Skip This
समाचार प्रभाव  : निषेधाज्ञामा औषधि अभावका कारण निधन भएका परिवारलाई नगद र खाद्यान्न सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

समाचार प्रभाव  : निषेधाज्ञामा औषधि अभावका कारण निधन भएका परिवारलाई नगद र खाद्यान्न सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:५८:oo

सामान्य ज्वरो आएका वेला औषधि किन्ने रकम नहुँदा निधन भएका सिराहाको कर्जन्हा नगरपालिका १ बल्टिया घर भएका जितन सदायको परिवारलाई नगदसहित खाद्यान्न सहयोग उपलब्ध भएको छ ।  कर्जन्हाकै ५ नम्बर वडामा पर्ने बडहरा मिर्चैयास्थित ससुराली घरमा आएको केही दिनमा ज्वरो आएपछि औषधि किनेर खान नसक्दा निधन भएको विषयमा नयाँ पत्रिकाका अनलाइनमा  समाचार प्रकाशित भएपछि सदायको परिवारलाई १९ जेठमा कर्जन्हाको बडहरा मिर्चैयास्थित गाउँमा नगदसहित खाद्यान्न सहयोग गरिएको हो ।

मृतक सदायकी पत्नी २६ वर्षीया दुलारीदेवी सदायलाई घर खर्च र औषधि उपचारका लागि ४५ हजार रुपैयाँ नगद र तत्काल खानका लागि ५० किलो चामल, दुई किलो दाल, पाँच थान साबुन, दुई लिटर तेल ५० थान मास्क, मस्यौरा अढाई किलो, तीन किलो नुन सहयोग उपलब्ध गराइएको हो । 

‘स्टोरी जब नेपाल’ का संयोजक जय पौडेलमार्फत प्राप्त नगद र खाद्यान्न सम्बन्धित परिवारलाई उपलब्ध गराइएको भोरका अध्यक्षसमेत रहेका दलित अभियन्ता पच्चु माझीले बताए । ‘समाचार पढेर मानवीय आधारमा स्वतःस्फूर्त रूपमा सहयोग उपलब्ध गराउने पौडेल, समाचार लेख्ने पत्रकार तथा अनलाइन धन्यवादका पात्र हुनुहुन्छ’ माझीले भने ।

समाचार पढेर कर्जन्हाबाहिर रहेका मनकारीले मानवताका आधारमा सहयोग उपलब्ध गराउन आउँदा मुसहरलाई ‘हुनेखाने’ देख्ने स्थानीय जनप्रतिनिधिलाई लाज लाग्नुपर्ने हो’ स्थानीय अगुवा युवा शक्ति वाइबाले भने ‘गरिबीको कारणले निषेधाज्ञाका वेलामा दुःख झेलिरहेका मुसहरहरूलाई यस्तै वेलामा सहयोग गरिनुपर्छ ।’

कर्जन्हा नगरपालिका १ बल्टिया घर भएका ३१ वर्षीय जितनको ११ जेठमा निधन भएको थियो । उनको मृत्युपछि कोरोनाको डरले ससुराली गाउँका कसैले पनि छुनसमेत नमानेपछि त्यही दिन दिउँसो बल्टियास्थित घरबाट आएका दाजुभाइले शव बोकेर गाउँ पुर्‍याएर नजिकै रहेको कमला नदी किनारमा जातीय परम्पराअनुसार दाहसंस्कार गरे । 

जितनका ससुरालाई पनि सहयोग
आफ्नै घरमा युवावस्थाका ज्वाइँको निधन भएपछि विक्षिप्त बनेका जितनका ससुरा करिब ६५ रामप्रसाद सदायलाई पनि माझीले उपचारका लागि नगद १० हजार रुपैयाँ र खाद्यान्न सहयोग उपलब्ध गराए । दम र श्वासप्रश्वासका रोगी सदाय उपचार त के, एक छाकसमेत पेटभरि खान नपाएका वेला ५० किलो चामलसहित दाल, साबुन, खानेतेल, मास्क, मस्यौरा, नुन पाउँदा केही दिन भए पनि चुलो बल्ने भएपछि हर्षविभोर भए । 

कर्जन्हा ५ मा गत वैशाख २५ देखि ११ जेठसम्म भोक र रोगसँग लड्दालड्दै तीनजनाको निधन भएको स्थानीय अगुवा सिजेन्द्र सदायले बताए । दलित समुदायकै भए पनि नगर प्रमुख गंगा पासवानले आफ्नो नगर क्षेत्रमा अहिलेसम्म कसैले पनि भोक र रोगका कारणले मृत्यु नभएको दाबी गरिरहेका वेला बाहिरबाट आएर गाउँमै सहयोग उपलब्ध गराउँदासमेत आफूलाई जनप्रतिनिधि भन्नेहरू बेखबर रहेको स्थानीय अगुवा सिजेन्द्र सदायले बताए । कर्जन्हा ५ का वडाध्यक्ष चन्द्रभूषण खातीले त झन् मृतकको परिवार खान लाउन पुग्ने र परेका वेला आफ्नै बलबुतामा उपचारसमेत गराउन सक्ने आर्थिक अवस्थाको रहेको जिकिर गरेका थिए ।
 

ad
ad