मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण ८ शुक्रबार ०८:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भिसा अवधि बढाइदिन पर्यटकको माग

Read Time : > 1 मिनेट
२०७८ श्रावण ८ शुक्रबार ०८:०४:००

आफ्नो अवकाश जीवनपछि पर्यटक भिसामा नेपाल आएका अस्ट्रेलियाका ६९ वर्षीय फ्रेङ्क अर्मिडा आफ्नो अवधि सकिएपछि चिन्तित छन् । लकडाउन र कोरोना कहरले सोचेजस्तो नेपाल घुम्न नपाउँदै नेपाल बस्ने अवधि सकिएको तथा आफ्नो देशमा पनि अहिले प्रवेश नपाउने चिन्ता छ उनलाई । ‘पर्यटक भिसाको अवधि सकियो । नेपाल सरकारले अवधि सकिएकालाई एक हप्ताभित्र देश छोड्नु भनेको छ । नेपालमा नयाँ भेरियन्ट पुष्टि भएपछि अस्टे«ेलियाले रेडजोनमा राखेको छ र स्वदेश भित्रिन दिँदैन । यस्तो वेला कसरी घर फर्कनु ?’ उनले भने ।

अवकाश जीवनमा नेपाल घुम्न आएकी अमेरिकाकी लिन्डा सारन्डाको गुनासो पनि उस्तै छ । ०७२ को भूकम्पपछि आफू नेपाल आउने–जाने गरिरहेको उनी बताउँछिन् । ‘अहिलेको अप्ठ्यारोमा केही थप शुल्क लिएर भए पनि हामीलाई यहीँ बस्ने व्यवस्था गरिदिए हुन्थ्यो । हामी पोखरामै सुरक्षित छौँ । यसवेला जोखिम मोल्दै महँगो तिरेर किन जाने भन्ने हो ।

हामीलाई खर्च गर्ने पैसाको अभाव छैन । यही नेपालमा खर्च गर्छौँ,’ उनले भनिन् । जर्मनीकी ३५ वर्षीया निकोल कोल्बर्ग आफूले हातमा लगाएको मेहन्दी देखाउँदै नेपाली चाडबाड र संस्कृतिले आफूलाई मोहित पारेको बताउँछिन् । नेपाली साथीले लगाइदिएको मेहन्दी भन्दै उनले तिहार पनि नेपालमा मनाउने अवसर पाएको अनुभव सुनाइन् । तर, अहिले यसवेला भिसा अवधि सकिएकाले अप्ठ्यारोमा परेको उनको गुनासो छ । सामान्य समयमा झन्डै ९० हजार शुल्कमा आफ्नो देश पुग्न सकिने भए पनि अहिले जोखिमसँगै ३ लाखभन्दा धेरै खर्च लाग्ने उनले बताइन् ।  

पोखराका पर्यटन व्यवसायीले कठिन अवस्थामा नेपालमै बस्न चाहने पर्यटकलाई धेरै शुल्क लिएरै भए पनि व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । ‘सरकारले विदेशी पर्यटकलाई एक महिनासम्मको भिसा फ्री गर्ने घोषणा गरेको छ । यहीँ भएकालाई किन बस्ने वातावरण सहज नबनाउने ?’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘हामीले पर्यटन मन्त्रालय र विभागमा सुझाब पठाएका छौँ ।’
 
२ सय ५० विदेशी पर्यटक पोखरामा 
कोरोना संक्रमणको दोस्रो लहरमा पोखरामा २ सय ५० को हाराहारीमा विदेशी पर्यटक रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पोखरामा रहेका विदेशी पर्यटकको हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, अध्यागमन विभाग र गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयलाई समेत ज्ञापनपत्र पठाउने तयारी गरिएको छ । उनका अनुसार शुक्रबार बिहान कास्कीका सिडिओ थानेश्वर गौतमलाई उक्त ज्ञापनपत्र बुझाइनेछ ।  

गैरकानुनी ठहर्दै अन्त पनि जान नपाइने चिन्ता
पर्यटक भिसामा नेपाल आउने विदेशीले वर्षको १ सय ५० दिन नेपालमा बिताउन पाउँछन् । दुई महिना लकडाउन भएकाले पर्यटकका लागि यस्तो अवधि २ सय १० दिनसम्मका लागि लम्ब्याइएको थियो । अध्यागमन विभागले १६ असार ०७८ मा लकडाउनका कारण भिसा नियमित गर्न नसकेका पर्यटकलाई १८ असारदेखि प्रक्रिया अगाडि बढाउन सूचना निकालेको थियो ।

सूचनामा २४ असार (८ जुलाई) भित्र नेपाल छाड्ने पर्यटकको भिसा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमै विनाशुल्क र विनाजरिवाना नियमित गरेमा जरिवाना नगर्ने बताएको थियो । यो अवधिमा प्रक्रिया अगाडि नबढाएमा गैरकानुनी हुने चिन्ता पर्यटकलाई छ । त्यसो हुँदा अन्यत्र पनि जान नपाइने चिन्ता भएको अस्ट्रेलियाका नागरिक फ्रेङ्क अर्मिडा बताउँछन् । उनले आफूहरू गैरकानुनी हुन नचाहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् ।