मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ जेठ ५ बुधबार १२:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पश्चिम नवलपरासीमा गोली चल्यो, सशस्त्र प्रहरीसहित दुई घाइते

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ जेठ ५ बुधबार १२:०८:००

पश्चिम नवलपरासीमा गोली चल्दा सशस्त्र प्रहरीसहित दुईजना घाइते भएका छन् । बुधबार पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीको गोली लागेर २३ वर्षीय अविनाश राजभर घाइते भएका हुन् । 

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका– ५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा पाँच–सातजनाको समूहमा जान आएका व्यक्तिलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए । 

५०–६० जनाको समूहमा आएका स्थानीयले सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए । 

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरिएको थियो । तर, भिड झनै उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको हो,’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । गोली लागेर घाइते हुने राजभर  प्रतापपुर गाउँपालिका– ६ का हुन् । 

उनको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । भिडकाे आक्रमणका कारण नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर  चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।