई बढावा दिने, संवैधानिक सन्तुलन खलबल्याउने, मुलुकलाई तनाव र राजनीतिक द्वन्द्वतिर धकेल्ने तथा जनताका हितमाथि आघात पुर्‍याउने कुनै पनि गतिविधि हुन नदिन हरबखत चनाखो र संवेदनशील रहने,’ प्रस्तावमा छ, ‘सकारात्मक शक्तिहरूसँग सहकार्य गर्दै पार्टीविरुद्धको घेराबन्दी असफल पार्ने । नेकपा (एमाले) नेतृत्वको सरकारले आरम्भ गरेका रूपान्तरणकारी परियोजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्ध सुदृढीकरणका कामलाई निरन्तरता दिन दबाब दिइरहने । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सिर्जनात्मक र अविचलित रूपमा क्रियाशील रहने ।’

त्यस्तै, पार्टी नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामहरूलाई जनताका बीचमा स्थापित गर्दै पार्टीको पक्षमा जनमत अभिवृद्धि गर्ने, जनताको हित र सरोकारसँग जोडिएका सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दाहरूमा पार्टीको तर्फबाट अगुवाइ गर्ने, पार्टीलाई सामाजिक रूपान्तरणको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्ने पारित प्रस्तावमा उल्लेख छ ।

एमालेले सर्वोच्च अदालतको फैसलाले पार्ने प्रभावका विषयमा जनस्तरमा बहस सञ्चालन गर्ने निर्णय गरेको छ । ‘फैसलाका विभिन्न पक्षमा आफ्ना दृष्टिकोण, मान्यता र अवधारणाहरू स्पष्ट पार्न पार्टीले जनतामाझ व्यापक बहस सञ्चालन गर्नेछ । संवैधानिक माध्यमबाट यसले सिर्जना गरेका नकारात्मक असर अन्त्य गर्न र दलीय प्रणालीको संरचना अक्षुण्ण राख्न हाम्रा प्रयास जारी रहनेछन्,’ बैठकको निर्णयमा छ ।