१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नेक्टर गन/बेन वेस्टकोट
२०७८ असार ३ बिहीबार ०६:०२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुस र चीनको ‘अटुट मित्रता’ दिगो होला ?

Read Time : > 2 मिनेट
नेक्टर गन/बेन वेस्टकोट
२०७८ असार ३ बिहीबार ०६:०२:००

विज्ञहरू चीन–रुस सम्बन्धलाई भूराजनीतिक र आर्थिक स्वार्थले निर्देशित ‘सहजताको साझेदारी’ मान्छन्

भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच तय भएको सम्मेलनअघि रुस र चीनले आफूहरूबीचको ‘अटुट मित्रता’लाई जोड दिएको देखियो । ‘रुस र बेइजिङबीचको सम्बन्ध ‘अहिले’ उच्चस्तरको छ,’ रुसी नेता पुटिनले सोमबार अमेरिकी टेलिभिजन च्यानल एनबिसीसँगको अन्तर्वार्तामा भने । अन्तर्वार्तामा पुटिनले चीन र अमेरिकासँगको रुसको सम्बन्धलाई तुलना पनि गरे । ‘चीन रुससँग मित्रवत् छ । उसले हामीलाई अमेरिकाले जस्तो शत्रु घोषणा गरेको छैन ।’ पुटिनको अन्तर्वार्तापछि मंगलबार बेइजिङले पनि मस्कोसँगको द्विपक्षीय सहकार्य निकै उच्च रहेको प्रतिक्रिया दियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र रुसको सम्बन्धको ‘सीमा आकाश मात्र’ भएको घोषणा गरे ।

‘चीन र रुस पहाडजस्तै एक छन् र हाम्रो मित्रता टुट्न सक्दैन,’ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताए । पछिल्ला केही वर्षमै चीन र रुसबीच निकै घनिष्ठता बढेको छ । पश्चिमी राष्ट्रसँग संघर्ष बढिरहेको समयमा रुस चीनतर्फ फर्किएको थियो । आर्थिक प्रतिबन्धले अर्थतन्त्र थला पर्ने चिन्तामा रहेको रुसलाई चीनले साथ दिएको थियो । सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया कब्जा गरेपछि पश्चिमी मुलुकले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाए । विकल्प कम भएका वेला ऊ दक्षिण–पूर्वी छिमेकीतर्फ फर्कियो । जहाँसम्म चीनको कुरा छ, अमेरिकासँग हरेक विषयमा विवाद बढ्दै गएको सन्दर्भमा बेइजिङका लागि पनि मस्को उपयोगी मित्र बनेको छ । 

अमेरिका र उसका मित्रराष्ट्रले लगाएको आर्थिक प्रतिबन्धले अर्थतन्त्र थला पर्ने चिन्तामा रहेको रुसलाई चीनले साथ दिएको थियो भने अमेरिकासँग हरेक विषयमा विवाद बढ्दै गएको सन्दर्भमा बेइजिङका लागि मस्को उपयोगी मित्र बनेको छ

यी प्रसंगबाट प्रस्ट हुन्छ, दुई देशको रणनीतिक साझेदारीलाई अर्थतन्त्रले निर्देशित गरेको छ । सन् २०१८ मा द्विपक्षीय व्यापार सय अर्ब डलर नाघ्यो । यसलाई सन् २०२४ सम्म दोब्बर बनाउने लक्ष्य छ । दुई देशले ऊर्जा सहकार्यलाई पनि उलेख्य बढाएका छन् । यस सहकार्यकै कारण चीनले रुसको प्राकृतिक ग्यास निर्यातका लागि चार सय अर्ब डलरको सम्झौता गरेको छ । रुस र चीनको संयुक्त सहकार्यमा चीनमा कैयौँ आणविक संयन्त्र बन्दै छन् । त्यसबाहेक मस्को रुसको सबैभन्दा ठूलो हतियार निर्यातक हो । सन् २०१४ देखि २०१८ बीचमा चीनको ७० प्रतिशत हतियार निर्यात रुसबाट भएको थियो । कूटनीतिक मोर्चामा बेइजिङ र मस्कोले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा एक–अर्काको पक्ष लिने गरेका छन् । यी दुई राष्ट्रले मिलेर अमेरिका र उसका मित्रराष्ट्रले सुरक्षा परिषद्मा दर्ता गरेका केही महत्वपूर्ण प्रस्ताव निस्तेज बनाएका छन् । पछिल्लो समय सिरिया युद्ध र अन्य मानवअधिकार उल्लंघनका घटनाविरुद्ध तिनले सहकार्य गरे । बाइडेनले सत्ता सम्हालेदेखि रुस–चीनबीचको रणनीतिक सम्बन्धले तीव्रता पाएको छ ।

बाइडेन आएपछि अमेरिकाले रुस र चीनलाई शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको सबैभन्दा ठूलो खतरा भन्दै आएको छ । जी–७ को सम्मेलनको बहसको विषयमा रुस र चीनको अधिनायकवादी क्रियाकलापविरुद्ध कस्तो प्रतिक्रिया दिने भन्ने थियो । जी–७ बैठकमा आफूहरूको आलोचना भएपछि मस्को र बेइजिङले थप एकता देखाउने प्रयास गरे । ‘चीन र रुसबीच फाटो ल्याउने सम्पूर्ण बल लगाइरहेकाहरूले ख्याल गरून्, चीन–रुसबीचको सम्बन्ध कमजोर बनाउने हरेक प्रयास असफल हुनेछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मंगलबार भने । तर, एक–अर्कासँगको घनिष्ठता देखाउने प्रयासका बाबजुद चीन र रुसबीच भविष्यमा टकराव उत्पन्न हुने सम्भावना पनि छन् । दुई देशबीचको व्यापार अत्यन्त समान छ । त्यसैले, चीन रुसको सबैभन्दा ठूलो व्यापारिक सहयात्री हो, तर रुस चीनको त्यति ठूलो व्यापारिक साझेदार होइन । रुसले चीनलाई प्राकृति ग्यास र विभिन्न कच्चापदार्थ निर्यात गर्छ र चीनबाट ठूलो परिमाणमा तयारी समान आयात गर्छ । रुस र चीनबीच भूराजनीतिक चिन्ता पनि कायम छ । 

विज्ञले चीन–रुस सम्बन्धलाई भूराजनीतिक र आर्थिक स्वार्थले निर्देशित सहजताको साझेदारी मान्छन् । सन् १९५० को दशकको अन्त्यमा दुई कम्युनिस्ट मुलुक रुस र चीनबीच तनाव सिर्जना भयो । त्यस तनावले पछिसम्म दुर्ई देशबीच गहिरो अविश्वास, विचारधारात्मक विवाद र सीमा विवाद निम्त्याएको थियो । अहिले त झन् दुई देशबीच न त कुनै साझा आधारभूत मूल्य तथा विचारधारा छ, न कुनै औपचारिक सैन्य गठबन्धन नै छ । यी भिन्नताका बाबजुद यिनले आफूहरूको सम्बन्धलाई कति गहन र दिगो बनाउनेछन् भनेर भविष्यले देखाउनेछ । 

(लेखकद्वय सिएनएनसम्बद्ध पत्रकार तथा सम्पादक हुन्) 
सिएनएनबाट