१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०७८ असार २८ सोमबार ०९:२१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

देशका लागि मेसीको पहिलो उपाधि

Read Time : > 3 मिनेट
एजेन्सी
२०७८ असार २८ सोमबार ०९:२१:००

पछिल्लो पुस्ताका महान् खेलाडी मेसीको लोभलाग्दो खेल जीवनमा राष्ट्रिय टोलीको उपाधि मात्रै बाँकी थियो । क्लब फुटबलमा सबैभन्दा बढी सफलता चुमेका मेसीलाई राष्ट्रिय टोलीको असफलताको धब्बा लाग्ने डर थियो

 एउटा पीडादायी लामो पर्खाइको अन्त्य गर्दै लियोनल मेसीले राष्ट्रिय टोलीबाट पहिलो उपाधि जित्न सफल भएका छन् । आइतबार बिहान भएको दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा आयोजक तथा साबिक विजेता ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले यो महत्वपूर्ण उपाधि जितेको हो । 

यो उपाधिको महत्व मेसीका लागि भन्दा बढी अरू कसैका लागि सायदै होला । पछिल्लो पुस्ताको महान् खेलाडी मेसीको लोभ लाग्दो खेल जीवनमा राष्ट्रिय टोलीको उपाधि मात्रै बाँकी थियो । क्लब फुटबलमा अन्य कुनै खेलाडीले भन्दा बढी नै सफलता आत्मसात् गरेका यी फुटबल ‘जिनियस’को जीवनमा राष्ट्रिय टोलीको असफलताको धब्बा लाग्ने डर थियो । यो उपाधिसँगै उनले त्यो सम्भावनाको अन्त्य गरेका छन् । त्यसको खुसी उनले मैदानमै पोखे । 

ब्राजिलको माराकाना स्टेडियममा रेफ्रीले खेल सकिएको अन्तिम ह्विसिल फुकेसँगै ३४ वर्षीय मेसी खुसीले भुइँमा बसे । सबै खेलाडी उनीसँग अंकमाल गर्न र उनलाई बधाई दिन झुम्मिए । त्यसपछि उनी पनि खुसीले आफ्नो हात हावामा फ्याँक्दै मैदानमा दौडिएका थिए ।

अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट १० महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा उनले यो पहिलो उपाधि जितेका हुन् । जसमा सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा पनि मुख्य छन् । यी प्रतियोगितामा उनले आफ्नो नेतृत्वमा वा आफू मुख्य खेलाडी भएर टोलीलाई फाइनलसम्म डोहोर्‍याएका थिए ।

तर, विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनालाई कोपा अमेरिकाको त्यो दुवै फाइनलमा चिलीले स्तब्ध पारेको थियो । यो अर्जेन्टिनाले पनि २८ वर्षपछि जितेको पहिलो उपाधि हो । मेसी यो प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीसमेत चुनिएका छन् । प्रतियोगिता अवधिभर आफ्नो टोलीका लागि चार गोल गरेका उनी सर्वाधिक गोलकर्ता खेलाडीमध्ये पनि रहे ।

प्रतिस्पर्धात्मक देखिएको फाइनल खेलमा अर्जेन्टिनाले एन्जेल डी मारियाको गोलमार्फत अग्रता बनाएको थियो । खेलको २२औँ मिनेटमा रोड्रिगो डी पलले ब्राजिलका रक्षकहरूसमेत ‘बिट’ हुने गरी गरेको लामो प्रहारलाई डी बक्स कर्नरनजिक नियन्त्रणमा लिँदै डी मारियाले ‘चिप’ गरेका थिए । उनको चिप गरेको उक्त बल ब्राजिलका गोलरक्षक इडर्सनलाई नाघेर गोलमा परिणत हुन पुगेको थियो । खेलमा त्यसपछिको समयमा दुवै टोलीबाट गोल नभएपछि डी मारियाको त्यो गोल मेसीलाई ऐतिहासिक उपलब्धि दिलाउन पर्याप्त बन्यो ।

खेलमा मेसी आफँैले पनि गोलका केही राम्रा अवसर पाएका थिए । ती अवसर सदुपयोग गर्न सकेको भए मेसीको यो उपलब्धि अझ विशेष हुने निश्चित थियो । ‘खुसी निकै धेरै छ । सोँचेको भन्दा पनि बढी छ’, मेसीले भनेका छन्, ‘मैले धेरैपटक यो सफलताको सपना देखेको थिएँ । मलाई अहिलेको यो टोलीमाथि साँच्चिकै धेरै विश्वास थियो । कोपा अमेरिकाको गत वर्षको संस्करणपछि हाम्रो यो टोली साँच्चिकै बलियो बनेको छ । अहिलेको यो टोली साँच्चिकै धेरै राम्रा खेलाडीहरूको समूह बनेको छ । जसले सधैँ अगाडि बढ्ने प्रयास गर्दछ ।’

ब्राजिल घरेलु मैदानमै उपाधिबाट वञ्चित
ब्राजिलले भने फाइनल खेलमा आशा गरिएजत्तिको प्रदर्शन गर्न सकेन । उनीहरूले अर्जेन्टिनाको पोस्टमा लगभग एक मात्र राम्रो आक्रमण गर्न सके । रिचार्लिसन र गाब्रिइल बार्बाेसाले एउटा राम्रो तालमेल देखाउँदै गरेको प्रयासलाई अर्जेन्टिनाका गोलरक्षक इमी मार्टिनेजले नियन्त्रणमा लिएका थिए । आफ्नो टोली घरेलु मैदानमै उपाधिबाट वञ्चित भएपछि क्लब फुटबलमा मेसीका नजिकका साथी नेमार भने निकै दुःखी देखिए । उनले मैदानमै आँसु झारेका थिए । चोटका कारण सन् २०१९ मा ब्राजिलले कोपा अमेरिकाको उपाधि जित्दा अवसर गुमाएका नेमार पनि उपाधिको खोजीमै छन् ।

सन् २०१३ देखि ०१७ सम्म स्पेनिस टोली बार्सिलोनाबाट सँगै व्यावसायिक फुटबल खेलेका नेमारले खेल सकिएपछि मेसीलाई बधाई दिएका थिए । उनीहरूले अंकमाल गरेर मैदानमा लामै समय बिताए । ‘यदि मेसीले यो प्रतियोगितामा खेलेको तरिका थाहा पाउनुभयो भने तपाईंले उनलाई झनै माया गर्नुहुनेछ’, अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कोलानी भन्छन्, ‘उनीजस्ता खेलाडीविना तपाईं यो सफलता हात पार्न सक्नुहुने छैन । आफू पूर्ण फिट नहुँदा पनि उनले सशक्त प्रदर्शन दिएका छन् ।’

सेमिफाइनलसम्म दर्शकविना खेलाइएको प्रतियोगिताको फाइनल खेलमा भने केही दर्शक र अतिथिलाई प्रवेश दिइएको थियो । झन्डै सात हजारको हराहारीका दर्शक र अतिथिहरूले मैदानमै पुगेर फाइनल खेल हेरेका थिए । गत वर्ष नै हुनुपर्ने यो प्रतियोगिता कोरोना भाइरस महामारीका कारण यो वर्ष सारिएको हो । महामारीकै कारण अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्ने भनिएको प्रतियोगिता अन्तिम समयमा ब्राजिलमा आयोजना गरिने निर्णय भएको थियो ।

सन्न्यासबाट फर्किएपछिको सफलता
मेसीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट ठूला महत्वपूर्ण प्रतियोगिता खेल्न थालेको १५ वर्ष पुगेको छ । चार विश्वकप र ६ वटा कोपा अमेरिकाअन्तर्गत ५३ खेलपछि मात्रै उनी राष्ट्रिय टोलीबाट पहिलो उपाधि जित्न सफल भएका छन् ।

पछिल्लो समयका सर्वश्रेष्ठ खेलाडी मानिएका मेसीले क्लब फुटबलबाट हात पार्न नसकेको उपाधि सायदै होलान् । ला लिगाको १० वटा उपाधि, युरोपियन च्याम्पियन्स लिगको चार उपाधि र ६ वडा बेलोन डिअर अवार्ड जितेका मेसी राष्ट्रिय टोलीबाट भने उपाधि शून्य थिए । राष्ट्रिय टोलीबाट उनको यो उपाधि पर्खाई साँच्चिकै पीडादायी रह्यो ।

सन् २०१४, ०१५ र ०१६ मा लगातार उपाधिबाट चुकेपछि उनले राष्ट्रिय टोलीबाट सन्न्यासकै घोषणा गरेका थिए । धेरैकै अनुरोधपछि सन्न्यासको निर्णय फिर्ता लिएर खेलमा फर्किएका उनले अन्ततः यो महत्वपूर्ण सफलता हात पारेका छन् । ‘अन्ततः मेसीले रिसले ट्रेसिङ रुममा टावेल फ्याँकेनन् । उनी सफल उपाधि अभियानमा सफल भएका छन्,’ अर्जेन्टिनी प्रशिक्षक स्कोलानी भन्छन्, ‘हामी सर्वकालीन महान् फुटबलरको कुरा गर्दै छौँ । राष्ट्रिय टोलीबाट उपाधि जित्नु उनका लागि कत्तिको महत्वपूर्ण छ भन्ने कुरा सबैले बुझेका छन् ।’

मेसी ब्राजिलविरुद्ध खासै आक्रामक देखिएनन् । अग्रता बनाएलगत्तै अर्जेन्टिनाले रक्षात्मक रणनीति अपनाएपछि मेसीले बलमाथिको अवसर नै कम पाए । यद्यपि, प्राप्त अवसरमा उनले आफ्नो टोलीलाई अघि बढाउने प्रयास गरे ।