मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २ बुधबार
  • Wednesday, 18 August, 2021
२०७८ श्रावण ३ आइतबार १०:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अफगानिस्तानमा तालिवान विद्रोहीको आतंक नेपाली नागरिक सुरक्षित

Read Time : > 1 मिनेट
२०७८ श्रावण ३ आइतबार १०:२५:००

अफगानिस्तानमा अमेरिकासहित विदेशी सेना फर्किने क्रम सकिन लागेका वेला तालिवान विद्रोहीहरूले एक सय ५० भन्दा बढी जिल्लामा कब्जा गरेका छन् । सार्क सदस्य मुलुक अफगानिस्तानमा बढ्दो असुरक्षाप्रति चासो राख्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले काबुलमा रहेका करिब एक सयजना नेपालीहरूसँग समन्वय गरिरहेको जनाएको छ । 

आगामी १५ भदौसम्म काबुलस्थित अमेरिकी दूतावासको सुरक्षाका लागि ६ सय ५० जना सुरक्षा फौैजबाहेक बाँकी फौज फिर्ता हुनेछन् । अफगानिस्तानमा अमेरिकाले प्रशिक्षित गरेका करिब ३० हजार सरकारी फौज छन् ।

‘अफगानिस्तानको काबुलमा ग्रिन जोन एरियामा नेपालीहरू कार्यरत रहेको जानकारी आएको छ, हामी उहाँहरूसँग निरन्तर सम्पर्कमा छौँ,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग भने, ‘हामीले त्यहाँको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ । सबै पक्षसँग सम्पर्कमा छौँ ।’ 

काबुलभन्दा बाहिर असुरक्षा बढ्दै जाँदा भारतले महावाणिज्य दूतावासका सबै कर्मचारीलाई राजधानीमा केन्द्रित गरेको छ । तालिवानले नियन्त्रण जमाउँदै जाँदा उत्पन्न हुने त्रासदीबीच काबुलस्थित विदेशी दूतावासहरूमा सरकारले सुरक्षा सतर्कता बढाएको छ । 

काबुलस्थित संयुक्त राष्ट्रसंघीय विभिन्न कार्यालयमा करिब एक सयजना नेपाली छन् । कतिपय नेपाली नागरिक स्वदेश फर्किने क्रममा रहेको उपनियोग प्रमुख सुवेदीले जानकारी दिए । पाँच वर्षअघि ६ असार ०७३ मा काबुलमा विद्रोही समूहको विस्फोटमा परी १३ नेपालीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । काबुलस्थित एक अस्पतालमा कार्यरत चिकित्सक डा.शान्तिबहादुर थापाले राजधानीमा परिस्थिति सामान्य रहेको बताए । उनले काबुलबाट नयाँ पत्रिकासँग भने, ‘हामी काम गर्ने ठाउँमा परिस्थिति सामान्य छ । सुरक्षित रूपमा काम गरिरहेका छौँ ।’

अफगानिस्तानमा वर्तमान शासन समाप्त हुने र तालिवान हाबी हुने भय व्याप्त छ । विदेशी दूतावासहरूले काबुलबाहिर रहेका आफ्ना कर्मचारीलाई काबुलमा केन्द्रित गर्न थालेका छन् ।

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भइरहेका वेला तालिवान विद्रोहीहरूले उत्तरी इलाका कब्जा गर्न थालेका छन् । उनीहरूले हालसम्म करिब ८५ प्रतिशत भूभागमा नियन्त्रण जमाएको दाबी गरेका छन् । अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई हस्तान्तरण गर्न नमानेपछि अमेरिकाले अफगानिस्तानमा सन् २००१ अक्टोबरमा हमला गरेको थियो ।

अमेरिकी प्रयासमा तालिवान सरकार पतनसँगै नयाँ सरकार गठन भएको थियो । त्यसयता अमेरिका तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) फौजले अफगानिस्तानमा तालिवान विद्रोहीविरुद्ध निरन्तर अपरेसन सञ्चालन गर्दै आएका थिए । दश वर्षअघि पाकिस्तानको एबोटावादमा अलकायदा प्रमुख ओसामा बिन लादेन नेटो फौजको कारबाहीमा मारिएका थिए । त्यसपछि अमेरिकी सरकारले अफगानिस्तानबाट क्रमशः फौज फिर्ता गर्ने घोषणा गरे पनि यो वर्ष राष्ट्रपति जो बाइडेनले कार्यान्वयन गरेका छन् । 

‘अमेरिकाबाहेक नेटो सम्बद्ध मुलुकका फौज अफगानिस्तानबाट फिर्ता भइसकेका छन् । अमेरिकी फौज पनि धमाधम फिर्ता भइरहेको छ,’ काबुलमा रहेका स्थानीय पत्रकार माहेर सेरजोइले टेलिफोनमा नयाँ पत्रिकासँग भने । अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अमेरिकाले २० वर्षमा अफगानिस्तानलाई बर्बाद बनाएको भन्दै आक्रोश पोखेका छन् ।

अमेरिका र नेटो सम्बद्ध सबै फौजले ठूलो संख्यामा हतियार र गोलाबारुद सरकारी फौजलाई छाडेर गएका छन् । तालिवानसँग सक्रिय ७५ हजारभन्दा बढी लडाकु फौज रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, सरकारी फौजलाई तालिम र सुविधासम्पन्न नगरेको भन्दै अमेरिकी सेनाको आलोचना भइरहेको छ । अमेरिकी सेना १५ भदौमा फर्किनासाथ तालिवानले अफगानिस्तानको सत्ता हातमा लिने आकलन भइरहेको छ ।