१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दुई दिनदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीमा मिसिने तिब्बतको टिंग्रीस्थित छोङ्सी खोलामा बनेको ताल खुलाउँदै चिनियाँ सुरक्षाकर्मी । 
२०७८ असार ५ शनिबार १९:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई दिनदेखि थुनिएको तामाकोसी अझै खुलेन, चिनियाँ टोलीद्वारा खोल्ने प्रयास जारी, तटीय क्षेत्रमा जोखिम कायमै 

Read Time : > 1 मिनेट
२०७८ असार ५ शनिबार १९:३०:००

लगातारको वर्षाका कारण शुक्रबार रातिदेखि नै आएको बाढी र पहिरोले तिब्बतको टिंग्री काउन्टीस्थित रोङ्सी खोलामा थुनिएको तामाकोसी अझै खुलेको छैन । झन्डै २४ घन्टादेखि थुनिएको नदीले रोङ्सी खोला क्षेत्रमा ठूलो तालको रूप लिएपछि चिनियाँ टोलीले उक्त ताल खुलाउने प्रयास गरिरहेको छ । 

अहिले उक्त ताल खुलाउन चिनियाँ अधिकारी र सुरक्षाकर्मीको टोली पहिरोस्थल पुगेर सो ताल खुलाउन प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार चिनियाँ टोलीले नेपाललाई असर नपर्ने गरी खण्ड–खण्ड बनाएर ताल खुलाउन प्रयास गरेको सूचना प्राप्त भएको छ । 

गएरातिदेखि थुनिएको नदी नखुलेपछि तामाकोसी नदीआसपासमा बसोवास गर्ने स्थानीयहरूमा जोखिम कायमै रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए । तिवारीले शनिबार मध्याह्नदेखि चिनियाँ टोलीले पहिरोस्थल पुगेको र उक्त ताल खुलाउन जनशक्ति प्रयोग गरिरहेको भए पनि नेपालतर्फको भूभाग अर्थात् तामाकोसी तटीय क्षेत्रमा जोखिम भने उच्च रहेको जनाएका छन् । 

दोलखा प्रशासनले नदीको तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई सचेतनाका लागि प्रहरी परिचालनसमेत गरिसकेको छ । शुक्रबार बेलुकी चीनको तिब्बतस्थित टिंग्री काउन्टीका सुरक्षा प्रमुखले दोलखा प्रशासनलाई नदी थुनिएकाले सचेत हुन जानकारी गराएका थिए । 

माथिल्लो तामाकोसीको जलाशय खाली गरियो 
पहिरो खसेर नदी थुनिएको क्षेत्र नेपाल चीन सिमानाको ६० र ६१ नम्बरको पिलर भएको आसपास पर्छ । उक्त क्षेत्रमा नेपाली टोली पुग्न नसक्ने अवस्था रहेकाले चिनियाँ टोली परिचालन भएका छन् । नदी थुनिएपछि लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पनि जलाशयबाट झन्डै १० मिटर पानी हटाएर खुला गरेको छ । 

बाँधका चारवटै ढोका खुला गरेर रातिदेखि नै जलाशय खाली गरेको छ । उक्त जलाशयमा रोङ्सी खोलामा तयार भएको ताल एकैसाथ फुटेर आए पनि झन्डै दुई घन्टा थेग्न सक्ने तामाकोसी आयोजनाका अधिकारीहरूले जनाएका छन् । 

हेलिकोप्टरमार्फत अनुगमन 
नदी थुनिएको सूचना टिंग्री काउन्टीमार्फत नेपाल सरकारलाई प्राप्त भएपछि शनिबार विपद् प्राधिकरणका अधिकारीहरूले नेपाल–चीन सिमानाको छोङ्सी खोला क्षेत्रमा हेलिकोप्टरमार्फत अनुगमन गरेका छन् ।

प्राधिकरणको टोलीले मेलम्ची क्षेत्रको समेत अनुगमन गरेको थियो । दोलखा प्रशासनका अनुसार नेपाललाई क्षति नहुने गरी खण्ड–खण्ड बनाएर ताल खोल्न प्राधिकरणले चिनियाँ टोलीलाई अनुरोध गरेको छ ।