१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा कोरोनाका जटिल बिरामीको उपचारमा समस्या 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:३६:oo

रसुवामा कोरोना भाइरसका कारण जटिल बनेका बिरामीको उपचारमा समस्या भएको छ । जिल्लामा अत्यावश्यक उपकरण तथा दक्ष चिकित्सक नभएपछि जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या भएको हो । 

जटिल प्रकृतिका बिरामीको उपचारमा अत्यावश्यक आइसियू, भेन्टिलेटरलगायतका उपकरण र त्यसको सञ्चालनमा आवश्यक दक्ष चिकित्सक नहुँदा बिरामीलाई थप उपचारका लागि जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । यसले बिरामीको ज्यानै जाने खतरा बढेको छ । 

अहिले जिल्लामा लक्षणसहितका कोरोनाका जटिल प्रकृतिका बिरामी देखिएका छन् । मनसुन सुरु भएपछि ग्रामीण भेगमा रुघा, खोकी, ज्वरो, झाडापखाला, बान्ता हुने समस्यासहितका बिरामी बढेको जिल्ला अस्पताल रसुवाले जनाएको छ । यी समस्या जटिल बन्दै आएमा बिरामीको उपचारमा समस्या हुने अस्पतालको भनाइ छ । जिल्लाका अस्पतालमा पूर्ण प्रविधिसहितको व्यवस्थापन छैन ।  

जिल्लाका अधिकांश बिरामीहरू रसुवा अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पतालमा जाने गरेका छन् । कोरोनाको संक्रमणदर बढेसँगै जिल्लामा कोरोनाका जटिल प्रकृतिका बिरामीहरू देखिएका छन् । वैशाखदेखि यता हालसम्म  पूर्ण प्रविधि नहुँदा रसुवा अस्पतालमा जटिल प्रकृतिका ३० जना  बिरामी नुवाकोट तथा काठमान्डाैं रिफर भएका थिए । त्यसैगरी जिबजिबे ग्रामीण अस्पतालबाट पनि वैशाखयता २० जनाभन्दा बढी बिरामी जिल्लाबाहिर रिफर भएको अस्पतालको तथ्यांक छ ।

रिफर भएकाहरूमा फोक्सोका निमोनिया,  अक्सिजन मात्रा कमलगायतका समस्या देखिएको अस्पतालहरूले जनाएका छन् । डाक्टरहरूका अनुसार उनीहरूलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था रहेको थियो । जिल्लाबाहिर रिफर गरिएकामध्ये केहीको उपचारको क्रममा तथा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको छ । 

आइसियू र भेन्टिलेटर आवश्यक भएका बिरामीलाई जिल्लामा उपचार गर्न समस्या भएसँगै रिफर गर्ने गरेका जिबजिबे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । 

आएका उपकरण जडान हुन सकेनन्
पछिल्लो समय कोरोनाका जटिल प्रकृतिका बिरामी बढेसँगै नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै जिल्लाको रसुवा जिल्ला अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पताललाई विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले व्यक्तिगत रूपमा चारवटा मिनी भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । 

दुई अस्पतालमा दुईदुईवटा मिनी भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री पुगेका छन् । तर, दक्ष चिकित्सक नहुँदा मिनी भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको अस्पतालहरूले बताएका छन् । रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले भने, 'विघटित प्रतिनिधिसभाका सांसदबाट प्राप्त दुईवटा मिनी भेन्टिलेटरलगायतका सामग्री आएको छ, तर यो सञ्चालनका लागि एमडिजिपी डाक्टरको आवश्यकता पर्छ, तर यहाँ त यो छैन, उपकरण आए पनि दक्ष चिकित्सक नहुदा सञ्चालनमा ल्याउन सकेनौँ।' 

हाल जिल्लामा कोरोनाका लक्षण मिल्दाजुल्दा बिरामी बढिरहेका छन् । जिल्लामा रहेका अस्पतालमा स्वास्थ्य परिक्षणसँगै एक्सरे सेवा, अल्ट्रा साउन्ड, डेन्टल सेवा, फिजियोथेरामी, रगत परीक्षण र कुनै दुर्घटना भएमा चोटपटकको उपचार मात्र हुने गरेको पाइएको छ ।

ad
ad