मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काडमाडौं
२०७८ जेठ २७ बिहीबार ०६:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यो वर्ष २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि, आगामी वर्ष ४ प्रतिशत : विश्व बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
२०७८ जेठ २७ बिहीबार ०६:३३:००

चालू आर्थिक वर्षमा २ दशमलव ७ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स, जुन २०२१ ले आगामी आर्थिक वर्ष ०७८/७९ मा भने आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । 

यसअघि गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ० दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो । तर, विश्व बैंकले त्यसवेलाको प्रक्षेपणलाई परिमार्जन गरी २ दशमलव १ प्रतिशत बिन्दु थप गरेको छ । खासगरी चालू आर्थिक वर्षमा धानको उत्पादन राम्रो भएकाले आर्थिक वृद्धि केही सकारात्मक हुने विश्व बैंकको भनाइ छ । 

केन्द्रीय तथ्यांक विभागले भने चालू आर्थिक वर्ष ०७७/७८ मा आर्थिक वृद्धि ४ दशमलव ०१ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीको असर चालू आर्थिक वर्षको अन्तिमसम्ममा सामान्य हुने र आर्थिक क्रियाकलापहरू नियमित सञ्चालन हुने विश्वासमा विभागले यो प्रक्षेपण गरेको हो । तर, वैशाखदेखि जारी लकडाउनका कारण वृद्धिदर अझै कमजोर हुने भनाइ तथ्यांक विभाग स्वयंले नै सार्वजनिक गरिसकेको छ । 

आगामी आर्थिक वर्ष ०७८/७९ का लागि गत जनवरीमा विश्व बैंकले २ दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, यसपटकको प्रक्षेपण भने केही आशावादी देखिएको छ । आर्थिक वर्ष ०७९/८० मा भने ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान विश्व बैंकको छ ।

गत आर्थिक वर्ष ०७६/७८ मा देशको अर्थतन्त्र इतिहासकै कमजोर अर्थात् माइनस २ दशमलव १२ प्रतिशतमा झरेको थियो । सरकारले यस आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । गत आर्थिक वर्षको अन्तिम चार महिना मुलुकमा लकडाउन लागेको थियो । यो वर्ष पनि अन्तिम त्रैमासमा लकडाउन लाग्ने र कोरोनाको असर गत वर्षको भन्दा पनि भयावह हुन सक्ने सम्भावना भएकाले विश्व बैंकले गरेको प्रक्षेपणभन्दा पनि कमजोर आर्थिक वृद्धि हुन सक्नेछ । 

आर्थिक वृद्धिमा माल्दिभ्सको छलाङ
यो वर्ष अर्थात् सन् २०२१ मा माल्दिभ्सले आर्थिक वृद्धिमा छलाङ मार्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । यस वर्ष माल्दिभ्सले १७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको हो । गत वर्ष २०२० मा दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धि पनि माल्दिभ्सकै थियो । त्यस वर्ष माल्दिभ्सको अर्थतन्त्र २८ प्रतिशतले माइनसमा गएको थियो । यस वर्ष माल्दिभ्सले अधिकांश जनसंख्यालाई खोप लगाइसकेकाले आर्थिक वृद्धि उत्साहजनक हुने प्रक्षेपण विश्व बैंकको छ । 

दक्षिण एसियाली क्षेत्रमा यस वर्ष बंगलादेशले ३ दशमलव ६ र श्रीलंकाले ३ दशमलव ४ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ । सबैभन्दा कमजोर रहेको भारतको वृद्धिदर माइनस ७ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान विश्व बैंकको छ । भुटानको अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले ऋणात्मक भएको थियो ।