मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
यम बम काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार १०:५४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चट्याङले हरेक वर्ष लिन्छ सयभन्दा धेरैको ज्यान

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार १०:५४:००

छैन पूर्वानुमान : त्यसबाट जोगाउन सरकारसँग सामान्य प्रक्षेपण गर्ने प्रविधिसमेत छैन

- १५ असारमा पर्साको पटेर्वा सुगौली गाउँपालिकाका रघुवीर यादव र रोशनलान गदी आफ्ना गाउँले साथीहरूसँग भैँसी चराउन गएको समय चट्याङ पर्‍यो । त्यसमा परेर रघुवीर र रोशनलालको ज्यान गयो, अन्य चारजना घाइते भए । सोही दिन जिराभवानी गाउँपालिका– ३ की असतुरनीदेवी थरुनीले पनि चट्याङ लागेर ज्यान गुमाइन् । 

- २७ असारमा मटैना, भीमदत्त नगरपालिका– ९ कञ्चनपुरका वीरबहादुर महरा आफ्नो छोरा लालसिंहसँग बरन्डामा बसेर गफिँदै थिए, अचानक चट्याङ पर्‍यो र दुवै ढले । वीरबहादुरले ज्यान गुमाए, लालसिंह घाइते भए । 

- उदयपुर जिल्ला त्रियुगा नगरपालिका– ३ मुसहरीका ललिता र फूलकुमारी सदा २९ असारमा अविरल वर्षाबीच धान रोपाइँ गरिरहेका थिए । अचानक चट्याङ पर्दा दुवै घाइते भए । त्यसपछि जिल्ला अस्पताल गाईघाट लगिएका उनीहरूको त्यहीँ मृत्यु भयो । 

गत महिनामा भएका मृत्युका यी विवरण प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा वार्षिक रूपमा सयौँले चट्याङबाट ज्यान गुमाउँछन् । यद्यपि, त्यसबाट जोगाउन सरकारसँग चट्याङबारे सामान्य प्रक्षेपण गर्ने प्रविधिसमेत छैन ।

हामीसँग प्रविधि र दक्ष जनशक्ति छैन : सर्जुकुमार वैद्य,जल तथा मौसम विज्ञान विभाग

राडारबाट प्राप्त तथ्यांकले पनि कहाँकहाँ चट्याङ खस्छ भनेर थाहा पाउन सहयोग गर्छ । २/३ वर्षमै नाउकास्टमा जानेगरी प्रविधि भित्राउन सकिन्छ । तर हामीसँग दक्ष जनशक्ति नभएकाले ठूलो चुनौती छ । चट्याङको नाउकास्ट मात्र पनि गर्न सकियो भने धनजनको क्षति न्यूनीकरण गर्न सकिनेछ । त्यसले हवाइयात्राको सुरक्षामा पनि मद्दत गर्छ ।

०६८ यता १० वर्ष तीन महिनाको अवधिमा एक हजार ३६ को चट्याङमा परी मृत्यु भएको छ भने दुई हजार आठ सय तीनजना घाइते भएका छन् । वैशाखयता मात्र नेपालमा एक सय ३२ ठाउँमा चट्याङ पर्दा ३७ ले ज्यान गुमाए । गत वर्ष चट्याङबाट ७० जनाको ज्यान गएको छ ।

चट्याङले ज्यान मात्र जाने होइन, पूरै घर नष्ट पार्न सक्छ । गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार दश वर्षको अवधिमा एक सय ४७ निजी घर चट्याङले पूर्ण रूपमा ध्वस्त पार्‍यो र तीन सय २४ मा आंशिक क्षति पुग्यो ।

विश्वका अधिकांश देशहरूले कहाँ–कहाँ र कुन समयमा चट्याङ पर्न सक्छ भन्ने विवरण पहिल्यै दिन सक्छन्, छिमेकी देश भारतमै पनि त्यो प्रविधि उपलब्ध छ । 
भारतसहित दक्षिण एसियाका कैयौँ मुलुकले ५–६ दिनअघि नै चट्याङको प्रक्षेपण गर्ने गरेका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भारतसँग त्यसबारे नेपालले पनि सूचना लिएर फाइदा लिन सक्ने बताइन् । 

‘भारतले केही वर्षयता मात्र चट्याङको पूर्वानुमान थालेको हो । तर, अन्य विकसित मुलुकमा पहिल्यैदेखि नै प्रक्षेपण गर्ने गरिएको थियो,’ उनले भनिन्, ‘नेपाल र भारतबीच बाढीसम्बन्धी सूचना आदान–प्रदान गर्ने ‍औपचारिक सहमति भए पनि चट्याङबारे प्रक्रिया अगाडि बढाइएको छैन ।’

मौसम पूर्वानुमान महाशाखाले प्रिमनसुनदेखि बर्खायाममा आफ्नो बुलेटिनमा ‘मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना’ उल्लेख गर्ने गरेको छ, तर यो पनि मौसममा आधारित विधि हो । 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलमा उत्पन्न अवस्थामा वायुको प्रभाव, स्याटेलाइट तथा तथ्यांकको विश्लेषण गरेर ७२ घन्टाअगाडि मौसमको प्रक्षेपण गर्ने गरिएको छ । तर, यसमा कहाँ–कहाँ चट्याङ पर्छ भनेर उल्लेख हुँदैन । अर्यालले भने, ‘रेडार र विभिन्न क्षेत्रमा रहेका स्टेसनबाट प्राप्त तथ्यांक केलाएर अवस्था बताउने गरेका छौँ ।’ यो प्रक्रियाबाट कहाँ–कहाँ चट्याङ परिरहेको छ भनेर प्रत्यक्ष थाहा हुन्छ भने घटना हुनु केही घन्टाअघि मात्र प्रक्षेपण गर्न सकिन्छ ।

चट्याङबाट यसरी जोगिन सकिन्छ : श्रीराम शर्मा चट्याङविज्ञ

भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमिनसम्म सजिलो बाटो उपलब्ध गराउन सके चट्याङको जोखिमबाट बच्न सकिन्छ । विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युत र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिन्छ । घरमाथि रड राखेर त्यसलाई तामाको पाता अथवा रडमार्फत जमिनमुनिसम्म पुर्‍याउन सकिन्छ । 

चट्याङ कहिले, कसरी पर्छ ?
चट्याङविज्ञ श्रीराम शर्माका अनुसार नेपालमा बर्खा र मनसुन सुरु हुनुअगाडिका दुई–तीन महिनामा चट्याङ बढी खस्ने गर्छ । ‘पानी पर्न लागेको वा पानी पर्न नसकेको अवस्थामा बादल मडारिन थाल्यो भने चट्याङ पर्छ । मडारिएको कालो बादलमा तापक्रमका कण घर्षण हुँदा विद्युतीय ताप उत्पन्न हुन्छ, अत्यधिक उत्पन्न हुँदा चट्याङ पर्छ,’ उनले भने, ‘तथ्यांकहरू केलाउँदा नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म साँझतिर बढी चट्याङ पर्ने गरेको देखिन्छ ।’ शर्माका अनुसार मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर मृत्यु हुने गर्छ ।

‘यो प्रणालीले वायुमण्डलको पाँचदेखि २० किलोमिटरमाथिसम्म कालो बादल विकास हुन्छ । तापक्रमका कणहरू मडारिएको बादलसँग घर्षण हुँदा विद्युतीय ताप उत्पन्न हुन्छ । अत्यधिक मात्रामा विद्युतीय ताप उत्पन्न हुँदा चट्याङ पर्छ,’ अर्यालले नयाँ पत्रिकासँग भने भने । 

विपत् प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले नेपालमा पहिरोले भन्दा चट्याङबाट धेरै मानवीय क्षति पुर्‍याउने भएकाले न्यूनीकरणका लागि काम भइरहेको बताए । राष्ट्रिय भवन संहितामा चट्याङप्रतिरोधी घर (अर्थिङलगायत सिस्टम)को प्रावधान समेट्न स्थानीय तहसँग समन्वय भइरहेको उनले बताए । यसबाहेक चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन अध्ययनको भइरहेको उनको भनाइ छ । 

यी हुन् धेरै चट्याङ पर्ने ठाउँ
विज्ञहरूका अनुसार चट्याङ दुई किसिमबाट पर्छ । एउटा बादलभित्रै, अर्काे जमिनमा । बादलभित्रैको चट्याङले विद्युतीय उपकरण र सञ्चार आदान–प्रदानमा अवरोध पुर्‍याउँछ । जमिनमा पर्ने चट्याङले मानवीय र भौतिक क्षति गर्छ । चट्याङविज्ञ श्रीराम शर्माले बंगालको खाडीनजिक रहेका भूभागमा बढी चट्याङ पर्ने बताए । 

बंगालको खाडीबाट नजिक पर्ने नेपालका भूभागहरू झापा–मोरङतिरको क्षेत्र हुन् । त्यसपछि चुरे क्षेत्र बढी प्रभावित हुने गर्छ । नेपालमा चट्याङबाट धेरै मानवीय क्षति हुने जिल्लाहरू मकवानपुर र उदयपुर अगाडि छन् । मकवानपुरमा १० वर्षमा एक सय ५२ स्थानमा चट्याङ पर्दा ७५ जना र उदयपुरमा ६५ स्थानमा पर्दा ३६ जनाको ज्यान गएको छ । ‘तराईभन्दा चुरे क्षेत्रको दूरी वायुमण्डलसँग नजिक हुने भएकाले चट्याङको फोर्स बढी हुन्छ र यसले मानवीय क्षति पनि धेरै गराउँछ,’ शर्माले भने ।