मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
खाँदबारी–८ पिप्लेमा केदारप्रसाद भण्डारीको बारीमा निषेधाज्ञाका कारण कुहिएको करेला । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२०७८ जेठ २६ बुधबार १६:३२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

निषेधाज्ञाको असर : बारीमै कुहियो तरकारी

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ जेठ २६ बुधबार १६:३२:००

सरकारले निषेधाज्ञा जारी गरेपछि पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँका कृषकहरूले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । कतिपयले व्यक्तिगत जग्गामा र कतिपयले ऋण गरेर जग्गा भाडामा लिएर लगाएको तरकारीबाली निषेधाज्ञाका कारण बजारसम्म पुर्‍याउन नपाउँदा बारीमै कुहिन थालेको हो । तरकारी कुहिन थालेपछि कृषकहरू टुलुटुलु हेरेर बस्न बाध्य छन् । 

खाँदबारी नगरपालिका–८ पिप्लेका केदारप्रसाद भण्डारीले करिब ६ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । तर, यो वर्ष निषेधाज्ञाका कारण तरकारी बेच्न नपाएर बारीमै कुहिएर खेर गएको छ । उनले बारीमा सिजनअनुसार गोलभेडा, भान्टा, लौका, बन्दागोभी, करेला, बोडी, घिरौँला, भिन्डी र खुर्सानीलगायत तरकारीहरू लगाएका थिए । तर, बजारसम्म लैजान नपाउँदा बारीमै कुहिएर खेर गएको छ । 

खाँदबारी नगरपालिका–४ सेकाहाका भीमबहादुर गुरुङको बारीभरि मुला, काउली र सागलगायतका तरकारी छन् । तर, तरकारी बेच्ने वेलामै २५ वैशाखदेखि निषेधाज्ञा भएपछि बजारसम्म पुर्‍याउन समस्या भएको छ । ‘केही तरकारी फोन सम्पर्क गरेर चिनेजानेकाले अलिअलि लगे, अरू तरकारी गाईभैँसीलाई दिएँ, कति त बारीमै नै कुहिएर गयो’ उनले भने ‘अहिले पनि दुई टनेल बन्दा र फुलगोभी छ, अब निकाल्ने वेला हुन लाग्यो, यो पनि कसरी बजारसम्म पुर्‍याउने भन्ने चिन्ता छ ।’
    
जिल्लामा करिब डेढ महिनादेखि निषेधाज्ञा भइरहेको छ । प्रायः हप्तामा १०/१२ हजार रुपैयाँको तरकारी बिक्रि–वितरण गरिन्थ्यो । त्यो हिसाबले यो निषेधाज्ञाको समयावधिमा करिब ५०÷६० हजार रुपैयाँ तरकारीको नोक्सान भएको कृषक गुरुङको भनाइ छ । 
    
खाँदबारी नगरपालिका–४ कै अर्का कृषकहरू टंक राईले पनि निषेधाज्ञाका कारण तरकारी बेच्न नपाएको गुनासो गरे । उनी तरकारी खेतीबाहेक अर्को कुनै पेसा–व्यवसाय गर्दैनन् । आफूले उत्पादन गरेको तरकारी छिटफुट रूपमा केही बेचे पनि धेरैजति गाईबस्तुलाई नै खोले दिने गरेको उनको भनाइ छ । 

यी माथिका प्रतिनिधि पात्रहरू मात्रै हुन् । ऋण लिएर तरकारी खेती गरिरहेका कृषकहरूले आफूले उब्जाएको तरकारी बजारसम्म पु¥याउन नपाउँदा धेरै नोक्सानी व्यहोरिरहेका छन् । जिल्लाका १० वटा स्थानीय तहभित्र धेरै कृषकहरूले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । ती कृषकहरूले धेरै मिहिनेतले उत्पादन गरेको तरकारी बेच्न नपाउँदा ठूलो क्षति व्यहोर्न बाध्य छन् । 

स्थानीय प्रशासन र उद्योग वाणिज्य संघले बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ देखि ६ बजेसम्म पसल खोल्न र तरकारी बेच्न पाइने भनेको छ । तर, गाउँबाट कृषकहरू डोकामा तरकारी बोकेर बेच्न ल्याउँदैै अबेर हुने र त्यत्तिकै सस्तो मूल्यमा बजारका तरकारी पसलहरूमा बेच्नुपरेको गुनासो गर्दै आएका छन् । 
    
खाँदबारी बजारमा स्थानीय दरभाउअनुसार, हरियो काँक्रो एक सय रुपैयाँ केजी, गोलभेडा प्रतिकिलो ६०, काउली र बन्दागोभी ८० रुपैयाँ, भान्टा ५० रुपैयाँ पाउ, कागती २० रुपैयाँ दाना, रायोको साग ३० रुपैयाँ मुठो, सिमी ८० रुपैयाँ र करेला सय रुपैयाँ केजी रहेको छ । तर, खाँदबारी बजारमा तरकारीको भाउ एकनास भने छैन । व्यक्ति र व्यापारीअनुसार दररेट फरक–फरक हुने गरेको छ । स्थानीय सरकारले गाउँ–गाउँमा तरकारी उत्पादनको अवस्था हेरेर संकलन गरी बजारसम्म पुर्‍याएर घुम्ती टोलीमार्फत बिक्रि–वितरण गर्ने वातावरण बनाइदिए राहत हुने कृषकहरू बताउँछन् ।