१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ

उद्योगी–व्यवसायीको एकै स्वर- ‘सरकारले समयमै कोभिड–१९ को खोप दिन नसक्दा  मुलुकको अर्थतन्त्र धराशयीको बाटोमा’  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३२:oo

उद्योगी–व्यवसायीले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड–१९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धराशायी हुने चेतावनी दिएका छन् । सरकार घरभित्र थुन्नेमा केन्द्रित हुने, तर खोप ल्याएर धेरै नेपालीलाई लाउने अभियानमा सहभागी नहुनुले गम्भीर समस्या आउने व्यवसायीले बताएका छन् । 

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागको आयोजनामा ‘कोभिड–१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी दर्जनौँ व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुकको अर्थतन्त्र समस्यामा जाने बताएका हुन् । 

कार्यक्रममा बोल्दै उद्योगपति विनोद चौधरीले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रित नहुनुले गम्भीर आशंका उत्पन्न गरेको बताए । संकटमा अक्सिजन नै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको उनको भनाइ थियो । चौधरीले भने, ‘भारतले नोभेम्बरभित्र सम्पूर्ण नागरिकलाई सबै भ्याक्सिन लगाउने घोषणा गरिसकेको, तर हामी कहिले हो ? टुंगो छैन ।’ विभिन्न ठाउँमा पत्र पठाएकोमा सरकार रमाइरहेको, तर भ्याक्सिन भने आउन नसकेको उनको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याई जनतालाई नदिएसम्म मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने बताए । कोभिड–१९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको, तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाए । उनले भने, ‘धेरैभन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ, घरमा थुनेर समस्या समाधान हुँदैन ।’  

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको बताए । अब भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकाले सरकार त्यसमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लकडाउनकै बीचमा सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकाल्नु गलत भएको बताए । उनले भने, ‘कोभिड–१९ का कारण उद्योग–व्यवसाय क्षेत्रमा कति असर परेको छ भन्ने सरकारले कल्पनासमेत गर्न सक्दैन ।’ 

बैंकमा समेत तरलताको समस्या आइसकेको अवस्थामा सरकारले विकास बजेट खर्चमा केन्द्रित हुनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । मंसिरदेखि जेठसम्म निर्माणको काम हुने, तर सरकारले दुई वर्षदेखि सोही समयमा बन्द गर्दा काम हुन नसकेको उनको भनाइ थियो । सिंहले भने, ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्याद थपको काम नगर्दा समस्या आएको छ, काम गर्ने समयमा कम गर्न नपाएपछि म्याद थपको विकल्प हुँदैन ।’  

कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाले हाल ३० प्रतिशत उद्योग बन्द रहेको र ७० प्रतिशत चलेका उद्योग पनि ३० प्रतिशत क्षमतामा मात्रै चलेको बताए । ५ अर्बभन्दा बढी ऋण लिएका उद्योगलाई ५ करोड पुनर्कर्जा दिएकाले अपुग भएको भन्दै लगानीअनुसार कर्जा प्रवाह गर्नुपर्नेमा थापाले जोड दिए । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धराशायी बनाएको बताए । नेपालले खोप लगाउन नसक्ने अवस्थामा अझै एक वर्ष समस्या आउने देखिएको उनको भनाइ छ । अग्रवालले भने, ‘राजस्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो ।’

ad
ad