मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ जेठ ३ सोमबार १७:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमितको घरघरमै पुगेर स्वास्थ्य स्थिति बुझ्छन् वडाध्यक्ष 

Read Time : > 1 मिनेट
२०७८ जेठ ३ सोमबार १७:३०:००

नमस्कार ! कस्तो छ तपाईंको स्वास्थ्य स्थिति ? तपाईंको स्वास्थ्यमा केही जटिल समस्या त आएको छैन ? बाग्लुङ नगरपालिका– १३ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेल कोरोना संक्रमितको घरघरमै दैनिक यसो भन्दै पुग्ने गरेका छन् । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न पौडेल स्थानीय स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई साथमा लिएर हरेक दिन घरघरमै पुग्ने गरेका छन् । 

आफ्ना नागरिकको स्वास्थ्य अवस्था बुझ्नु र समुदायमा कोरोना संक्रमण फैलिन नदिनु एक जनप्रतिनिधिको उत्तरदायित्व सम्झेर पौडेल दैनिक संक्रमितको घरघरमै पुग्ने गरेका हुन् । उनले स्वास्थ्यकर्मीको स्थानीय अगुवालाई साथमा लिएर हातमा स्यानिटाइजर र मास्क बोकेर स्थानीयलाई प्रदान गर्नुका साथै कोरोनाबाट बच्ने उपायबारे सचेनतासमेत फैलाउँदै आएका छन् । 
    
‘होम आइसोलेसनमा बसेका आफ्ना नागरिकको स्वास्थ्य अवस्था बुझने हाम्रो दायित्व हो,’ वडाध्यक्ष पौडेलले भने, ‘यो वेला जटिल अवस्था हो, जसलाई जुनसुकै पनि अप्ठ्यारो पर्न सक्छ । संक्रमण भएकाहरूलाई मनोपरामर्शको पनि आवश्यक छ । उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक औषधि प्रदान गर्न हामी घरघरमै पुग्ने गरेका छौँ ।’ आफू पुग्न नसकेको ठाउँमा फोनमार्फत भए पनि उनीहरूलाई कोरोनाविरुद्ध लड्न उत्साह प्रदान गरिएको पौडेल बताउँछन् । 

कोरोना संक्रमितका घरघरमै गएर वडाध्यक्षले स्वास्थ्य अवस्था सोधपुछ गर्दा स्थानीय जनताले आत्मीय महसुस गरेका छन् । स्वास्थ्यकर्मी नै लिएर वडाध्यक्ष आफैँ स्वास्थ्य अवस्था बुझ्न आउँदा मनोबल नै उच्च हुने र कोरोना सजिलै जितिन्छ जस्तो लाग्ने स्थानीय एक संक्रमित महिला बताउँछिन् । वडा कार्यालयले स्वास्थ्यकर्मीबाहेक वडाका अन्य कर्मचारी, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका अगुवालाई पनि कोभिड नियन्त्रणको अभियानमा खटाएको छ । 

वडाध्यक्ष पौडेलका अनुसार पैयुँपाटामा मात्रै कोरोनाका लक्षण देखिएका हालसम्म एक सय ८७ जनाको स्वाब संकलन गरिएको छ । जसमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये एकजनालाई केही जटिल भएपछि धौलागिरि अस्पतालमा पठाइएको छ भने अन्य सबै होम आइसोलेसनमा छन् । संक्रमितमध्ये गत २१ वैशाखमा संक्रमण पुष्टि भएका २३ जना संक्रमणमुक्त हुने समय पुगेको छ । बाँकी अन्यको अवस्था सामान्य रहेको पैयुँपाटा स्वास्थ्यचौकीका प्रमुख दुर्गाप्रसाद शर्माले जानकारी दिए । वडा कार्यालयले हरेक दिन कोरोनाका बिरामीको स्वास्थ्य अवस्था बुझ्नुका साथै स्वास्थ्यकर्मीको सल्लाहअनुसार निःशुल्क औषधि वितरण गर्नुका साथै आवश्यक सल्लाह–सुझाबसमेत दिँदै आएको छ । 

‘वडाध्यक्षको नेतृत्वमा हामी स्वास्थ्यकर्मी पनि सँगै जान्छौँ,’ स्वास्थ्यचौकी प्रमुख शर्माले भने, ‘संक्रमितको स्वास्थ्य अवस्था बुझ्छौँ, उहाँहरूलाई मनोपरामर्शका साथै स्वास्थ्य अवस्था हेरी औषधि प्रदान गर्छौँ । यसका साथै संक्रमितका लागि आवश्यक सल्लाह–सुझाब प्रदान गरेका छौँ ।’ 

कोरोना नियन्त्रणका निम्ति यस वडामा प्रवेश गर्ने हरेक नाकामा जनप्रतिनिधि र स्वयंसेवक परिचालन सवारीसाधन सञ्चालन गर्न र सर्वसाधारणलाई आवतजावतमै रोक लगाइएको छ । 

कोरोनाको दोस्रो लहर जिल्लामा तीव्र गतिमा फैलिँदै गएको छ । गाउँगाउँ र टोलटोलमा संक्रमण तीव्र गतिमा फैलिएको छ ।