मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १८ सोमबार
  • Monday, 02 August, 2021
नरेन्द्रराज रेग्मी, देउडा गायक
२०७८ श्रावण ६ बुधबार १२:४३:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

देउडा चिनाउने रेग्मी सर

Read Time : > 4 मिनेट
२०७८ श्रावण ६ बुधबार १२:४३:००

बझाङको थलारा माविका स्थायी शिक्षक थिए नरेन्द्रराज रेग्मी । सदरमुकाम चैनपुरको सत्यवादी माविमा विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । आफ्ना विद्यार्थी लिएर सांस्कृतिक कार्यक्रममा पुगेका रेग्मीले त्यो अवसर गुमाउन चाहेनन् । र देउडाका पारखी रेग्मी सरले गाए–‘चैरमुसी चैर...।’ उनको गीतले सांस्कृतिक कार्यक्रम हेर्न आएकाहरुको तालिमात्र पाएन, कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँ पुरस्कार नै दिए ।

विद्यालयको सांस्कृतिक कार्यक्रममा गाएको त्यही गीतले पछि भने उनको जीवनको बाटोनै मोडिदियो । सुदूरपश्चिमेली भाषाको यो गीतमा व्यक्त तत्कालीन प्रशासकबाट सर्वसाधारणले खेप्नु परेको पीडा र शासकमा रहेको मुसा प्रवृतिको प्रतीकात्मक व्यंग्य प्रमुख जिल्ला अधिकारीले सुरुमा त बुझेनन् । जब बुझे गीतका शब्दले राजाको अपमान गरेको अभियोगमा रेग्मीमाथि राजकाजको मुद्दा लगाए । प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा दुध पु¥याउन आउने एक किशोरीमाथि यौन शोषण गरेको रेग्मीले थाहा पाएका थिए । त्यो बेला शासकविरुद्ध बोल्न संभव थिएन, विरोधमा रेग्मीले व्यङ्ग्यात्मक गीत सिर्जना गरे ।

राजकाजको मुद्दा लागेपछि स्थायी जागिरको माया मार्दै भागेर उनी काठमाडौँ पुगे । यो २०४४ साल फागुनतिरको घटना थियो । कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएस्सी गरेका उनले काठमाडौँमा पढाइलाई निरन्तरता मात्र दिएनन्, गायनलाई पनि संगै अघि बढाए । ०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि ‘क्या निको लागन्छ फुलजसो फुल्याको जिल्ला...’ भाकाको गीत रेकर्ड गराए । तर, त्यो गीत धेरै चलेन । 

गीतका शब्दले राजाको अपमान गरेको भन्दै रेग्मीमाथि राजकाजको मुद्दा लाग्यो, यहीकारण उनले स्थायी जागिरसमेत गुमाएका थिए 

त्यसै वर्ष उनले ‘खप्तडको सेरोफेरो’ एल्बम निकाले । जसमा चैर मुसी चैर....सहित छ वटा गीत थिए ।   त्यही चैर मुसी चैरले उनलाई चर्चाको शिखरमा पु¥यायो । जुन गीत अहिले पनि देउडाप्रेमीको मनमस्तिष्कमा छ । यो उनको पहिलो एल्बम थियो । त्यसपछि उनले पछाडि फर्कनु परेन, उनले गायका कयौँ देउडा गीत ‘हिट’ भए । त्यसैले त आफूलाई लोकप्रिय गायक बनाउने कारक बनेको त्यही घटनाले सरकारी जागिर गुमाउनु परेकोमा उनलाई पछुतो छैन । ‘शासकप्रति व्यङ्ग्य गर्दा जागिर गुमाउनु परे पनि त्यही घटनाले मेरो जीवन मोडियो ।’ रेग्मी भन्छन्, ‘जीवनभर गीतसंगितको क्षेत्रमा रमाउने अवसर पाएँ । सबैभन्दा ठूलो कुरा स्रोताको माया र सम्मान पाएको छु ।’  

७२ एल्बम र आठ सय गीतमा स्वर
झण्डै साढे तीन दशक लामो सांगितिक यात्राका क्रममा उनले ७२ वटा एल्बम बजारमा ल्याएको उनी बताउँछन् । ‘करिब आठ सय गीतमा स्वर दिएको हुँला’ रेग्मीले सुनाए । ‘ढुकु रान्चडी...’, ‘दाडिम चौका ढोलपैरा...’, गैजाउँ कि धनगढीतिर...’, ‘बिजुली चम्कन लाग्यो विना बादल सर्क...’लगायत रेग्मीको स्वरवद्ध दर्जनौँ गीत कुनै समय निकै लोकप्रिय थिए । जुन गीतमा मायाप्रेम, विदेशिनु पर्दाको बाध्यताका विषयबस्तु छन् । यी गीत त्यतिबेला सुदूरका कुनाकन्दरामा घन्किएका हुन्थे । 

क्यासेटको जमाना थियो । रोजगारीका लागि भारत जाने परम्परा रहेको सुदूरपश्चिममा भारतबाट फर्कनेको हातहातमा टेप हुन्थे । भारतबाट फर्कनेलाई ‘लाहुरे’ भनिन्थ्यो । ‘लाहुरे’ फर्कने चाडपर्वका वेला बाटो र गाउँबस्तीमा तिनै टेपमा देउडा घन्कन्थे । प्रविधि फेरियो, मोबाइल आएपछि भने टेप र क्यासेट दुवै हराए । गायकले क्यासेट निकाल्न छाडे । २०६४–०६५ पछि त क्यासेट निकाल्ने चलन हरायो । गीतहरु युट्यूबमा राख्न थाले, म्युजिक भिडियो अनिवार्यजस्तै भयो ।  

चैरमुसीले रेग्मी देउडाका स्रोतामाझ गायकको रुपमा परिचित भइसकेका थिए । त्यसपछिका दुई वटा एल्बमका गीत औषत चले । २०४८ सालतिर चौथो एम्बल ढुकु रान्चडीको ढुकु रान्चडी बोल...को गीत निकै लोकप्रिय बन्यो । कामको खोजीमा बम्बै गएका श्रीमान र घरमा रहेकी श्रीमतीबीचको प्रेम र पारिवारिक विषयवस्तु प्रेमिल ढङ्गले यो गीतमा अभिव्यक्त छ । यो गीतमा पवित्रा धर्ती र देवा धर्तीले उनलाई साथ दिएका छन् ।

पछिल्लो समयका कतिपय युवा कलाकारले देउडामा पप र र्‍याप मिसाउन थालेका छन् । देउडामा देखिएको विकृतिप्रति रेग्मी चिन्तित छन् । पप र र्‍याप गीतको प्रभावले यहाँको संस्कृतिमा विचलन ल्याउने उनको चिन्ता छ । 

त्यतिबेला बैतडीको खोड्पेबाट बझाङको चिरसम्ममात्र बस चल्थ्यो । रेग्मीले त्यही विषयमा भाका टिपे र गाए–‘खोड्पे है बस गयो चिर, गइजाउँ कि धनगढीतिर..’ । पहाडको विकटताका दुख, मधेस बसाइ सर्ने र मायाप्रेमको प्रसंग यहाँ अभिव्यक्त छ । यसमा महिला आवाजमा इन्दिरा गुरुङले साथ दिएकी छन् । यो गीतले पनि त्यसबेला लोकप्रियताको शिखर चुम्यो ।  

रेग्मीले आफूले स्वर दिएका गीतमात्रै लोकप्रिय बनेनन्, उनको शब्द र लय सिर्जनामा अरुले गाएका गीत पनि उत्तीकै लोकप्रिय छन् । रामचन्द्र काफ्लेद्वारा स्वरवद्ध ‘खेलौला डेउडा चैतली...’ धेरैले रुचाएको गीत हो, जसको शब्द र लय रेग्मीको हो । अहिले युवा पुस्तामा निकै चर्चिक बनेको देउडा हो–भनसाली तेरी दिदी का छ...?’ चक्र मल्ल र लक्ष्मी आचार्यको स्वर रहेको यो गीतको लय पनि रेग्मीले सिर्जना गरेका हुन् । 
 
एल्बम निकाल्दाका संघर्ष
सुदूरपश्चिमका कलाकारलाई त्यतिबेला एल्बम निकाल्नु भनेको निकै कठीन थियो । सुदूरपश्चिममा रेकर्डिङ्ग स्टुडियो थिएनन् । काठमाडौँ गएर गीत गाउनु पथ्र्यो । त्यहाँ पनि युगल स्वरका लागि गायिका पाइदैनथे । गायिका नपाउँदा सुरुका दुई दर्जन बढी गीत एकल स्वरमा निकालेको रेग्मी सम्झन्छन् । ‘सुदूरपश्चिममा गायिका थिएनन्, काठमाडौँका गायिकाले सुदूरपश्चिमेली भाषा नबुझ्ने भनेर पन्छिन्थे । चार–पाँच वटा एल्बम आफ्नो एकल स्वरमा निकालेँ । त्यतिबेला एल्बम निकाल्नु पर्दा भोगेको संघर्ष उनले सुनाए ।

५० को दशक आसपासपछि भने आफ्नो एल्बममा लोकगायिका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, इन्दिरा गुरुङ, पवित्रा घर्ती, देवा घर्ती, पवित्रा थापालगायतले स्वर दिएका रेग्मी बताउँछन् । काठमाडौँका कलाकारले पनि स्वर दिन थालेपछि राष्ट्रिय स्तरमै देउडाको लोकप्रियता बढ्न थाल्यो । यसले सुदूरपश्चिम बाहिरका गायक/गायिका देउडाप्रति आकर्षित भएका उनको बुझाइ छ । देउडाको लोकप्रियताकै कारण अहिले कतिपय चलचित्रमा पनि देउडा गीत राख्न थालिएको छ । 
‘२०५२–०५३ साततिर अत्तरियामा रिमा रेकर्डिङ्ग स्टुडियोको शाखा खुल्यो । त्यसले सुदूरपश्चिममै गीत रेकर्ड हुन थाले । गीत रेकर्डिङ्गको सहजतापछि भने गायिकाको संख्या बढ्यो ।’ उनी भन्छन् । यो सुदूरपश्चिमकै पहिलो रेकर्डिङ्ग स्टुडियो हो । काठमाडौँमा क्यासेट निकालेपछि झोलामा हालेर सुदूरपश्चिमका गाउँगाउँमा गएर बिक्री गरेको उनी बिर्सेका छैनन् ।  

देउडा भाकालाई सुदूरपश्चिम र देशका कुनाकन्दरामा पु¥याएका यी पाका गायक अहिले पनि संगित साधनामै छन् । २०१६ सालमा बझाङको थालारामा जन्मेका उनको कर्मथलो हिजोआज धनगढी बनेको छ । मेलामहोत्सवमा गीत गाउँछन् । देउडा प्रतिष्ठान गठन गरेर देउडा गीतको संरक्षण र प्रवद्र्धनमा उनी लागेका छन् । एल्बम ननिकालेको भने करिब १० वर्ष पुगेको छ । उनले धनगढीमा आफैले लामो समय गीत रेकर्डिङ्ग स्टुडियो पनि चलाए । प्राविधिक जनशक्तिले त्यसलाई निरन्तरता भने दिन सकेनन् ।

नयाँ पुस्ताले संस्कृति बिर्सेकोमा चिन्ता 
त्यसबेला देउडा गायक औँलामा गनिने थिए । अहिले देउडा गाउने कयौँ कलाकार छन् । सुदूरपश्चिममा रहेको देउडाप्रतिको आकर्षणले नै देउडामा गायकको संख्या वृद्धि हुँदै गएको उनको बुझाइ छ । यसरी देउडामा आकर्षण कायमै रहनु खुशीको कुरा हो तर पछिल्लो समयका कतिपय युवा कलाकारले देउडामा पप र ¥याप मिसाउन थालेका छन् । देउडामा देखिएका यस्ता विकृतिप्रति रेग्मी चिन्तित छन् । पप र ¥याप गीतको प्रभावले यहाँको संस्कृतिमा विचलन ल्याउने उनको चिन्ता छ । छाडापनले अहिलेका कतिपय देउडा गीतमा पनि घरपरिवारसँग बसेर सुन्नसक्ने खालका नरहेकोमा रेग्मीको चित्त दुखाइ छ । 

 ‘नयाँ पुस्तामा देउडाप्रतिको मोह छ तर उत्श्रृङ्खल र छाडा गीतप्रति युवाहरुको बढी आकर्षण देखिन्छ । देउडामा घरपरिवारसँग बसेर सुन्नै नसकिने शब्दहरु हुन्छन् । यसले देउडा गीत र ठेट संस्कृति ओझेलमा पर्न थालेको छ ।’ उनी चिन्ता प्रकट गर्छन्, ‘देउडाका नाममा देखिएको उत्ताउलोपना संस्कृतिप्रेमी सबैका लागि चिन्ताको विषय हो ।’ जीवनको उत्तराद्र्ध लागेका यी गायकको सुमधुर स्वर सुन्न देउडाप्रेमी अझै आँतुर छन् ।