१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २६ शनिबार ०८:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी धितोपत्र बोर्डमा छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २६ शनिबार ०८:१८:००

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष ०७८/७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा अन्तरक्रिया गरेको छ । बोर्डले सरकोकारवालाबाट राय–सुझाब लिने उद्देश्यले वेबिनारमार्फत छलफल तथा अन्तरक्रिया गरेको हो । 

अन्तरक्रिया बोर्डका पूर्वअध्यक्षहरू, नेप्सेका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, विश्वविद्यालयका प्राध्यापकहरू, धितोपत्र व्यवसायी संघका अध्यक्षलगायतका बीचमा भएको थियो । त्यसैगरी, कार्यक्रममा विभिन्न लगानीकर्ता संघ–संस्थाका प्रतिनिधिहरू, आर्थिक पत्रकारहरूका साथै अर्थतन्त्रसम्बद्ध पक्षहरू पनि सहभागी भएको जनाइएको छ । 

कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपालको पुँजी बजारको विकासका लागि चार वर्षीय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको बताए । आगामी वर्षमा नै उक्त रणनीतिको करिब ४० प्रतिशत कार्य सम्पन्न हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा गर्न लागिएको उनको भनाइ थियो । अध्यक्ष ढुंगानाले पुँजी बजारको विकास तथा विस्तारका लागि सबै पक्षको साथ भएमा आगामी केही वर्षमा नै नेपालको पुँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन र सुधार हुने विश्वास व्यक्त गरेका थिए । 

कार्यक्रममा नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउदले इन्ट्राडे ट्रेडिङ, ओटिसी बजार प्रभावकारी बनाउने तथा एसएमई बजारको स्थापना गर्नुपर्नेमा जोड दिँदै संस्थागत ब्रोकर राख्नुपर्ने, पेमेन्ट गेटवेलाई स्थापना गर्नुपर्नेलगायतका विषयमा धारणा राखेका थिए । 

बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्जलाई अनुमति प्रदान गर्नुपर्ने, सूचीकृत कम्पनी बढाउन पहल गर्नुपर्ने, बजारको स्थायित्वमा जोड दिनुपर्ने, नेपाल स्टक एक्सचेन्जले क्षमता बढाउनुपर्ने, स्टक ब्रोकरलाई डिलरसिप र कर्पोरेट एडभाइजरी कार्य गर्न दिनुपर्ने, इक्विटी डेरिभेटिभ्सको व्यवस्था, बोर्डलाई आयकर नलाग्ने व्यवस्था गर्नुपर्नेलगायतका सुझाब दिएका थिए । बोर्डका पूर्वअध्यक्ष दीपकराज काफ्लेले मर्जर तथा प्राप्ति, एडभाइजरी भूमिका सम्बन्धमा व्यवस्था गर्नुपर्ने र बजारको स्थायित्वका लागि जोड दिनुपर्ने बताए ।

कार्यक्रममा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बजारको पहुँच विस्तारका लागि आधिकारिक प्रतिनिधिको व्यवस्था शीघ्र गर्नुपर्ने, धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न दिनुपर्ने तथा ऋणपत्र बजारको विकास गर्नुपर्ने धारणा राखेका थिए । मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले बजारमा सहभागीको क्षमता अभिवृद्धि गर्नुपर्ने, स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने तथा प्रशिक्षण संस्था स्थापना गर्नुपर्ने धारणा राखेका थिए ।