
नेपाल राष्ट्र बैंकले केही समयअघि गरेको नेपालमा सिमेन्ट उद्योगको अवस्थासम्बन्धी अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । सिमेन्ट उद्योगमा वैदेशिक लगानी भित्र्याउन थप प्रोत्साहित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । साथै, वैदेशिक लगानीका उद्योगले प्रत्यक्ष विदेशी लगानीको तुलनामा नेपाली वाणिज्य बैंकबाटै बढी ऋण लिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाब पनि प्रतिवेदनले दिएको छ ।
नेपालको निजी क्षेत्रले भने सिमेन्ट उद्योगमा भइरहेको प्रतिस्पर्धामा थप विदेशी लगानी प्रोत्साहित गर्दा आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने भन्दै वैदेशिक लगानी आकर्षित गर्न नहुने तर्क अघि सारेको छ । यसले नेपालमा सिमेन्ट उद्योगको सम्भावना र त्यसबारे बनाइने दृष्टिकोणमाथि थप बहसको माग गरेको छ ।
सिमेन्ट उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी थपिँदै जानुका केही आधार छन् । नेपालमा सिमेन्टका लागि अत्यावश्यक कच्चापदार्थ प्रचुर मात्रामा उपलब्ध छ । उद्योग स्थापनाका लागि विद्युत्बाहेकका अन्य पूर्वाधार बनाउने काम अरू देशको तुलनामा सस्तो छ । ज्यालादर पनि सस्तो छ । अहिलेसम्म नेपालमा महँगो परेको विद्युत् आपूर्ति नै हो । यसै वर्षदेखि विद्युत्को माग पूरा गर्न सक्ने गरी उत्पादन बढिरहेको छ ।
नेपाल आफैँ पूर्वाधारका क्षेत्रमा पर्याप्त सम्भावना भएको र धमाधम नयाँ–नयाँ परियोजना बनिरहेको देश हो । सहरीकरण र मध्यमवर्गको बढ्दो जनसंख्याले बनाउने घरदेखि सडक, जलविद्युत्, सिँचाइजस्ता क्षेत्रमा सरकारी र निजी लगानी बढिरहेको छ । सिमेन्टको आन्तरिक खपत थप केही वर्षसम्म बढ्दै जाने देखिन्छ । नेपालले भारत, बंगलादेश र चीनजस्ता तीव्र रूपमा आर्थिक विकास गरिरहेका निकट छिमेकीको बजार लक्षित गरेर निर्यात गर्ने गरी सिमेन्ट उद्योगमा लगानी बढाउने हो भने यो नेपालको महत्वपूर्ण निर्यातको वस्तु बन्ने निश्चित छ ।
नेपालले भारत, बंगलादेश र चीनजस्ता तीव्र रूपमा आर्थिक विकास गरिरहेका निकट छिमेकीको बजारलक्षित गरेर निर्यात गर्ने गरी सिमेन्ट उद्योगमा लगानी बढाउने हो भने यो महत्वपूर्ण निर्यातको वस्तु बन्ने निश्चित छ
नेपालले तुलनात्मक लाभका क्षेत्र गुमाउँदै गएको छ । म्यानुफ्याक्चरिङका परम्परागत क्षेत्रमा पनि नेपाल पछि पर्दै गएको छ । कपडा, जुट, कार्पेटजस्ता क्षेत्रमा पछि पर्दै गएको नेपालले नयाँ सम्भावनाका क्षेत्र खोज्नैपर्छ । त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र सिमेन्ट उद्योग हुन सक्छ ।
अहिले वैदेशिक लगानीका नाममा कम पुँजी भित्रिएको भए पनि प्रविधि र व्यवस्थापकीय ज्ञान हस्तान्तरण भने भइरहेको छ । तर, प्रत्यक्ष वैदेशिक लगानीका सन्दर्भमा पुँजी पनि भित्रिने एउटा निश्चित सीमा भने तय गर्नुपर्ने हुन्छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तुका रूपमा नेपालले सिमेन्ट निर्यात गर्न थाल्यो भने त्यसले नेपालको निर्यात व्यापारमा एकोहोरो बढिरहेको घाटालाई उल्टो धारमा लैजान या कमसेकम अब घाटा बढ्न नदिन सहयोग पुग्छ ।
नेपालले अहिले निर्यात गर्न सक्ने सम्भावनाको अर्को क्षेत्र भनेको जलविद्युत् नै हो । तर, जलविद्युत् निर्यात गरेर भन्दा त्यसको आन्तरिक खपत बढाउने र औद्योगिक उत्पादनको लागत घटाउनेतिर लाग्ने हो भने स्वदेशी उद्योगको लागत घट्न गई प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सकिन्छ । बजेट आउन लागेको समयमा अर्थ मन्त्रालयले निर्यात सम्भावना भएका उद्योगलाई सहजीकरण हुने गरी नीतिगत व्यवस्था गर्नेतिर ध्यान दिनु उपयुक्त हुन्छ ।