मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण ६ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालमा जडित साैर्य ऊर्जा दुई वर्षदेखि  प्रयोगविहीन

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार १२:१९:००

जिल्ला अस्पताल ठिनीमा जडित साैर्य ऊर्जा दुई वर्षदेखि उपयोगविहीन छ । कोरिया सरकारको आर्थिक सहयोगमा अस्पतालमा जडान गरिएको लगभग तीन किलोवाट क्षमताको साैर्य ऊर्जा दुई वर्षअघि नै जडान गरिएको र अहिलेसम्म मर्मत नहुँदा प्रयोगविहीन भएको छ । 

चार्ज कन्ट्रोल जलेर साैर्य ऊर्जाबाट बत्ती बल्न छोडेको जिल्ला अस्पतालले जनाएको । गमगाढ जलविद्युत् आयोजनाको विद्युत् पटकपटक अवरुद्ध हुने र अस्पतालको साैर्य ऊर्जा प्रयोगविहीन हुँदा भिडियो एक्सरे, एक्सरे, दिसा, पिसाब, खकार, रगत परीक्षणलगायत प्रयोगशालामा गरिने सबैखाले परीक्षण प्रभावित हुने गरेको जिल्ला अस्पतालका कार्यरत डाक्टर डबल मल्लले बताए । 

अर्कोतिर कोरिया सरकारकै सहयोगमा अस्पतालमा आपतकालीन रूपमा विद्युत् उत्पादन गर्नको लागि जडान गरिएको ६३ केबी क्षमताको जेनेरेटर पनि महँगो डिजेलका कारण सञ्चालन गर्न  कठिनाइ  छ । प्रतिदिन जेनेरेटर सञ्चालन गर्न आठ लिटर डिजेल खर्च हुने गरेको अस्पतालका सुरक्षागार्ड गगन शाहीले सुनाए । अस्पतालमा दुई–दुईवटा वैकल्पिक विद्युतीय प्रविधि जडान गरिएको भए पनि वेलावेला गमगाढ जलविद्युत् सेवा अवरुद्ध हुँदा अस्पतालका सेवाहरू दैनिक रूपमा प्रभावित हुने गरेका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले पनि बिग्रिएको साैर्य ऊर्जा मर्मत गर्न ध्यान नदिएको स्वास्थ्यकर्मीको गुनासो छ । आन्तरिक स्राेत तथा सरोकारवाला पक्षसँग समन्वय गरी साैर्य ऊर्जा मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने भए पनि जिल्ला स्वास्थ्य सेवा कार्यालयले कोरिया सरकारकै मुख ताकेर बसेको देखिन्छ । बिग्रिएको साैर्य ऊर्जा मर्मतका लागि कोरियासँग पटक–पटक टेलिफोनमार्फत आग्रह गर्दा सुनुवाइ नभएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक करुणा भट्टराईले बताइन् । 

कोरिया सरकारको करिब सात करोड आर्थिक सहयोगमा युनिसेफले खरिद गरी अस्पताललाई बुझाएको अन्य स्वास्थ्य उपकरण पनि एक वर्षमै बिग्रिँदै गएका छन् ।