१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
विजयराज खनाल काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अमेरिकाबाट नेपाली बैंक ह्याक गर्ने चेतावनी आएपछि वित्तीय क्षेत्र तरंगित 

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५५:oo

बुधबार नेपालका १४ वाणिज्य बैंकसहित राष्ट्र बैंकको नाम नै किटान गरेर प्रणाली ह्याक गर्ने चेतावनी आएको छ । ह्याकरहरूले बिहीबार पनि राष्ट्र बैंकका अधिकारीहरूलाई फोन नै गरेर यस्तो चेतावनी दिएका छन् ।

बुधबार साँझ भने ह्याकरहरूले राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्तासहित नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई याहु र जिमेलमा चेतावनी आएको थियो । ‘सूचित गरेर ह्याक गरिँदैन भन्ने हाम्रो बुझाइ भए पनि यो चेतावनीलाई लिएर हामी गम्भीर छौँ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘हामीले यसलाई सामान्य रूपमा मात्र भने लिएका छैनौँ ।’ 

बिहीबार बिहानै ७ बजे प्रवक्ता ढकाललाई अमेरिकी नम्बरबाट फोनमार्फत २४ घन्टाभित्र ह्याकिङ गर्ने चेतावनी आएको थियो । नम्बर फेक भए पनि यसरी फोनमा कुराकानी गर्नेको लबज भने विदेशी नै रहेको उनको भनाइ छ । 

यसरी ह्याकिङ हुन सक्ने भन्दै राष्ट्र बैंक, नबिल, कुमारी, हिमालयन, माछापुच्छ्रे, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, एनएमबि, एनआइसी एसिया, बैंक अफ काठमाण्डू, सिटिजन्स, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र नेपाल बैंकको नाम नै किटान गरेर इमेल आएको हो । 

यो विषयमा राष्ट्र बैंकले बैंकहरू र आन्तरिक प्रविधि विभागका अधिकारीहरूसँग छलफल गरे पनि बिहीबारसम्म साइबर ब्युरोलाई औपचारिक जानकारी गराएको छैन । ‘हामीलाई मौखिक मात्र जानकारी आएको छ,’ साइबर ब्युरोका एक अधिकारीले भने, ‘उहाँहरूले बैंक र राष्ट्र बैंकभित्रकै प्रविधि विभागहरूमार्फत काम अगाडि बढाइरहनुभएको बताउनुभएको छ ।’ ती अधिकारीका अनुसार बिहीबार यस सम्बन्धमा पत्राचार गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

मुलुकमाथि नै आक्रमण !
यो बैंकिङ प्रणालीमा मात्रै नभएर मुलुकमाथि नै आक्रमणको प्रयास भएको सरोकारवालाहरूले बताएका छन् । ‘विश्वमा राजनीतिक संक्रमणको समयमा यसरी वित्तीय प्रणालीमा आक्रमण गर्ने अभ्यास रहेको पाइन्छ,’ नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले भने, ‘मध्यमदेखि ठूला बैंक र केन्द्रीय बैंकमै आक्रमणको चेतावनी दिइनुले पनि यसलाई मुलुकमाथिकै आक्रमण मान्न सकिन्छ ।’  

विकासोन्मुख मुलुकहरूमा प्रयोग हुने प्रविधि विश्वस्तरको नहुने भए पनि निश्चित मापदण्डभन्दा माथिकै रहेकाले डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठले बताए । ‘अहिले हाम्रो चेक क्लियरिङलगायतमा मात्रै केन्द्रीकृत प्रणालीको प्रयोग भएको छ,’ श्रेष्ठले थपे, ‘त्यसबाहेक हरेक बैंकको अलग–अलग होस्ट (प्रणाली सञ्चालक) छ, त्यसैले या त १४–१५ ह्याकर मिलेर काम गरेमा यो सम्भव हुनेछ, नत्र कठिन नै छ ।’  

विश्वका विभिन्न विकसित मुलुकमा ह्याकिङ हुने गरेकाले ह्याकिङ हुनै नसक्ने दाबी गर्न नसकिने भए पनि सबै किसिमका सावधानीहरू अपनाइएको बैंक तथा राष्ट्र बैंकसम्बद्ध अधिकारीहरूले बताएका छन् । विभिन्न मुलुकमा पहिलो चरणमै प्रणालीमा आक्रमण नगरेर लक्षित संस्थाहरूमा प्रयोग हुने कम्प्युटरलगायतमा आक्रमण गर्ने र महिनौँ अध्ययन गरेर प्रणालीलाई लक्षित गर्ने देखिएको यस क्षेत्रका जानकारहरू बताउँछन् । 

मुलुकमा यसअघि पनि एकाधपटक बैंकिङ प्रणालीमा ह्याकिङका प्रयास भएका छन् । यसअघि ०७४ मा एनआइसी एसिया बैंकबाट ह्याकरहरूले करिब ४० करोड स्थानान्तरण गरेर विदेशका ६ बैंकबाट भुक्तानी लिने प्रयास भएको थियो । यसमध्ये करिब १६ करोड स्थानान्तरण भए पनि धेरै रकम फिर्ता ल्याउन सफल भएको थियो । भदौ ०७६ मा समेत चिनियाँ ह्याकरहरू नेपालमै आएर एटिएमका माध्यमबाट सात बैंकबाट १ करोड ७५ लाख र भारतबाट सोही समयमा १ करोड भारु झिक्न सफल भएका थिए । तर, नेपालमा चिनियाँ नागरिकको पक्राउसँगै अधिकांश रकम फिर्ता ल्याउन सफल भएको थियो । 

ad
ad