१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २१:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २१:५२:oo

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा रसुवा भन्सारको काम प्रभावित भएको छ । चार दिनदेखि परिरहेको निरन्तर वर्षा र त्यसले विभिन्न स्थानमा पहिरो जाँदा विद्युतका पोलहरूमा क्षति पुगेको अनुमान छ । तर, पहिरोले सडक अवरुद्ध भएपछि कहाँ के समस्या आएको हो भन्ने नै पत्ता लगाउन नसकिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताए । ‘लगातार पानी परिरहेको छ, दुई दिन भयो लिङलिङबाट टिमुरेतर्फ जान सकिएको छैन, बीचमा ठूलो पहिरो गएको छ,’ उनले भने, ‘सामग्रीहरू लैजानुपर्ने हुन्छ, पहिरोले गर्दा लानै सकिएको छैन, लिङलिङबाट टिमुरेको बीचमा बिग्रिएको हुनुपर्छ, हामीले कहाँ बिग्रिएको हो, खोजिरहेका छौँ ।’ 

चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा समस्या भएको रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । बत्ती, टेलिफोन इन्टरनेट नभएको चार दिन भइसक्यो, जेनतेन सुबिसुको इन्टरनेटले काम भइरहेको थियो, त्यो पनि नभएर काम रोकियो,’ उनले नयाँ पत्रिकालाई भने, ‘इन्भटर थियो, त्यसको पनि ब्याट्री सकिएर बन्द भइसक्यो ।’ 

चीनतर्फबाट भने सामग्री आयात भइरहेको उनले बताए । अविरल वर्षासँगै गएको पहिरोले तीन दिनदेखि स्याफ्रु–टिमुरे सडकखण्ड अवरुद्ध हुदाँ सवारी आवतजावत अवरुद्ध भएको उनले बताए । सडक सुचारु नभए एक–दुई दिनमा चीनबाट आएको सामग्री नेपाली गाडीमा लोड गर्न सवारी नहुने उनले बताए । ‘चाइनिज गाडीबाट आएका सामान पल्टी गरेर राख्दै छौँ, अब बाटो नखुलेमा एक–दुई दिनपछि पल्टी गर्ने नेपाली ट्रक पनि नहुन सक्छ,’ उनले भने, ‘हालसम्म हामी सुरक्षित छौँ र व्यापारीहरूको आएको सामान सुरक्षित छ ।’ 

बाटो अवरुद्ध हुँदा भन्सार जाँचपास भएका मालबाहक कन्टेनर रोकिएर बसेका छन् । करिब २० वटा मालबाहक कन्टेनर पहिरोले बीचमा रोकिएर बसेको रेग्मीले बताए । 

बुधबार परेको अविरल वर्षाका कारण स्याफ्रु–टिमुरे सडकखण्डको लिङलिङमा भोटेकोसी नदीले सडक कटान गरेसँगै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । सडक सुचारु गराउन भित्तातर्फ ठूलो ढुंगा रहेकाले ब्लास्टिङ गरी सुचारु गराउने प्रयास भइरहेको बताए । ‘सडकको छेउ भासिएको छ, कुनाबाट ट्रयाक बनाउनुपर्छ, भित्तामा ठूलो ढुंगा रहेकाले रसुवा भोटेकोसीको हाइड्रो पावरको ब्लास्टिङ प्राविधिक टोली र नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरेका छौँ,’ उनले भने, ‘लगातार पानी परिरहेको छ, सडक सञ्चालन गर्न थप पहल र प्रयास भइरहेको छ ।’ 

ad
ad