१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
खिमा ओली
२०७८ जेठ ९ आइतबार ०६:३९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीमा रातो मच्छिन्द्रनाथको जात्रा

Read Time : > 3 मिनेट
खिमा ओली
२०७८ जेठ ९ आइतबार ०६:३९:००

महामारीबीच जात्रा चलाउनु जोखिमपूर्ण भए पनि १५ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा चलाउनैपर्ने बाध्यता थियो

रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकामा सबैभन्दा लामो समय चल्ने पर्व हो । मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता मानिन्छन् । उपत्यकामा १२ वर्षदेखि खडेरी लागेपछि भारतबाट मच्छिन्द्रनाथ ल्याइएको र उपत्यकामा पानी परेको जनविश्वास छ । मच्छिन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायणको ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा राख्ने चलन छ । मच्छिन्द्रनाथलाई भारतस्थित असमको कामरूपकामाक्ष पर्वतबाट नेपाल ल्याउन भूमिका खेलेका भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि जात्राको परम्परा चल्दै आएको छ । 

रातो मच्छिन्द्रनाथ जात्राको तयारी ६ महिनाअघिदेखि सुरु हुन्छ । माघको दोस्रो साता सरुवा भएर म पाटन गएपछि मेरो पहिलो काम काठ ल्याउन वन, भूमिसुधारलगायत सम्बन्धित मन्त्रालयबाट प्रक्रिया अघि बढाउने भयो । रथ निर्माणका लागि फुल्चोकी लुभुको जंगलबाट सादन, बाझ, लाकुरी, मयलका रूख छानेर ल्याउनुपर्ने हुन्छ । रथ बनाउन यी काठ परम्परागत रूपमा प्रयोग हुँदै आएका छन् । कटानी, ढुवानी, चिरानी गरी काठ ल्याउने काम भयो । रथका पांग्रा दुरुस्त भएकाले नयाँ बनाउनु परेन ।

रथलाई बलियो गरी बाँध्न बेत (महाबेत, चिरुवा बेत) आवश्यक पर्छ । यो बेत भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया पहिले नै सुरु भइसकेको थियो । रथ तान्न, बाँध्न मोटो डोरीलगायत अन्य सामग्री खरिद भइसकेका थिए । यहीबीच, कोरोना महामारी बढ्न थाल्यो । चैत तेस्रो साताबाट भक्तपुरमा बिस्केट जात्राको तयारी सुरु भयो । त्यहाँ जात्रा गर्ने–नगर्नेमा विवाद भयो । जात्रा गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन भए । अदालतबाट बिस्केट जात्रा गर्न आदेश भयो, जात्रा भव्य रूपमा सम्पन्न भयो । रातो मच्छिन्द्रनाथको जात्रा पनि गर्ने कि नगर्ने भनेर चैत २५ गते जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूको बैठक बस्यो । बैठकले मच्छिन्द्रनाथको जात्रा गर्ने निर्णय गर्‍यो । हामी जात्राको तयारीमा लाग्यौँ । महामारी झन् बढ्दै गयो । सरोकारवाला पक्षसँग निरन्तर छलफल भइरहेको थियो । वैशाख १५ गते रातो मच्छिन्द्रनाथको महास्नान थियो, यो ठूलो पर्व हो । महास्नान गरेपछि रथारोहण गर्ने, रथारोहण गरेपछि रथ तान्नैपर्ने परम्परागत मान्यता छ । महास्नानअघि जिल्ला प्रशासन कार्यालय ललितपुरमा सबै सरोकारवालाको बैठक बसेर सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी महास्नान सम्पन्न गर्ने निर्णय भयो । 

वैशाख २९ गते रथारोहण गर्ने तिथि जुरेको थियो । कोरोना महामारी बढिरहेको अवस्थामा २६ गते ज्यापु समाजको भवनमा रथारोहण र रथ तान्ने कार्य गर्ने–नगर्नेबारे फेरि बैठक भयो । समाजले जात्रा कसरी व्यवस्थित गर्नेबारे कार्ययोजना प्रस्तुत गरेको थियो । त्यो बैठकले तोकिएकै मितिमा रथारोहण र सबै स्वास्थ्य मापदण्ड अपनाएर तिथिमै रथ तान्ने निर्णय ग¥यो । यसैबीच, सरकारले अन्य जिल्लामा जात्रा, पर्व नगर्न आदेश गरिसकेको थियो । यद्यपि, रातो मच्छिन्द्रनाथ विशेष जात्रा भएकाले प्रशासन रोक्ने पक्षमा थिएन । महामारीबीच जात्राबारे वैशाख ३१ गते जनप्रतिनिधिसहितको अर्को बैठक भयो । कोरोना संक्रमण र मृत्युदर बढेको अवस्थामा जात्रा पूरै अवधि तान्न ठूलो जोखिम हुने देखियो । रथ बनाइसकेपछि धेरै लामो समय राख्न पनि नसकिने निष्कर्ष निष्कियो । करिब १५ सय वर्ष पुरानो जात्रा सम्पन्न गर्न वैज्ञानिक विकल्प निकाल्नैपर्ने अवस्था थियो । रथ निर्माण भएको ठाउँ पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म सांकेतिक रूपमा तान्ने र त्यहीँ स्थगित गरी सदियौँदेखि चलिआएको रथयात्रा सम्पन्न गर्ने सबै पक्षको सामूहिक निर्णय भयो 

जिल्ला प्रशासन कार्यालयले रथ भएको स्थान पुल्चोकवरिपरि पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निषेधाज्ञा जारी ग¥यो । यसो गर्नुको मुख्य कारण गत वर्षजस्तो रथ तान्ने क्रममा झडप नहोस् र जात्रा सहजसाथ सम्पन्न होस् भन्ने थियो । कुनै अप्रिय घटना नहोस् भन्नेमा सरोकारवाला सबै पक्षबाट निकै सचेततापूर्वक काम भइरहेको थियो । श्री रातो मच्छिन्द्र्रनाथको देउता बुङमती सवारी चलाउने दिन जेठ ३ गतेलाई तय थियो । तर, पुजारीहरूको नुची पूजा गर्नुपर्ने भएकाले ज्योतिषले निकालेको साइतअनुसार जेठ ५ मा देउतालाई खटमा राखेर बुङमती लाने साइत जुराइयो । 

देउताको बुङमतीतर्फ सवारी चलाउन सबै तयारी पूरा भइसकेको थियो । सुरक्षा निकाय र अन्य सरोकारवालाबीच समन्वय राम्रो थियो । अनौठो के भइदियो भने देउता लाने तयारी भइरहेका वेला जेठ ५ गते बिहान भूकम्प गयो । भूकम्प गएपछि जात्रासम्बन्धी कार्य अघि बढाउन नहुने परम्परागत मान्यता छ । अब के गर्ने ? फेरि सबै सरोकारवालामाझ जेठ ५ गते बिहान व्यापक छलफल भयो । मच्छिन्द्रनाथका पुजारीले ज्योतिषको अनुमतिमा क्षमा (किसली) पूजा गरेर देउतालाई बुङमती लानुपर्ने टुंगो लाग्यो । ०७२ सालको भूकम्प जाँदा पनि क्षमापूजा गरिएको थियो । गुठी संस्थानले तत्काल क्षमापूजा गर्न आवश्यक सामान जोहो गर्‍यो । पालोवाला पुजारी बोलाई क्षमापुजा गरियो । सामान्य अवस्था भएको भए यतिवेला ललितपुर जात्रामय भइरहेको हुने थियो । धार्मिक तथा सांस्कृतिक बाजागाजाले पाटनवरिपरिको टोल गुञ्जायमान हुन्थ्यो । अहिलेलाई जनजीवन सामान्य भएपछि अर्को वर्ष रातो मच्छिन्द्रनाथको जात्रा भव्य रूपमा सम्पन्न हुने विश्वास गरौँ । 

महामारीबीच जात्रा चलाउनु जोखिमपूर्ण भए पनि १५ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको जात्रा चलाउनैपर्ने बाध्यता थियो । गुठी संस्थानको लगानी र सरोकारवालाहरूको मिहिनेतले निर्माण गरेको रथ टोलटोल घुमाउन नपाउँदा मन खिन्न हुनु स्वाभाविकै हो । महामारीमा जसरी पनि रथ तानेर घुमाउनुपर्छ भन्ने आवाज पनि नउठेको होइन । तर, कोरोना महामारी उच्चतम बिन्दुमा पुगेका वेला विवेकपूर्ण तरिकाले मच्छिन्द्रनाथको जात्रा सम्पन्न गरियो । लकडाउनमा फिल्डमा गएर काम गर्नु कम्ती चुनौती थिएन, तर पनि सदियौँदेखि चलिआएको संस्कृति, परम्परा जोगाउनु, संवद्र्धन गर्नुपर्ने कर्तव्य पनि थियो । मुलुक लकडाउनमा भएको बखत यो जात्रा सहजतापूर्वक सम्पन्न गर्न ललितपुरका प्रजिअ ढुण्डिप्रसाद निरौला, मेयर चिरिबाबु श्रेष्ठ, ललितपुर प्रहरी प्रमुख किरण बज्र्राचार्य, ज्यापु समाज अध्यक्ष चन्द्र महर्जन, सशस्त्र प्रहरी, पुजारी, रकमी भक्तजन, सबैको ठूलो योगदान छ । परम्परा र संस्कृति र सभ्यताको कडी टुट्न नदिन सबैबाट यो जटिल घडीमा भएको योगदान सराहनीय छ । 

(ओली गुठी संस्थान ललितपुर कार्यालयकी प्रमुख हुन्)