१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालले विष्टलाई  दिए निर्देशन–  दुई–तीन दिनभित्रै ओलीसँग  फाइनल गर्नुस्, अन्यथा क्रान्तिकारी  पार्टी बनाउनुको विकल्प छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:५१:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठनको सम्भावना रहेको संकेत गरेका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको बताएका हुन् । 

नेता नेपालले एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण विष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन पनि दिएका छन् । भर्चुअल बैठकमा विष्टले आफू अझै एकता बचाएर लैजान सकिन्छ कि भन्ने अन्तिम कोसिसमा रहेको बताएपछि नेपालले ओलीसँग वार्ता गर्न निर्देशन दिएको बैठकमा सहभागी एक विद्यार्थी नेताले जानकारी दिए ।

‘म यो पार्टीको संस्थापकमध्येकै एक हुँ, पार्टी हामीले स्थापना गरेको हो, पार्टीप्रति मलाईजत्तिको माया अरू कसलाई होला १ त्यसैले अझै एकता बचाउनुपर्ने पक्षमै छु, तर मसहित वार्ता टोलीका संयोजक भीम रावललाई नै कारबाही गरेर निकालेपछि ओलीले पार्टी एकता बचाउने स्थिति अब देखिएन,’ नेपालको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘त्यसैले गोकर्णजी कुरा गर्ने नै हो भने अब दुई–तीन दिनभित्र ओलीसँग फाइनल गर्नुस्, नत्र नयाँ क्रान्तिकारी पार्टी गठन गरेर सबै कम्युनिस्ट पार्टीहरूलाई पनि गोलबद्ध गर्दै अगाडि जानुको विकल्प छैन ।’

ओलीले सहमति लत्याएकाले एकता कठिन भएको भन्दै नेपालले विद्रोहबाट बन्ने पार्टीको नेतृत्व लिन दोस्रो पुस्ता तयार भए आफू नेतृत्व हस्तान्तरणका निम्ति तयार रहेकोसमेत जानकारी दिएका छन् । ‘हामीसँग निष्ठापूर्वक लामो समय काम गरेको ऊर्जाशील अनुशासित पंक्ति छ, युवाहरूको पंक्तिले न्याय–अन्याय छुट्याउन सक्नुपर्छ, पार्टी पुनर्गठनमा दोस्रो पुस्ताले समझदारी जुटाएर नेतृत्व गर्छ भने त्यस निम्ति म तयार छु, होइन भने तपाईंहरू सबैले एकपटकलाई साथ दिनुहोस्, म देशभर पुनर्गठन गरेर एमाले पंक्तिलाई पुरानै संगठनात्मक अवस्थामा फर्काउन लाग्नेछु,’ नेपालको भनाइ थियो ।

२ जेठ ०७५ अघिको अवस्थामा एमालेलाई फर्काउने र २३ फागुनपछिका निर्णय खारेज नभए एकता सम्भव नहुने नेपालको भनाइ छ । तर, ओलीले यसलाई अस्वीकार गर्दै आएका छन् । नेपाल अहिले विपक्षी गठबन्धनमा सहभागी भएका छन् । एमालेका दुवै पक्ष अहिले आरोप–प्रत्यारोपमा छन् । 

बैठकमा सहभागी ती नेताका अनुसार विष्टको भनाइ थियो, ‘म अझै एमाले एकता बचाएर जानुपर्छ भन्नेमा छु, त्यसका लागि कोसिस गरिरहेको छु । केपी ओलीबाट धेरै आशा गर्ने ठाउँ त छैन, तर पाँचौँ महाधिवेशनमा मदन भण्डारीले फरक मतलाई पनि सम्बोधन गरेर पार्टी एकता बचाएर नेतृत्व दिएकाले अहिले पनि किन कोसिस नगर्ने भन्ने हो ।’