मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
उमेश चौहान काठमाडौं
यम बम काठमाडौं
२०७८ जेठ २३ आइतबार ०३:५०:००
Read Time : > 10 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

चुरे खन्न आएका डोजर अब महाभारत खन्न उकालो लागिसके : चन्द्रकिशोर, पत्रकार 

Read Time : > 10 मिनेट
उमेश चौहान, काठमाडौं
यम बम, काठमाडौं
२०७८ जेठ २३ आइतबार ०३:५०:००

चुरे संरक्षण अहिले राष्ट्रिय बहसको विषय बनेको छ, तर पत्रकार चन्द्रकिशोरले दशकदेखि नै यही विषयमा कलम चलाउँदै आएका छन् । तराई–मधेसका सीमान्त समुदायका मुद्दा उनका प्रमुख विषय हुन् । ‘तराईको सीमान्त समुदायका मुद्दा चुरेसँगै जोडिएका छन्,’ उनी भन्छन् । उनले ‘चुरे–दशगजा–चुरे’ अभियानमा त्यहाँको जलजीवनमाथि लेखिरहेका छन् ।  नयाँ पत्रिकाका लागि उमेश चौहानयम बमसँगको संवादको बिट मार्दै उनले भने, ‘चुरे भनेको गिटी, ढुंगा र बालुवा मात्र होइन, नेपालको राजनीति हो, अर्थनीति हो र कूटनीति तथा समग्र रणनीति हो ।’ संवादको सुरुवात भने यसरी भयो :

चुरेको विनाश र संरक्षणको विषयमा अहिले देशमा व्यापक बहस भइरहेको छ । हाम्रो समाजले यति ठूलो चिन्ता गरिरहेको चुरे खास के हो ? यसको भौगोलिक अवस्थितिको विषयबाट संवाद सुरु गरौँ है । 

नेपालको सन्दर्भमा चुरे भनेको दुई भिन्न भौगोलिक सतहबीचको भूभाग हो । समथल र उच्च पहाडको बीचको स–सानो पर्वतीय शृंखला हो, चुरे । माथिबाट हेर्दा महाभारत सकिएर जुन अन्तिम डाँडो आउँछ, त्यो चुरे हो । त्यस्तै, तराईबाट हेर्दा राजमार्गबाट उत्तरतर्फको क्षेत्र चुरे हो । चितवन र दाङमा राजमार्गभन्दा पनि दक्षिणतर्फ चुरे छ । चुरे सकिएपछि तराईमा भावर क्षेत्र पर्छ । यो एक ‘बफर जोन’ हो । नेपालमा यसलाई चुरे, चुरिया, चुलाचुली पनि भन्छन् । खासमा भू–स्खलनको स्वभाव भएको क्षेत्र हो, यो । 

चुरे भन्नासाथ ढुंगा, गिटी र बालुवाको विषय मात्र आउँछ मान्छेको दिमागमा । मानव जीवनसँग चुरेको साइनो के हो ?  हामी थप संवेदनशील हुन किन आवश्यक छ ? 

खासमा महाभारत पर्वतमा मान्छेको बसोवास प्राचीनकालदेखि नै छ । हिमालय क्षेत्रमा पनि बसोवास पुरानो हो । चुरे क्षेत्रमा बसोवास थिएन । हाम्रा पुर्खाहरूसँग जो ज्ञान थियो, त्यसले के मान्यता स्थापित गर्‍यो भने चुरे क्षेत्रमा बसोवास गर्न मिल्दैन । तराईमा पनि मान्छेहरू नदीको छेउछाउमा बसे । तर, तराईको नजिक भएर पनि मान्छेहरू चुरेमा बसेनन् । बरु, चुरेलाई ‘चुरियामाई’ नामबाट पुकारियो, पूजा गरियो । त्यसको कारण के हो भने चुरेबाट आएको मलिलो माटोले भावर र पूरै तराईलाई मलिलो बनायो । अझ त्योभन्दा बढी चुरे भावरले पानीको भण्डारणको काम ग¥यो । चुरे र भावरले गर्दा नै तराई चिरकालदेखि सभ्यता र संस्कृतिको गुल्जार क्षेत्र बनेको हो । यसरी चुरे र मानिसबीचको सम्बन्ध जोडिँदै आयो । 

चुरेमा मानव हस्तक्षेप कसरी सुरु भयो ? कहिलेदेखि भयो ? त्यसले के फरक पार्यो ? 

खासमा पूर्व–पश्चिम राजमार्ग, जसलाई देशको ‘लाइफलाइन’ भनिन्छ, त्यसको निर्माण नै चुरेमाथिको संगठित हस्तक्षेप हो । राजमार्ग बनेपछि चुरेको छेउमै बस्ती बसे । तीव्र र अव्यवस्थित रूपमा बस्ती फैलियो । अहिले पूर्वमा काँकडभिट्टादेखि, बिर्तामोड, धरान, इनरुवा, रूपनगर, लहान, बर्दिवास, हेटौँडा, बुटवल, र गड्डाचौकीसम्मका बस्ती सबै चुरे क्षेत्रमै बने । पूर्वदेखि पश्चिमसम्म घरले घर नै जोडिने अवस्था आयो, यो तीव्र रूपमा तर अव्यवस्थित रूपमा सहरीकरण भयो । ती बस्तीले चुरेलाई दोहन गरिरहेका छन् । हो, तराईको सीमान्तकृत समुदाय बिस्तारै चुरे उक्लिन थालेको थियो । भावरमा बस्नेहरूका लागि गाईवस्तुको चरिचरनको सुविधा पनि भएको चुरे क्षेत्रतर्फ उक्लँदै थिए । तर, त्यो सीमित थियो । खासमा चुरे सदरमुकामबाट पनि टाढा थियो र तराईका लागि दुर्गम ठाउँ हो । तर, राजमार्ग बनेपछि चुरे क्षेत्रमा जग्गा अतिक्रमण गर्न सहज भयो । पछि सुनियोजित बसोवास गराइए । राज्य पक्ष वा विभिन्न शक्तिकेन्द्रबाट चुरेका डाँडा, जंगल मास्ने अनि बसोवास गराउने काम भयो । तराईका पुराना बस्तीहरूबाट पनि मान्छेहरू राजमार्गतर्फ आए, माथि पहाडबाट मान्छेहरू तल झरे । यसरी अनियन्त्रित बसोवासको दबाबमा चुरे परेको छ । मदन भण्डारीको नाममा लोकमार्ग चुरेमाथि नै बनाइँदै छ । अर्थात्, चुरे क्षेत्रमा अतिक्रमणको थालनी राज्यबाट नै भएको हो ।

काठमाडौंबाट मिडियाले हेर्दा चुरे भनेको ढुंगा, गिटी, बालुवा मात्र हो, तराईमा त यो जनजीवनको लडाइँ हो । जलजीवन सखाप भयो, खेती खुम्चियो । अब त सीमित पानीमाथि आधिपत्यको लडाइँ सुरु भइसकेको छ ।

चुरे र भावरमा बसाइँसराइ ह्वात्तै बढ्यो, त्यहाँ त प्रकृति प्रधान थियो । अहिले अचानक मानव प्रधान हुँदा त्यसले मानव र प्रकृतिबीचको सम्बन्ध कस्तो छ ? 

जमानामा तराईका दक्षिणतिरका बस्तीहरूमा जनघनत्व बढी थियो । त्यताका बजार गुल्जार हुन्थे । ती बस्ती हुलाकी सडकको छेउछाउमा थिए । पहिले पहाडबाट तराई झर्नेहरू पनि दक्षिणतिरै केन्द्रित हुन्थे । किनकि, दक्षिणतिर आधारभूत सुविधा थियो । तर, राजमार्गले जनजीवनमा हलचल ल्यायो । राजमार्गको छेउमा नयाँ बस्ती आए । गरिब, भूमिहीन, दलित, सीमान्तकृत समुदायका मान्छेहरू चुरेका डाँडातर्फ उक्लिए । पहाडबाट ओइरिएकाहरू पनि राजमार्गछेउमा आएर बसे । भारतको आसाममा नेपालीभाषीमाथि दमन हुँदा त्यहाँबाट पलायन भएकाहरू पनि चुरेको छेउमा बसे । दक्षिणको सीमापारबाट आएका नवनागरिक पनि यही क्षेत्रमा बस्न थाले । यसरी चुरेमा सघन मानव बस्ती बन्न गयो । जबकि, वन्यजन्तु संरक्षणका लागि नेपालका महत्वपूर्ण निकुञ्जहरू चुरेकै छेउमा छन्, कोसी टप्पुदेखि पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म । अब वन्यजन्तु र मानवबीच द्वन्द्व थपियो । हात्तीको आवागमन मार्ग बाधित हुन थाले । चुरे, भावरमा बस्ती सघन बनेपछि वन्यजन्तु पनि पलायन भएर दक्षिणतिरका गाउँमा आउन थाले । जंगल फँडानी गरेर मानव बस्ती बसेकाले जंगली जनावरका कारण खेतीबालीमा पनि असर पर्‍यो, जसको मारमा किसान छन् । यसको जरो खोतल्ने हो भने वन र चुरेमाथि मान्छेको अतिक्रमण हो । जबकि, पुर्खाको ज्ञानले के भन्थ्यो भने चुरे ‘बफर जोन’ हो, त्यहाँ बस्ती बस्नुहुँदैन । चारकोसे झाडी भन्छौँ नि हामी, त्यो पनि अब किताबमा मात्र छ । राजमार्गछेउमा जंगलैजंगल थियो, अब छैन । हेटौँडादेखि प्रदेश २ तिर लाग्नुभयो भने बारामा मात्र अलिकता जंगल छ । त्यो पनि पातलो भइसक्यो । त्यहाँ पनि फास्ट ट्र्याक विमानस्थल, रेलमार्गका नाममा सकिँदै छ । जंगल मासियो, बस्ती बने । राज्यले बसाइदियो । चारकोसे झाडी त चुरेसँगै जोडिएको थियो । 

चुरेवरपर पूर्वाधार बने, बस्ती विकास भयो । त्यसले चुरेको चरित्रलाई कसरी प्रभावित पार्यो ? भौगोलिक र प्राकृतिक रूपमा कस्तो परिवर्तन आयो ? तपाईं त त्यहीँ वरिपरि हुर्किएको पनि, अध्ययन पनि गर्नुभएको छ, अभियन्ता पनि हो, त्यसैले आफ्नै अनुभव पनि साझा गरिदिनोस् न ।

मेरो गाउँ बलरा बागमतीको किनारमा हो । पहिला–पहिला बागमतीमा बाढी आउँदा आमाहरू भन्नुहुन्थ्यो– गंगामैया । जुन दिन गाउँमा बाढी आउँथ्यो, त्यो दिन परालको चकटीजस्तो बनाएर त्यसमा दियो राखेर पानीमा प्रवाहित गरिन्थ्यो । त्यो किन गरिन्थ्यो भन्दा बाढी आउँदा पातपतिंगर मलिलो माटो पनि आउँथ्यो, उब्जनी बढ्थ्यो । उब्जनी बढेपछि मानिसको दैनिकी सहज हुने भयो । तर, चुरे भत्काउने, ढुंगा, माटो चलाउने र बस्तीसमेत विकास हुन थालेपछि त्यहाँको भूगोल प्रभावित भयो । चुरे मासिँदा त्यहाँबाट बग्ने नदी–खोला प्रत्यक्ष प्रभावमा प¥यो । नदीमा पहिले मलिलो माटो आउँथ्यो । अहिले ढुंगा, बालुवाको मात्रा बढ्दै गयो । पहिले नदीहरू गहिरा हुन्थे, माछालगायतका जलजन्तुहरू हुन्थे । कतिपय नदी यति गहिरा हुन्थे कि हात्तीले नदी तर्दा पनि माथिबाट देख्न सकिँदैनथ्यो । तर, चुरे दोहन र त्यसवरपरका वनमाथिको अतिक्रमणले गर्दा नदीको चरित्र र स्वभावमा परिवर्तन आयो । माथिबाट आएको बालुवाले नदीका गहिराइ भरिन थाले । नदीहरू अब गहिरा छैनन्, दायाँ–बायाँ फैलिन थाले । भयानक बगरहरू बन्दै गए, जलजीवनमा क्षति भयो । नदी त आफैँमा जीवन हो नि । तर, चुरेको विनाशले नदी र मान्छेको सम्बन्ध टुट्न पुग्यो । माछा मार्ने समुदाय सीधै प्रभावित भयो । नदीका पिँध पनि माथि उक्लेर आउँदै गयो, बालुवा नै माथि आयो । पहिले बाढी बिस्तारै आउँथ्यो । दिउँसो बाढी आयो भने कसरी बढ्दै छ भनेर हामी लौरो लिएर नाप्थ्यौँ । राति अबेर बाढी आयो भने पनि बिहान हेर्न जान्थ्यौँ, बाढीको सतह बिस्तारै बढिरहेको हुन्थ्यो । अहिले त खोलाको सतह माथि नै भएकाले छेकबार केही भएन । बाढी ह्वात्तै आउँछ, खेती र बस्तीमा पसिहाल्छ । मान्छेले सम्हालिन पनि पाउँदैन । नदीको सहारामा खेती गरिन्थ्यो । पहिले बहुबाली हुन्थ्यो, एउटै खेतमा धेरैथरी अन्न फल्थे । मान्छेले पहिले घरमा ठुल्ठूला भकारीमा अन्न भण्डारण गरेर राख्थे । असोजतिर यस्तो हुन्थ्यो, नदीमा दक्षिणतिरबाट माछाको बाढी आउँथ्यो । त्यसलाई हामी स्थानीय भाषामा अबार भन्थ्यौँ । त्यो के हुन्थ्यो भने नदीको तलबाट माछा उफ्रँदै माथि जान्थे । तर, अहिले त्यो सब हरायो, जलजीवन नै सखाप भयो । डुबान, कटान र बाढीको समस्या बढ्न थाल्यो । यसले उब्जनी घटायो । अब तराईमा हेर्नुस् न, अन्नका भकारी हराए । हुनेखानेले पनि अन्न स–साना ड्रममा राखेका छन् । नदीको सतह फराकिलो हुँदै गएपछि त्यसमाथि पुल बनाउँदा लामो बनाउनुपर्ने भयो । तटबन्धको खर्च थपियो ।

तपाईंले तराई अन्नभण्डार थियो भनेर दोहो¥याउनुभयो, अहिले त्यो पहिचान संकटमा छ । खासमा खेतीको शैलीमा कस्तो प्रभाव परेको छ ? 

अहिले माटोको स्वरूप नै परिवर्तन भएको छ । खासमा बालुवाकरण बढ्दै गएको छ । पानी कम भयो, विषादी र रासायनिक मलको मात्रा बढ्दै गयो । त्यसले माटोको पोषण र उर्वरतामा पनि ह्रास आउँदै गएको छ । बस्तुपालन पनि घट्यो । खानेपानीकै समस्या छ भने गाईवस्तुका लागि कसरी जोहो गर्ने ? यसले पशुपालनमा पनि कमी आएको छ । फेरि पशुपालन नहुँदा रासायनिक मलमा निर्भर हुनुपर्ने अर्काे समस्या छ । किसानले भकारीमा रैथानै बिउ जगेर्ना गरेर राखेका हुन्थे । अब त्यो बिउ मासिँदै गयो । अब त हाइब्रिड बिउ बजारबाट किनेर लगाउँछौँ । यसरी बिउ, मल र पानीमा परनिर्भर बन्नुपर्ने भएपछि उत्पादनमा समस्या त आउने नै भयो । तराई र भावरका उर्वर जग्गा खण्डीकरण हुँदै गयो । नदीछेउमा ठूला–ठूला बगर हुँदै गए । त्यसैले खेती गर्ने तौरतरिकामा परिवर्तन आएको छ । किनकि, खेती गरेर जीविका नचल्ने भयो । जसको भूमि छ, उसले पनि ऋण लिने भए, जो खेतमा ज्याला गरेर जीविका निर्वाह गर्छ, उसले पनि बाँच्नका लागि ऋण लिनुपर्ने भयो । त्यसपछि किसान पलायन हुन थाले । यसले रोजगारीको पनि अभाव हुन थाल्यो ।

ढुंगा, गिटीको उत्खनन रोकियो भने डोजर र टिपरमा भएको लगानी के हुन्छ ? त्यसमा त बैंकको लगानी छ । अब ढुंगा, गिटी उत्खनन रोकियो भने त ‘हामी डुब्छौँ’ भन्ने बैंकहरू छन् । पैसा केबाट आएको छ भनेर कुनै कर्पाेरेटले त हेर्दैन, उसले त मुनाफा मात्र हेर्छ । 

चुरे र भावर पानीको भण्डार हो, त्यहाँको भूगोलमा हस्तक्षेप हुँदा पानीको भण्डारमा कस्तो असर परेको छ ? त्यसले जनजीवनलाई अहिले नै प्रभावित गरेको छ कि छैन ? 

पानीको अभाव त कतिसम्म बढ्यो भने चुरेवरिपरिका कतिपय ठाउँमा दाहसंस्कारमा जाँदा मान्छे घरमै नुहाएर जान्छन् । पहिले नदीमै नुहाउँथे, अचेल घरमै नुहाउँछन्, अथवा घरबाट पानी बोकेर जान्छन् । नदीमा पानी नै छैन । पानीसँग जोडिएको दैनिकीलाई पूरै खलबल्याएको छ । अर्काे बस्तीमा पनि पानी छैन । किनकि, चुरे र भावर पानीको भाँडो त रित्तिन थाल्यो नि । पहिले मान्छेहरू इनारबाट पानी खान्थे । त्यसपछि हेन्डपाइप आयो, पहिले ५०–१०० फिटमा पानी आउँथ्यो, अब अढाई सय –तीन सय फिट तल मात्र पानी पाउने भयो । माथि चुरेमा पानीको सञ्चिति रित्तिँदै छ, तल राज्यले नै ठुल्ठूला बोरिङ लगाएर पानी खिँच्दै छ । अब पानीको स्रोतमा शक्तिको राजनीति हुन थालेको छ । यसलाई अझ स्पष्ट पार्ने हो भने मानौँ, साहुको घरको आँगनमा पनि इनार छ, तर त्यो इनारमा पानी आउन छाड्यो । अब नजिक दलितको बस्तीमा पानी छ भने सामन्त त्यहाँसम्म सजिलै पुग्न थाल्यो । उसले पहिले पानी लिन्छ, घन्टौँसम्म उसलाई चाहिने पानी दोहन गर्छ । त्यसपछि मात्र दलित समुदायको पालो आउँछ । यो हेर्दा सानो कुरा लाग्न सक्छ, यसले सामाजिक विभेद र द्वन्द्व बढाएको छ । प्रहरी चौकीहरूमा पानीको विवादमा उजुरी बढिरहेका छन् । काठमाडौंबाट मिडियाले हेर्दा चुरे भनेको ढुंगा, गिटी, बालुवा मात्र हो, तराईमा यो जनजीवनको लडाइँ हो । जलजीवन सखाप भयो, खेती खुम्चियो । अब त सीमित पानीमाथिको आधिपत्यको लडाइँ सुरु भइसकेको छ । सम्भ्रान्त वर्ग र उपेक्षित वर्गबीच द्वन्द्व बढ्ने देखिन्छ । यो समस्या बढ्दै जाँदा को शक्तिशाली छ, कोसँग पैसा छ, पानी पनि उसैसँग मात्र हुने अवस्था आउँदै छ । अहिले सिराहा, सप्तरी, धनुषाको उत्तरतिरका गाउँमा यस्तै द्वन्द्व बढेका छन् । आगामी दिनमा झन् बढ्ने अवस्था छ । जबकि, पहाडमा पानीको दुःख छ भन्ने सुन्दा तराईमा अनौठो लाग्थ्यो । अहिले तराईमा समस्या चर्काे छ । त्यसैले यो सानो र तात्कालिक समस्या होइन । यसलाई फराकिलो ढंगबाट हेर्नुपर्छ ।

ठीक हो, तपाईंका यस्ता विश्लेषणले काठमाडौंका मिडियाको दृष्टि अलिक फराकिलो पार्न मद्दत गर्ला भन्ने अपेक्षा गरौँ । मिडियाले खबरदारी गर्ने त शासक र प्रशासकलाई हो । उनीहरूमाथि सोध्नुपर्ने, एक्स्पोज गर्नुपर्ने विषय के हुन् जस्तो लाग्छ तपाईंलाई ? 

मूल विषय चुरे भनेको गिटी, ढुंगा र बालुवा मात्र होइन, नेपालको राजनीति हो, अर्थनीति हो र कूटनीति तथा समग्र रणनीति हो । हाम्रो राजनीतिक प्रणाली त प्रकृतिमाथि निर्मम छ । राणाकालमै नेपालको सीमासम्म मात्र होइन, नेपालभित्रै रेल किन आयो ? नेपालको काठ लिन, वन्यजन्तुको सिकार गरेर ओसार्न । पञ्चायती व्यवस्था जोगाउन पनि तराईको जंगल मासियो । हो, पञ्चायतले नै चारकोसे झाडी मासेको हो, अहिलेको व्यवस्थामा सक्रिय दलहरूले चुरे मासे । यसमा सबै अंशियार हुन् । दुर्भाग्यको कुरा, मधेसको राजनीति गर्नेहरू पनि यसको हिस्सेदार छन् । विभिन्न मन्त्रालयमा बसेर उनीहरूले दोहन बढाएका छन् । दोहनविरुद्ध आवाज लुकाएका छन् । जबकि, पहिचानको कुरा गर्ने हो भने तराईको पहिचान र अस्तित्व नै चुरेसँग जोडिएको छ । अहिले हेर्नाेस् न, चुनाव कति खर्चिलो भयो ? चुनावमा अत्यधिक खर्च गर्न नसक्नेले जितको कल्पना गर्न गाह्रो छ । त्यो पैसा कहाँबाट आउँछ ? राजनीतिआसपासका मान्छेहरू पनि छोटो बाटोबाट आयआर्जनका लागि उद्यत् छन् । नेपालको ७७ वटै जिल्लामा सबैभन्दा बढी ढुंगा, गिटी निकासी हुने जिल्ला रूपन्देही हो भन्ने तथ्यांक नै छ । आज रूपन्देहीबाट अर्थमन्त्री हुनुहुन्छ । रूपन्देही लुम्बिनी प्रदेशमा पर्छ, त्यहाँकै मुख्यमन्त्री हुनुहुन्छ । उहाँहरू गिटी, ढुंगा, बालुवा निकासीका लागि नीति बनाउने र त्यसको पक्षमा वकालत गर्न किन आतुर हुनुहुन्छ ? के योे संयोग मात्र हो ? अब हेर्नाेस्, चुरेलाई अपनत्व लिने कोही भएन । अहिले राजनीति, प्रशासन र ठेकेदार, सबै मिलेर लुट मच्चाएका छन् । फेरि यसमा ‘कर्पाेरेट इन्ट्रेस्ट’ पनि जोडिएको छ । तर, अब यी सबै पक्ष मिलेपछि यो राष्ट्रिय एजेन्डा कसरी बन्न सक्छ ? यी विषयमा मिडिया अब भित्रसम्म पुग्नुपर्छ भन्ने मलाई लाग्छ । चुरे दोहन आफैँमा अपराध हो, यसले अपराध जन्माउँछ र अपराधीकरणलाई पोषण दिन्छ । यसबाट स्थानीय समाज संक्रमित हुँदै गएको छ ।

नेपालका ७७ वटै जिल्लामा सबैभन्दा बढी ढुंगा, गिटी निकासी हुने जिल्ला रूपन्देही हो भन्ने तथ्यांक नै छ । आज रूपन्देहीबाट अर्थमन्त्री हुनुहुन्छ । रूपन्देही लुम्बिनी प्रदेशमा पर्छ, त्यहाँकै मुख्यमन्त्री हुनुहुन्छ । उहाँहरू गिटी, ढुंगा, बालुवा निकासीका लागि नीति बनाउने र त्यसको पक्षमा वकालत गर्न किन आतुर हुनुहुन्छ ?

नेता, ठेकेदार र प्राविधिकको सञ्जाल त सजिलैसँग बुझ्न सकिने भयो, ‘कर्पाेरेट इन्ट्रेस्ट’ भन्नुभयो, त्यो कहाँनिर उपस्थित छ ? 

खननका नाममा जे जति विध्वंस भइरहेको छ, त्यसका लागि हजारौँको संख्यामा डोजर र टिपर परिचालन भइरहेका छन् । ढुंगा, गिटीको उत्खनन रोकियो भने डोजर र टिपरमा भएको लगानी के हुन्छ ? त्यसमा त बैंकको लागनी छ । हो, विपन्नले केही उद्यम गर्छु भन्दा कर्जा पाउन गाह्रो छ । क्रसर उद्यमीलाई त बैंकले सजिलै लगानी गर्छन् । किनकि, लगानी फाइदामूलक छ । अब ढुंगा, गिटी उत्खनन रोकियो भने त ‘हामी डुब्छौँ’ भन्ने बैंकहरू छन् । पैसा केबाट आएको छ भनेर कुनै कर्पाेरेटले त हेर्दैन, उसले त मुनाफा मात्र हेर्छ । 

भारतकै कुरा गरौँ, त्यहाँको पूर्वाधार निर्माणको गति र स्रोतको अवस्था के हो ? उत्खननमा राज्यको नीति कस्तो छ ? उनीहरू के कारणले नेपालको स्रोतमाथि हस्तक्षेप बढाउन चाहन्छन् ? 

भारतमा प्राकृतिक स्रोतको दोहन झन् डरलाग्दो छ । त्यहाँ झन् भयानक खनन माफिया छन्, उनीहरूको पहुँच झन् बलियो छ । उनीहरूले त्यहाँ सकेजति गरेकै छन्, उनीहरूले आफ्नो जोगाएर यता आएका होइनन् । तर, उनीहरूलाई त्यहाँको स्रोतले पुगेको छैन । खासमा बिहार, उत्तर प्रदेशमा विकासका नयाँ आयामहरू तीव्र गतिमा अघि बढिरहेका छन् । त्यसका लागि पनि गिटी, बालुवा, ढुंगा चाहिन्छ । उनीहरू आफैँले पनि पहाडका पहाड सम्याइसके । थप स्रोत खोज्दै उनीहरू सीमा काटेर नेपालका चुरे र त्यहाँ हुँदै पहाडसम्म उक्लिन खोजेका छन् । यसमा उनीहरूलाई फाइदा पनि छ । भारतको सय रुपैयाँ यहाँ १६० रुपैयाँ हुन्छ । त्यही अनुपातमा पैसा खर्च गर्दा त यहाँका मान्छेलाई पैसाले पुर्न सक्छन् । यहाँकाले पैसा पाउने भए, उताकाले सस्तोमा ढुंगा, गिटी पाउने भए । क्षति त हामीलाई जनतालाई मात्र हुने भयो । चुरेबाट ढुंगा, गिटी, बालुवा बोकेका टिपरले सडक पनि बिगार्ने भए । त्यही मर्मत गर्ने काम पनि आफैँमा अर्काे कमाउ धन्दा पाउने भयो । नेता र प्रशासनिक तथा प्राविधिक मान्छेले त्यहाँबाट पनि पैसा कमाउने भए । यसले सीमित मान्छेलाई फाइदैफाइदा छ । अपराधले अपराध पोस्ने यो जालो झन्–झन् डरलाग्दो भएको छ ।

तर, चुरेको दोहनले नदीको चरित्र नै बदलेको छ भनेर तपाईंले बडो स्पष्टसँग राख्नुभयो, बदलिएको नदीले त नेपाल मात्र होइन, भारतमा पनि क्षति पारेको होला नि ? चुरे संरक्षण त उनीहरूको पनि सरोकारको विषय हुनुपर्ने होइन र ? भारत त चुरेबाट टाढा पनि छैन । 

उत्तर भारतका नेताहरूलाई यो विषयमा चासो नै छैन । जब कि भारतका नदीमा पानी जाने भनेकै नेपालबाट हो । ती नदी हिमालबाट सुरु भएका हुन् वा महाभारतबाट, बग्ने त चुरे भएरै हुन् । राष्ट्रपतिको रूपमा भारत भ्रमण गर्दा डा. रामवरण यादवले प्रधानमन्त्री डा. मनमोहन सिंह, उत्तर प्रदेशका ठूला नेता मुलायम सिंह यादव, बिहारका ठूला नेता लालुप्रसाद यादवलाई राखेर भन्नुभएको थियो, ‘चुरे खत्तम भयो भने भारतको सघन आवादी भएको क्षेत्रको जनजीवन फेरबदल हुन्छ ।’ मैले छेउबाटै यो कुरा सुनेको थिएँ । तर, उनीहरूले यो विषयलाई वास्तै गरेनन् । दिल्लीले यसको गम्भीरता त बुझ्दैबुझ्दैन, प्रभावित हुने राज्यले पनि यसबाट तात्कालिक राजनीतिक, आर्थिक लाभ लिन चाहन्छन् । पटना र लखनउसम्म चुरे दोहनबारे अनभिज्ञ छन् । चुरेको संकटले सम्पूर्ण गंगाको मैदानी भागलाई असर पारेको छ । यद्यपि, अहिले पनि चोरी–निकासी भइरहेको छ, तर ०७१ मा सरकारले रोक लगाएपछि स्वाभाविक रूपमा निकासीमा कमी आएको छ । केही क्रसर उद्योग बन्द भए । केही उद्योगलाई चुरेबाट समथर भूभागमा झारिएको छ । अहिले पनि चोरी–तस्करीबाट भारत निकासी भइरहेको छ ।

तर, सरकार भनिरहेको छ कि अहिले बजेटबाट ल्याएको नीति चुरेसँग सम्बन्धित छैन, यो त महाभारत पहाडको विषय हो । चुरे संरक्षण गरौँला, महाभारतका पहाड त खन्न देऊ भन्ने सरकारी नीतिमा हामीले कस्तो प्रतिक्रिया दिने ? 

आज सुनकोसीमा दोहन हुँदा त्यसको असर त तल सिराहा, सप्तरी र सुनसरीका बासिन्दालाई पर्छ । यो त सामान्य विषय होइन र ? तराई होस् वा पहाड, हाम्रो जीवनरेखा जोडिएको छ । चुरे खन्न आएका डोजर अब महाभारत खन्न उकालो लागिसके । सरकारले चुरे होइन, चुरे होइन भनेको छ नि । महाभारत पहाडचाहिँ खन्न पाइने ? महाभारतमा प्रहार गरेमा त्यहाँको पानी, वातावरण, जंगल र जीवन सखाप हुन्छ । त्यसको असर चुरे हुँदै तराईमा पर्छ । तर, दुर्भाग्य ! जसले पहाड चिनेको छैन, उसले ढुंगा, गिटीको नीति बनाइरहेका छन् ।