निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
चितवन राष्ट्रिय निकुञ्जले आगजनी र हात्ती लगाएर भत्काइदिएको घरको ठाउँमा फुसको छाप्रो बनाएर बस्दै आएका काजीमान प्रजा र उनकी श्रीमती नैनीमाय निस्तो भात खाँदै । तस्बिर : विवेक पोख्रेल
२०७८ श्रावण ३ आइतबार ११:५८:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष

Read Time : > 6 मिनेट
२०७८ श्रावण ३ आइतबार ११:५८:००

काजीमान प्रजा दम्पतीको गुनासो– हामीलाई घरवारविहीन बनाएर सरकारले माडीमा मन्दिर बनाएछ  ल निकुञ्जले आगजनी गरेपछि कुसुमखोलाका नौ चेपाङ परिवार विस्थापित

चितवनको विकट क्षेत्र कुसुमखोला पुग्दा सोमबार काजीमान प्रजा र उनकी श्रीमती नैनीमाया खुर्सानी र पानीसँग निस्तो भात खाँदै थिए । साथमा पाँच वर्षकी छोरी पनि थिइन् । काजीमान भात पकाएकै डेक्चीमा खाना खाँदै थिए । नैनीमाया भने स्टिलको थालमा । त्यही निस्तो भात छोरीलाई खुवाइसकेर उनीहरू आफू खाँदै थिए ।

‘लगातारको वर्षाका कारण जंगलमा साग खोज्न पनि जान सकिएन,’ काजीमानले भने, ‘सहयोगमा आएको दाल र तरकारी पनि सकियो, त्यसैले दुई छाक भयो नुनको सहयोगमा निस्तै भात खान लागेको ।’ चामल पनि दाताको सहयोगमा प्राप्त भएको उनले बताए । खाना पाकेर सकिँदासमेत उनीहरूको चुलो निभेको थिएन । कारण उनीहरूसँग आगो निभ्यो भने पुनः बाल्ने सलाईसमेत थिएन, किन्न जान पैसा भएन । त्यसैले वेलावेलामा दाउरा थपेर उनीहरू आगो बालिरहन्थे । 

कुनै समय एक सय ६० भन्दा बढी चेपाङ समुदाय रहने यो गाउँमा अहिले प्रजा दम्पती मात्र बस्छन् । वसन्तपुर बजारदेखि दर्जन बढी पुल नभएका खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका–९ मा रहेको कुसुमखोला पुगिन्छ । वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा पर्छ यो ठाउँ । लगातारको वर्षापछि खोला बढेकाले यहाँ पुग्न निकै कठिन छ । कुसुमखोलामा बस्ती नभएपछि पदलै बाटोसमेत जीर्ण भएको छ ।

गत वर्ष ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै हात्ती लगाएर भत्काएपछि अन्य परिवार यहाँबाट विस्थापित भएका थिए । तर, काजीमान र नैनीमाया भने यहीँ छन् । नगरपालिकाका अनुसार त्यसवेला यहाँ १० घर चेपाङ परिवार थियो । निकुञ्जबाट खटिएका कर्मचारी र सैनिकको टोलीले कुसुमखोलाका काजीमानको पुख्र्यौली घर र दिपबहादुरको घरमा आगो लगाएको थियो । अन्य केही घर हात्ती लगाएर भत्काउँदै बाँकी बस्ती पनि एक साताभित्र खाली गर्न आदेश दिएको थियो ।

तर, १५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश सरकारले सुनेको छैन । निकुञ्जले उठीवास लागेका चेपाङको व्यवस्थापन गर्नुभन्दा बरु अघिल्लो ओली सरकारले त्यही वडामा नक्सासमेत पास नगरी अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्न राममन्दिर निर्माण गरेको छ । 

प्रजा दम्पतीले गत वर्ष निकुञ्जले आगो लगाएको घरकै केही काठपात प्रयोग गरेर सोही ठाउँमा भान्सा घर बनाएका छन् । उनीहरू त्यही घरमा बसेर बिहानको खाना खाँदै थिए । ‘निकुञ्जले आगो लगाउनुअघि यहाँ कान्छो छोरा दानबहादुर बस्दै आएको थियो । जुन घर हामी मकवानपुरको लोथरबाट आएर ०४८ मा बनाएको पहिलो घर थियो । छोराले अहिले ठाउँ छाड्यो, पुख्र्यौली घरको निकै माया लाग्छ, त्यसैले त्यही ठाउँमा फेरि बनायौँ,’ प्रजाले भने ।

बिजुली, पानी, सडक, शिक्षा र स्वास्थ्यको राम्रो प्रवद्र्धन नभए पनि जनता आवासबाट यहाँ ०६५÷६६ तिर केही घर बनेका थिए । पुर्ख्यौली घरमा खाना खाएर जनता आवास कार्यक्रमअन्तर्गत नै बनेको घरमा उनीहरू सुत्ने गर्छन् । ‘तत्कालीन सरकारको सिफारिस लिएर नै हामी यहाँ बसेको हो । जनता आवासले घर पनि बनाइदियो । तर, अचानक हाम्रो उचित व्यवस्था नगरी सरकारले हटाउन खोजेको कारण नै बुझेको छैन,’ काजीमानले भने । यहीँ ठाउँमा जन्मे हुर्केकाले कतै नजाने प्रजा दम्पती बताउँछन् । ‘बाढी लाग्ने खोलाको छेउमा एक कट्ठा जमिनमा घर बनाएर बस्न पाइन्छ रे, तर लालपुर्जा पाइँदैन । विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइयो । तर, लालपुर्जाविना खोलाको छेउमा एक कट्ठाका लागि कतै जाँदैनौ, बरु यहीँ मर्छौ, कतिपटक कति ठाउँमा गएर सुकुम्बासी बन्ने ?’ काजीमानले प्रतिप्रश्न गरे ।

काजीमानकी श्रीमती नैनीमाया शरीरको बल सकिएकाले अन्त गएर काम गर्न नसक्ने बताउँछिन् । ‘कमसेकम यहाँ त खेतबारी छ । पाँच पाथी मकैको बिउ, १२ माना कोदो र दुई किलो तिल बारीमा लगाएको छु । सानाठूला गरेर पाँचवटा बाख्रा छन् । म यसैमा खुसी छु,’ उनले भनिन् । अन्नपात उत्पादन गरे पनि निकुञ्ज र कर्मचारीको डर उनीहरूमा अझै हराएको छैन । ‘कहिलेकाहीँ निकुञ्जका कर्मचारीहरू आउनुहुन्छ,’ नैनीमायाले भनिन्, ‘बारीमा हुर्किएको मकै र अन्नपात देखाउँदै हाम्रो हात्तीलाई खुवाउन लगाएको भन्नु हुन्छ । त्यसपछि बेस्सरी डर लाग्छ, कतै अन्न भित्र्याउने वेलामा फेरि निकुञ्जले तहसनहस बनाउने हो कि भन्ने ।’ विगतमा हात्ती लगाएर घर जलाएको दृश्य देखेकी उनको पाँच वर्षकी छोरी पनि त्यो दिन सम्झिएर अहिले पनि झस्किन्छिन् । 

जंगलको बीचमा एक्लै बस्दै आएका प्रजा दम्पती अघिल्लो सरकारले वासको व्यवस्था नगरिदिएकोमा गुनासो गर्छन् । ‘हामीलाई घरविहीन बनाएर सरकारले मन्दिर बनायो भन्ने सुनेको छु,’ नैनीमायाले भनिन्, ‘प्रधानमन्त्रीले आफ्नै खर्चमा भगवान्को मूर्ति बनाउनुभयो रे । सरकारले पहिला त हाम्रो घर बनाउनुपर्ने थियो । मान्छेले खानलाउन पाएका छैनन् । मन्दिर बनाएर के हुन्छ ?’ यदि सरकारले वासको व्यवस्था मिलाइदिए त्यही घरमा मन्दिर बनाएर पूजा गर्ने आफ्नो रहर भएको उनले सुनाइन् । ‘यदि घर हुन्थ्यो भने टाढा जानै पर्थेन, घरकै एउटा छेउमा देउता मानेर ढुंगामा पुज्ने थिए,’ उनले भनिन्, ‘हामी सुखले यहाँ बसेका छैनौँ । निकुञ्जका मान्छेले हात्ती ल्याएर हाम्रो घर भत्काउने काम गरे । जंगली हात्ती र जनावरको पनि हामीलाई यहाँ डर छ । बारीको अन्नपात जंगली जनावारले नष्ट पार्दिन्छ ।’

घर जलेपछि उठीवास लागेका दानबहादुरले छाडे कुसुमखोला
निकुञ्जले घर जलाउँदा घरसँगै नागरिकता र १० हजार नगद जलेको थियो काजीमानको कान्छो छोरा दानबहादुरको । निकुञ्जको अमानवीय कार्यपछि दानबहादुरले गत चैतमा कुसुमखोला छाडेर माडीकै खरीकुना भन्ने ठाउँमा पुराना काठ र खरको प्रयोग गरेर घर बनाएका छन् । उनी पुरानो कुरा सम्झन पनि चाहन्न । तर, कुसुमखोला छाडेर पनि उनलाई खासै फरक महसुस भएको छैन । उता पनि जंगलमै वास थियो । अहिले पनि जंगलकै छेउमा घर बनाएका छन् । निकुञ्जले घरमा आगो लगाएपछि उनले आफन्तको घरमा शरण लिए । ‘जंगलमै बसेर जिन्दगी त नकट्ला,’ उनले भने, ‘भविष्यका लागि त केही सोच्नुपर्छ ।’ सरकारले मन्दिर बनाउन लागेकोमा उनी खुसी छन्, तर आफ्नो घर बनाउन सरकारले चासो नदिँदा दुःखी छन् । ‘हाम्रो धर्म संस्कृति जोगाउन मन्दिर आवश्यक हो । तर, हाम्रो घर पनि सँगैसँगै बनाइदिएको भए खुसी हुन्थ्यौँ । हाम्रो पुर्खा जंगलछेउमा बस्दै आयो । यो हाम्रो गल्ती मात्र थिएन, बाध्यता हो,’ उनले भने ।

अर्का पीडित दिपबहादुर प्रजा माडी नगरपालिका–७ को देवेन्द्रपुरकोे परुई खोलाको किनारमा बस्दै आएका छन् । कुसुमखोलाबाटै लगेको काठबाट उनले घर बनाएका हुन् । उनीसँगै यहाँ कुसुमखोलाबाट बसाइ सरी आएका ५५ घरका तीन सय ७५ जना चेपाङ छन् । ५२ वर्षका दिपबहादुरलाई कुसुमखोलाबाट आएपछि नयाँ घरमा बस्न पाइएला भन्ने आस थियो । तर, उनको आशा अहिलेसम्म पूरा भएको छैनन् । चारजनाको उनको परिवार अहिले मेलापात र राहतको सहयोगले जीवन निर्वाह गर्दै आएको छ । ‘पहिले जस्तै आफ्नै खेतीपातीबाट जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । मभन्दा पहिल्यै आएकाले त यहाँ घर र लालपुर्जा पाएका रहेनछन् । मैले के पाउँला,’ उनले भने ।

देवेन्द्रपुरका चेपाङलाई नयाँ घर बनाउन बजेट पनि विनियोजन भएको थियो । तर, निकुञ्ज प्रशासनले काम अघि बढाउन नदिँदा बजेट नै फ्रिज भयो । ‘कुसुमखोलाबाट विस्थापित भएका र त्यहीँ बस्दै आएका विपन्नलाई व्यवस्थापन गर्न नगरपालिकाले पहिलो चरणमा प्रदेश सरकार, नगरपालिका र दाताको सहयोगमा ९० वटा घर निर्माण थालेको थियो । तर, निकुञ्जले काम अगाडि बढाउन दिएन,’ माडीका मेयर ठाकुरप्रसाद ढकालले भने । परोई खोलाकिनारमा ५० वटा घर बनाउन पोल गाड्दै गर्दा निकुञ्जले रोकेको उनले बताए । जहाँ अहिले पनि निर्माण सामग्री र सिमेन्टका पोल अलपत्र परेको देखिन्छ । माडी–९ राईटोलमा निकुञ्जको अवरोधबीच ४७ वटा घर निर्माण गरिएको ढकालले बताए । ‘बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्नै दिएको थिएन, हामीले जबर्जस्ती यो काम गर्‍यौँ,’ उनले भने । कुसुमखोलाबाट बसाइँ सरी आएका ७३ घर छन् । 

 सरकारको प्राथमिकतामा परेनन् चेपाङ
एमालेबाट विजयी माडी नगरपालिका–९ की वडा सदस्य पूर्णिमा चेपाङ सरकारको प्राथमिकतामा चेपाङ नपरेको बताउँछिन् । ‘सरकारको नजरमा मानिसभन्दा ढुंगाको मूर्ति प्राथमिकतामा पर्दा जनतामा बढी समस्या भएको छ । ‘सरकारले राममन्दिर बनाएको ठीक छ, बजेट छ भने मन्दिर, मस्जिद, चर्च बनाओस् । तर, गरिब जनताको घरमा आगो लगाएर मन्दिरमा अगरबत्ती बाल्दा कुन भगवान् खुसी हुन्छन् होला ? जनताको आँसु झर्दा भगवान् खुसी होलान् ? मानिसहरू पहिला बाँच्नुपर्ने होला नि ? जनावर भए जंगलमा बस्नु हुन्थ्यो । मान्छे हो घरमा बस्नुपर्‍यो,’ उनले भनिन्, ‘हामी कुसुमखोलामा आफ्नै मिहिनेतले गुजारा गर्दै आएका थियौँ । दुनियाँले विरोध गर्दा र अदालतले आदेश दिँदा पनि हाम्रा घर ठडिएनन् । हामीले बिजुली, खानेपानी, बाटो, अस्पताल मागेनौँ, मात्र ओत लाग्ने घर मागेका थियाँै, तर हामी जनता रुवाएर मेरो कम्युनिस्ट सरकारले मन्दिर दियो ।’

बागमती सरकारले आव ०७८/७९ को बजेटमा सरकारको समन्वयमा चितवनस्थित माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्या–पर्यटकीय सहरको रूपमा विकास गर्न गुरुयोजना तयार गर्नुको साथै वैकुण्ठधाम मार्ग अयोध्यावाटिका, रामसीता उद्यान, हनुमान झुला, नदी व्यवस्थापनलगायतका निर्माण कार्य अगाडि बढाउने व्यवस्था मिलाएको उल्लेख गरेको छ । केन्द्र सरकारको बजेटमा समेत चितवनको अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन भएको उल्लेख छ । 

कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति अध्यक्ष छवि चेपाङले अन्यायविरुद्ध आन्दोलनमा उत्रे पनि आफूहरूको माग अझै सम्बोधन नभएको बताउँछन् । ‘हामीले सबै ठाउँमा ज्ञापनपत्र पनि दियौँ । धर्ना पनि बस्यौँ । तर, दुईतिहाइको कम्युनिस्ट सरकार हुँदा गरिब नै अन्यायमा परे । हामीलाई भन्दा वन र वन्यजन्तुलाई बढी माया रहेछ,’ उनले भने, ‘त्यसैले हामी आफ्नो घरबाट लखेटियौँ । कम्युनिस्ट सरकारले हामीलाई घर दिन्छ भन्ने सोचेका थियौँ । तर, उसको प्राथमिकतामा जनताभन्दा ठूलो रामन्दिर रहेछ ।’

माडीमा ११ दिनमै अस्थायी राममन्दिर निर्माण 
धादिङ र मकवानपुरबाट बसाइँ सर्दै चितवनको कुसुमखोला क्षेत्रमा तीन दशकदेखि चेपाङ परिवार बस्दै आएका थिए । सुरुमा एक सय ६० चेपाङ परिवार बस्थे  । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । १० घरपरिवार भने कुसुमखोला क्षेत्रमै बसिरहेका थिए । उनीहरूकै घरमा निकुञ्जले आगो लगाएर ध्वंश गरेको हो । सरकारले माडी–९ मा ११ दिनमै अस्थायी मन्दिरको मूर्ति बनाएर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखेको छ । मूर्तिहरू निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नै खर्चमा बनाएका हुन् ।

मन्दिर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको आर्थिक स्रोतमा निर्माण गरिएको हो । मूर्ति ल्याउन र अस्थायी मन्दिर बनाउन ३७ लाख ५१ हजार रुपैयाँ खर्च भएको थियो । मन्दिरको सत्तल, पूजा घर, शौचालय र मन्दिर प्रवेशद्वारसमेत मर्मत भएको छ । रामनवमीको अघिल्लो दिन स्वस्तिवाचनसहित धार्मिक विधिबाट तत्कालीन प्रधानमन्त्री ओलीले ती मूर्ति बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । सयौँ सवारीसाधन र हजारौँ मानिससहितको शोभायात्राबाट बग्गी, रथसहित मूर्तिहरू देवघाट ल्याइएको थियो । 

निवर्तमान प्रधानमन्त्री ओलीका कारण चेपाङको घर बन्न सकेन : ठाकुरप्रसाद ढकाल, प्रमुख माडी नगरपालिका
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल चेपाङको घर बनाउने चाहना हुँदाहुँदै पनि नसकेको बताउँछन् । निवर्तमान प्रधानमन्त्री ओलीका कारण चेपाङको घर नबनेको उनले बताए । ‘चेपाङको घर जल्दा प्रधानमन्त्रीलाई कुनै असर नै परेन ।

हामी बनाउँछौँ, निकुञ्ज अवरोध गर्छ, एउटा पत्र लेख्दिनुस् वा भन्दिनुस् भन्दा समेत उहाँले बेवास्ता गर्नुभयो । सरकारले नै नसोचेपछि मैले केही गर्न सकिनँ । बजेट फ्रिज भएको छ, जनता पालमा छन् । राज्यले सहयोग गरेन ।

संघीय सरकार र प्रदेश सरकारले नबोल्दा समस्या भयो,’ उनले भने । चेपाङका लागि निर्माणाधीन घर अलपत्र हुँदा मन्दिरका लागि रातो किताबमा बजेट राखिएको छ । ‘भगवानका मन्दिर पनि बन्नुपर्छ, धार्मिक महत्व बोकेको यस विषयले पक्कै नगरको विकासमा टेवा पुर्‍याउँछ । तर जनताका लागि घर पनि बन्नुपर्छ । बजेटमा यो प्राथमिकता देखिनँ,’ उनले भने ।