मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १o:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाख्रा जोगाउन खोज्दा बाख्रासँगै भेलमा बगे कार्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२७:oo

अविरल वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाको ताराखोलाका एक युवा बेपत्ता भएका छन् । मंगलबार राति परेको भारी वर्षासँगै आएको लेदोसहितको बाढीले ताराखोला गाउँपालिका– ३ हिलस्थित घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । 

घर्तीका अनुसार अन्य तीनजना घाइते भएका छन् । घाइतेमध्ये खेमकली कार्कीको हातमा गहिरो चोट लागेको र अन्यको अवस्था सामान्य रहेको छ । राति खोलामा एक्कासि बाढी आएपछि नजिकै रहेको बाख्रा फार्म बगाउन थालेपछि जोगाउन खोज्दा फर्मसँगै राजेन्द्रलाई बगाएको अध्यक्ष घर्तीले बताए । बाढीले कार्की परिवारको गोठमा रहेका भैँसी र बाख्रा पुरिएका छन् । कार्कीको प्रहरी र स्थानीयले रातिदेखि नै खोजीकार्य गरे पनि  बुधबार बिहानसम्म फेला परेका छैनन् ।

तस्बिर : ताराखोला –२ अर्गलमा आएको पहिरोले भत्किएको घर

कार्कीको गोठमा रहेका ४१ बाख्रामध्ये  १८ वटा मृत भेटिएका छन् भने ११ वटा घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । त्यसैगरी स्थानीय ध्रुव क्षेत्रीको ब्लकको गारो रहेको टिनको छानो भएको एकतले होटेल पनि बगाएको छ । बाढीले महेन्द्र कार्कीको १२ वटा बाख्रा र एक गोठ,  तोपबहादुर कार्कीको घर बगाएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । 

बाढीसँगै बजारछेउमा रहेको खोलामा पानीको बहाव बढेपछि घुस्मेली बजार क्षेत्रका २५ परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । बजार क्षेत्रमै बाढी पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् । अविरल वर्षासँगै आएको पहिरोले ताराखोला– २ अर्गलमा पनि एक घर पुरिएको छ । घरका सबै सदस्य भने सुरक्षित रहेका छन् । त्यसैगरी, ताराखोला गाउँपालिका– १ माझखर्कमा घरमाथिबाट आएको पहिरोले स्थानीय गंगाबहादुर मगरको गोठ र उक्त गोठमा रहेको एक भैँसी र दुई बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।