१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o३:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अहिले त कुन न्यायाधीश कता हो भनेर छुट्टिने स्थिति छ, यो न्यायालयको लागि दुःखद हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o३:५४:oo

प्रकाश वस्ती, सर्वोच्चका पूर्वन्यायाधीश

संवैधानिक इजलासको बहसका क्रममा दुई न्यायाधीशको नाम नै तोकेर ‘इजलासमा नराखियोस्’ भन्ने जबर्जस्त माग उठेको छ । यस्तो माग राख्न पाइन्छ कि पाइँदैन ? 

व्यक्तिभन्दा अदालतप्रतिको आस्थाको कुरा निकै महत्वपूर्ण हुन्छ । व्यक्तिले पनि आफ्नो मर्यादा कसरी कायम राख्ने भन्ने आफैँले सोच्नुपर्ने हो । अहिले त कुन न्यायाधीश कतातिरको हो भन्ने स्पष्ट छुट्टिने स्थिति छ । यस्तो छवि बन्यो कि बनाइयो थाहा भएन । पहिला–पहिला प्रधानन्यायाधीशले विवाद नआउने गरी बेन्च तोक्ने चलन थियो । सबैभन्दा पहिले त यस्तो प्रश्न गर्ने परिस्थिति किन जन्मियो भन्ने महत्वपूर्ण हो । 

इजलास गठन त प्रधानन्यायाधीशको तजबिजी अधिकार होइन र ? 

तजबिज हो । तर, बेन्च तोक्दा केही न केही आधारमा तोकिन्छ । तजबिजी अधिकार भनेको जे पनि तोक्न पाइने, जे पनि गर्न पाइने भन्ने होइन । यसको पनि सीमा र मर्यादा हुन्छ । प्रश्न गर्ने ठाउँ नराखी, प्रश्न नउठ्ने गरी तोक्ने हो । न्यायिक मन प्रयोग गरेर इजलास तोक्नुपर्छ, तजबिजको सदुपयोग गर्ने हो । जस्तो– कसैलाई खुकुरी चलाउने तजबिज दिए मान्छेमाथि आक्रमण गर्दै हिँड्छ भने कसैले त्यही खुकुरी आत्मरक्षाका लागि प्रयोग गर्छ । बेन्च तोकेर गल्ती भयो वा प्रश्न उठाएर गल्ती भयो म भन्दिनँ, तर यस्तो परिस्थितिको जन्म हुनु न्यायपालिकाका लागि मात्रै होइन, समग्र राष्ट्रकै लागि दुर्भाग्य हो । 

कुनै न्यायाधीशमाथि प्रश्न उठिसकेपछि उहाँको दायित्व के रहन्छ ?

न्यायाधीशले न्याय गरेर मात्र हुन्न, न्याय गरेकोजस्तो देखिनु पनि पर्छ । राम्रो न्याय गर्छु भन्दाभन्दै मप्रति विश्वासको संकट उत्पन्न भयो भन्ने लाग्यो भने उहाँहरूले न्यायपालिकाको सम्मान गर्नुपर्छ । कुनै पनि न्यायाधीशलाई त्यो हैसियत र नाम न्यायपालिकाले दिएको हो । उहाँहरूले त्यसको इज्जत राख्ने काम गर्नुपर्छ । आफैँलाई नाम दिने संस्थाको प्रतिष्ठामा आँच आउने काम गर्नुहुँदैन । प्रश्न उठिसकेपछि न्यायाधीशले कुनै पक्षका लागि होइन कि न्यायपालिकाको प्रतिष्ठामाथि आँच नआउने किसिमले निर्णय गर्नु कर्तव्य हुन जान्छ । जस्तो अघिल्लोपटक हरिकृष्ण कार्कीले म बस्दिनँ भन्नुभयो, उहाँको इज्जत घट्यो कि बढ्यो ?

अघिल्लोपटकको विघटनको मुद्दामा पनि यस्तै प्रश्न उठ्यो र न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने निर्णय गर्नुभयो । पटक–पटक प्रश्न उठ्ने स्थिति किन सिर्जना भयो होला ?

यसमा दुईवटा कुरा छन् । पहिलो, न्यायाधीशको नियुक्ति प्रकरण । यो भनेको न्यायाधीशको चयन कसरी हुन्छ भन्ने हो । दोस्रो, न्यायाधीशहरूले गरेका पहिलेका फैसलाले यो मुद्दामा के फैसला हुन्छ भन्ने अनुमान । अहिले सञ्चारमाध्यमले गर्दा नागरिकबीच संवाद बढी हुन्छ । उनीहरू प्रश्न उठाउँछन् । तर, यसरी प्रश्न उठेको राम्रो होइन । यो अविश्वासको स्थायी निवारण प्रणालीभित्रैबाट गर्ने हो । मलाई लाग्छ– यो प्रणालीको कमजोरी केलाउने राम्रो अवसर पनि हो । 

न्यायपालिकामाथिको यस्तो अविश्वास अन्त्य गर्न के गर्नुपर्छ ?

एउटा आयोग बनाएर बृहत् अध्ययन गर्नुपर्छ । प्रतिवेदन दिने सानो समिति वा कार्यदल होइन, शक्तिशाली आयोग गठन गर्नुपर्छ । त्यसले औँल्याएका त्रुटि सच्याउन राजनीतिक दल र सम्बद्ध सबै पक्ष तयार हुनुपर्छ । संविधान नै संशोधन गर्ने उपाय दिए पनि आयोगको सुझाब कार्यान्वयन गर्नैपर्छ । 

ad
ad