मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ४ बिहीबार
  • Thursday, 21 October, 2021
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ असार १३ आइतबार ०५:५३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दातृ निकायले एअरलिफ्ट गरेर ल्याइदिएका भेन्टिलेटर अस्पतालका स्टोरमा थन्किए

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ असार १३ आइतबार ०५:५३:००

कोभिड महामारीबीच अक्सिजन र भेन्टिलेटर अभावमा जनताको जीवन जान थालेपछि सरकारले विश्वसमुदायसँग सहयोगको लागि हात फैलायो, नेपालको स्वास्थ्य प्रणाली ‘क्र्यास’ भयो भन्दै विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि संसाभरबाट सहयोग पनि जुट्यो । तर, दाताले ‘एअरलिफ्ट’ गरेर ल्याइदिएका धेरैजसो भेन्टिलेटर अहिले विभिन्न अस्पतालका स्टोरमा थन्किएका छन् ।

यो पनि पढ्नुहोस्

 

000

महाकाली अस्पतालमा चार भेन्टिलेटर स्टोरमा थन्किए

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा १४ भेन्टिलेटर छन् । तर, सञ्चालनमा आठ मात्रै छन् । महामारीका वेला केन्द्रबाट पठाइएका तीनमध्ये दुईवटा स्टोरमा थन्क्याएर राखिएको छ । जडान गर्ने जनशक्ति नहुँदा ती भेन्टिलेटर थन्किएका हुन् । अस्पताल आफैँले खरिद गरेका अन्य दुई पनि बिग्रिएकाले स्टोरमा थन्क्याइएको महाकाली अस्पतालका स्टोर प्रमुख तिलक जोशीले जानकारी दिए । 

कोरोना महामारीका वेला सुविधासम्पन्न उपकरण थन्किएपछि बिरामीको उपचारमा समस्या भोग्नुपरेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आइसियू सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग पटक–पटक माग गर्दासमेत जनशक्ति नदिएको बताए । ‘हामीले यो महामारी मध्यनजर गर्दै कोरोना संक्रमितको उपचारका लागि जनशक्ति माग गरिरहेका छौँ, तर कहीँकतैबाट पहल हुँदैन, ‘उनले भने, ‘हामी महामारीको उच्च जोखिममा छौँ ।’

कोरोना हटस्पट बनेको सुदूरपश्चिममा जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

कोभिड दोस्रो लहरको हटस्पट बनेको सुदूरपश्चिममा नियति अझ दर्दनाक छ । उपचार अभावमा थुप्रैले ज्यान गुमाए । तर, प्राण बचाउन सहयोगी मानिने भेन्टिलेटर थन्किएर बस्यो । कारण हो, जनशक्ति अभाव । 

संघ र प्रदेश सरकार तथा दातृ निकायबाट समेत गरी टीकापुर अस्पतालले यसै वर्ष १२ वटा भेन्टिलेटर प्राप्त गरेको छ । तर, जनशक्ति नहुँदा ती प्रयोगविहीन छन् । 

प्रदेश सरकारले सात महिनाअघि टीकापुर अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरेको थियो । त्यसयता, अस्पताललाई संघीय सरकारले चार वटा र युएनडिपीले एउटा भेन्टिलेटर दिएको छ । यहीबीचमा कोरोना संक्रमण दर उच्च हुँदा अस्पतालमा बिरामीको चाप बढ्यो । कोरोना संक्रमितले अस्पतालबाट भेन्टिलेटरको सुविधा भने पाएनन् । उपकरण भएर पनि चलाउने जनशक्ति नभएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालले अन्यत्र रेफर गर्नुपर्‍यो । कोरोना संक्रमित केहीले अस्पतालमै ज्यान गुमाए ।

‘भेन्टिलेटर सुविधा भएको केहीको ज्यान जोगाउन सकिन्थ्यो होला,’ टीकापुर अस्पतालका मेसु डा. रेमकुमार राईले विवशता पोखे, ‘चलाउने जनशक्ति नभएपछि उपकरण भएर मात्र के गर्नु ?’ 

मंगलबार मात्र नेपाल अविष्कार केन्द्रले टीकापुर अस्पताललाई पाँचवटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । अहिले जानकी गाउँपालिकाले तलब दिने गरी भेन्टिलेटर चलाउन एकजना एनेस्थेसियोलोजिस्ट नियुक्तिको प्रक्रिया अगाडि बढाइएको मेसु राईले बताए । भवन र जनशक्तिको अभावले पाँचवटा मात्रै भेन्टिलेटर चलाउने अस्पतालको तयारी छ । प्रदेश सरकारले मागेमा बाँकी भेन्टिलेटर दिइने उनले बताए ।

सुदूरका सात अस्पतालको पीडा पनि उस्तै

सुदूरपश्चिमका सातवटा अस्पतालमा जडान गरिएका भेन्टिलेटर जनशक्ति नहुँदा थन्किएका छन् । प्रदेश सरकारले यस वर्ष सेती र महाकाली प्रादेशिक अस्पतालमा तीन–तीन तथा टीकापुर अस्पताल र डडेल्धुराबाहेक पहाडका अन्य ६ वटा जिल्ला अस्पतालमा दुई–दुईवटा भेन्टिलेटर जडान गरेको थियो । 

संघीय सरकार र दातृ निकायले पनि केही अस्पताललाई भेन्टिलेटर दिएका थिए, तर सेती, महाकाली र डडेल्धुरा अस्पतालबाहेक अन्य अस्पतालमा जडान गरिएका भेन्टिलेटर प्रयोगविहीन छन् । कोरोना संक्रमणको दोस्रो लहरका वेला सुदूरपश्चिममा भेन्टिलेटरको चरम अभाव भएको थियो । जनशक्ति नपाउँदा भेन्टिलेटर थन्क्याएर राख्नुपरेको सम्बन्धित अस्पतालहरूले बताएका छन् । भेन्टिलेटर चलाउने उच्च स्तरको जनशक्ति देशभरमै अभाव रहेकाले यहाँका अस्पतालले पनि पाउन नसकेका प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । 

बझाङमा सात महिनादेखि थन्कियो भेन्टिलेटर 

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा जिल्ला अस्पताल बझाङमा सात महिनाअघि जडान भएको भेन्टिलेटर पनि थन्किएको छ । अस्पतालले यसै वर्ष दुईपटक विज्ञापन गर्दासमेत भेन्टिलेटर चलाउने जनशक्ति पाएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्दीप ओखेडाले भेन्टिलेटर जडान गरे पनि प्रयोगविहीन रहेको बताए ।

वैशाख–जेठमा कोरोना संक्रमण तीव्र बन्दा बझाङ जिल्ला अस्पतालमा पनि संक्रमितको चाप बढेको थियो । तर, जनशक्ति नहुँदा भएको भेन्टिलेटर उपयोगविहीन भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थाका १२ जनालाई अन्यत्र रेफर गर्नुपरेको डा. ओखेडाले जानकारी दिए । त्यसरी रिफर गरिएकामध्ये केहीले समयमा अस्पताल नपुग्दा ज्यान गुमाएको उनले बताए । ‘गम्भीर अवस्थामा पुगेपछि भर्ना भएका र तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितले अस्पतालमै पनि ज्यान गुमाए,’ मेसु ओखेडाले भने, ‘भेन्टिलेटर सुविधा भएको भए थोरैको भए पनि ज्यान जोगाउन सकिन्थ्यो ।’ 

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ मध्ये ३ थन्किए

लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका सातमध्ये तीन भेन्टिलेटर अझै जडान हुन सकेको छैन । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बेड अभावमा प्राप्त भेन्टिलेटर जडान नगरिएको जानकारी दिए । उनले छिट्टै बेडको व्यवस्था गरेर जडान गरिने बताए । 

संघीय सरकारबाट लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा आएका सात भेन्टिलेटर भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल, कपिलवस्तु अस्पताल, भेरी अस्पताल र दाङमा पठाइएको डा. पुष्प पौडेलले जानकारी दिए । 

स्याङ्जा र पर्वतमा पनि थन्किए भेन्टिलेटर

कोरोना कहरका वेला गण्डकी प्रदेश सरकारले प्राप्त गरेका भन्टिलेटरमध्ये दुईवटा भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन् । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार स्याङ्जा जिल्ला अस्पतालमा पठाइएको एउटा भेन्टिलेटर र पर्वत अस्पतालमा पठाइएको भेन्टिलेटर जनशक्तिको अभावमा थन्किएका हुन् ।

‘ती जिल्लामा हामीले भेन्टिलेटर त पठायौँ, तर जनशक्ति अभावले चलाउन सकिएन,’ उनले भने । खड्काका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा आएका आठवटा र प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा आएका दुईमध्ये बाग्लुङको धौलागिरी अस्पताललाई चारवटा, बेनी अस्पताल, स्याङ्जा अस्पताल, पर्वत अस्पताल, गोरखा अस्पतालमा एक÷एकवटा भेन्टिलेटर पठाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएका सातवटा भेन्टिलेटर भने प्रयोगमै छन् ।

तनहुँमा पनि जनशक्ति अभाव

दमौली अस्पतालमा संघीय सरकारबाट चारवटा भेन्टिलेटर प्राप्त भएका छन् । जनशक्ति अभावले सबै भेन्टिलेटर सञ्चालनमा समस्या रहेको मेडिकल सुपरिडेन्टेन्ट सुनील पौड्यालले बताए । ‘भेन्टिलेटर सञ्चालन गर्न विशेषज्ञ चाहिन्छ । यहाँ कसैले पनि चलाउन जानेका छैनन् । जनशक्ति अभावका कारण म चौबिसै घन्टा खटिनुपरेको छ,’ उनले भने, ‘एकजना एनेस्थेसिओलोजिस्ट र फिजिसियन तत्कालै आवश्यक परेको छ ।’

तनहुँकै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा रहेको चारवटा भेन्टिलेटरमध्ये दुईवटा मात्रै सञ्चालनमा रहेको छ । दुईवटा बिग्रिएको छ । कोरोना महामारीका वेला यहाँ विभिन्न निकायबाट चारवटा भेन्टिलेटर प्राप्त भएको थियो । तीमध्ये दुईवटा सञ्चालनमा रहेको र दुईवटा बिग्रिएर मर्मतका लागि पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

उदयपुरमा पुगेन भेन्टिलेटर

कोरोना महामारी सुरु भएयता विभिन्न देशबाट नेपाललाई सहयोगमा प्राप्त भएकामध्ये एउटा भेन्टिलेटर उदयपुर जिल्ला अस्पतालमा पठाएको स्वास्थ्य मन्त्रालयको दाबी छ । भेन्टिलेटर वितरण गरिएका जिल्लाको सूचीमा उदयपुरको पनि नाम छ । तर, जिल्ला अस्पतालमा हालसम्म भेन्टिलेटर पुगेको छैन । जिल्ला अस्पतालका सूचना अधिकारी वृषबहादुर खत्रीले संघीय सरकारबाट हालसम्म भेन्टिलेटर प्राप्त नभएको बताए । आर्थिक वर्ष ०७६/७७ मा अस्पतालले करिब एक करोड रुपैयाँमा दुई थान भेन्टिलेटर खरिद गरेको थियो । तर, दुवै भेन्टिलेटर अहिलेसम्म सञ्चालनमा छैनन् । दक्ष जनशक्ति अभावका कारण थन्किएको सूचना अधिकारी खत्रीले जानकारी दिए ।

विशेषज्ञविना जिल्ला अस्पताल सिराहामा चारवटा भेन्टिलेटर जडान 

कोरोनाको दोस्रो लहरबीच गत वैशाखमा प्रदेश २ को सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला अस्पताल सिराहमामा चारवटा भेन्टिलेटर जडान गरिएको छ । तर, विशेषज्ञ चिकित्सक नभएकाले सबै भेन्टिलेटर सञ्चालनमा छैनन् । भेन्टिलेटर चलाउन विशेषज्ञ चिकित्सकसहित चारजना मेडिकल अफिसर र आठजना स्टाफ नर्स आवश्यक भएको जिल्ला अस्पताल सिराहाले जनाएको छ । अहिले तीनजना मेडिकल अफिसर र आठजना स्टाफ नर्सको भरमा भेन्टिलेटर चलिरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले भेन्टिलेटर दिए पनि सामाजिक विकास मन्त्रालयले दक्ष जनशक्ति व्यवस्थापन नगरेकाले आवश्यकताअनुसार सेवा दिन नसकिएको बताए । 

सप्तरीमा सातमध्ये एउटै सञ्चालनमा आएन, चार भेन्टिलेटर एक दिन पनि नचल्दै बिग्रियो

राजविराज नगरपालिका– ९ गढियाका ३८ वर्षीय कोभिड संक्रमित पुरुषको भेन्टिलेटर अभावमा गत २७ वैशाखमा ज्यान गयो । तीन दिनपछि ३० वैशाखमा तिलाठी–कोइलाडी गाउँपालिका– ४ का ४७ वर्षीय पुरुषले प्राण त्यागे । कोरोनाको दोस्रो लहरले तीव्रता लिएको वैशाखको अन्तिम साता भेन्टिलेटर र अक्सिजन अभावमा अस्पताल चहार्दाचहार्दै सप्तरीमा तीनजनाले ज्यान गुमाए । तर, प्रदेश २ सरकारले कोरोनाको पहिलो लहरमै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको चारवटा भेन्टिलेटर र केही समयअघि पठाएको दुईवटा गरी ६ वटा भेन्टिलेटर अहिलेसम्म सञ्चालनमै आएका छैनन् । 

प्रदेशमातहत रहेको हनुमानगर–कंकालिनी नगरपालिका– १ भारदह जिल्ला अस्पतालमा प्रदेश सरकारले पठाएको थप एउटा भेन्टिलेटर सञ्चालनमा ल्याइएको छैन । गजेन्द्रनारायण सिंह अस्पतालका मेसु रञ्जितकुमार झाका अनुसार राजविराजस्थित अस्पतालमा चार भेन्टिलेटर छन् । तर, अक्सिजन कन्सन्ट्रेटरमा प्राविधिक गडबडी भएकाले भेन्टिलेटर पनि उपयोगमा आउन सकेका छैनन् । उनी भन्छन्, ‘भेन्टिलेटरको प्राविधिक समस्या समाधान भई आवश्यक जनशक्ति उपलब्ध भए मात्र भेन्टिलेटर सञ्चालनमा आउन सक्ने अवस्था छ ।’ 

जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार भारदह अस्पतालमा जनशक्ति नभएर भेन्टिलेटर सञ्चालन भएको छैन भने गजेन्द्रनारायण सिंह अस्पतालमा जनशक्ति हुँदासमेत भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । उनले भने, ‘हामीले पाएका चारवटा भेन्टिलेटर त एक दिन पनि चलेनन् । चलाउन सुरु गरेलगत्तै बिग्रिए ।’ 

चरिकोटमा पनि भेन्टिलेटर थन्किएको छ

 

तस्बिर : श्याम खतिवडा

 

कञ्चनपुरमा मोहन विष्ट, धनगढीमा तेजराज भट्ट, भैरहवामा दिपेश पछाई, पोखरामा गोविन्द सुवेदी, तनहुँमा उपेन्द्र खनाल, उदयपुरमा जीवनाथ दाहाल, सिराहामा सुरेन्द्रकुमार कामती र सप्तरीमा भोला पासवान