मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ७ बिहीबार ११:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र पुनरुत्थानको प्याकेज ल्याउने सरकारको तयारी प्रधानमन्त्री भन्छन् : अर्थतन्त्र र जीवन दुवै जोगाउँछौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ७ बिहीबार ११:५४:००

निजी क्षेत्रद्वारा खोप तथा राहतको माग, पुनरुत्थानको प्याकेजका लागि हातेमालो गर्न निजी क्षेत्रलाई सरकारको आग्रह

कोभिड–१९बाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि सरकारले विशेष राहत प्याकेज ल्याउने भएको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक पुनरुत्थान गर्न सबै जनतालाई भ्याक्सिन लगाउने कार्यलाई तीव्रता दिनुका साथै राहत प्याकेज पनि ल्याउने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै  कोभिडको समस्या समाधानमा हातेमालो गर्न आग्रह गर्दै राहतको प्याकेज ल्याउने बताएका हुन् । ‘अहिले कोभिडले अप्ठ्यारो स्थिति ल्याएको छ, कोभिडका अर्को भेरियन्ट पनि आइरहेको छ’ उनले भने, ‘महामारी नियन्त्रण तथा समस्या समाधानका लागि सरकार आफ्नो कर्तव्यमा प्रतिबद्ध छ, निजी क्षेत्रले सघाएमा महामारीबाट छिट्टै मुक्त हुन सकिन्छ ।’ प्रधानमन्त्रीले अहिले विकासका साथै अन्य कुरा आवश्यक भए पनि त्योभन्दा बढी आवश्यकचाहिँ जीवन विकास रहेको बताए । निःशुल्क खोप दिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्याकेज कार्यक्रम बनाइरहेको   जानकारी दिए । साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले राहत प्याकेज निर्माणको काम गरिरहेको बताए । ‘कोभिडबाट प्रभावित जर्जर अर्थतन्त्रलाई अघि बढाउनुपर्नेछ, जनता र अर्थतन्त्रलाई राहत आवश्यक छ’ उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकले जनतालाई भ्याक्सिन दिने र अर्थतन्त्रलाई राहत दिने निर्णय गरिसकेको छ, सोही निर्णय र प्रधानमन्त्रीको निर्देशनअनुसार अर्थ मन्त्रालयले राहत कार्यक्रम बनाइरहेको छ ।’ राहत तथा पुनस्र्थापनाको कार्यक्रम छिट्टै ल्याउने उनले बताए । उनले आर्थिक पुनरुत्थानका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्नेसमेत बताए । 

आर्थिक सुधार थाल्न चौधरीको आग्रह
कार्यक्रममा परिसंघका प्रेसिडेन्ट इमिरेट्स एवं सांसद विनोद चौधरीले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व गर्न अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे । २०४६ पछि नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको पहिलो चरणको आर्थिक सुधारकै कारण मुलुकमा थुप्रै उद्योग व्यवसाय सुरु भएको चर्चा गर्दै चौधरीले अहिलेको सरकारले दोस्रो चरणको आर्थिक सुधार थाल्नुपर्ने बताए । उनले खुला, उदार र पारदर्शी रूपमा अघि बढ्नसमेत सरकारलाई सुझाब दिए । 

निजी क्षेत्रले माग्यो खोपको सुनिश्चितता 
उक्त अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले अहिलेको अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रको क्षमता विस्तारसँगै समयमै खोप उपलब्धताको सुनिश्चितता गर्नुपर्ने बताए । कोभिडसँगै लड्दै नयाँ सामान्य (न्यु नर्मल) अवस्थामा काम गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । अध्यक्ष मोरले परिसंघले अघि सारेको मेक इन नेपाल अभियानको कार्यान्वयनमा सघाउन सरकारलाई आग्रह गरे । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले उद्योगी व्यवसायी र श्रमिकलाई खोपमा प्राथमिकता दिन आग्रह गरे । सरकारले ल्याउने राहत कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित रहेको उनको भनाइ थियो ।